कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

मसलाबालीबाट १९ करोडको कारोबार

अर्घाखाँची — मसलाबालीको खेती जिल्लाभर बर्सेनि फस्टाउँदै गएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार यस वर्ष १९ करोड रुपैयाँको उत्पादन भएको छ ।

मसलाबालीबाट १९ करोडको कारोबार


व्यावसायिक रूपमा अदुवा, बेसार, लसुन, प्याज र खुर्सानी खेती हुन थालेको हो । उत्पादित अदुवा जिल्ला बाहिरसमेत बिक्री हुन थालेको छ । ‘यो वर्ष चार सय हेक्टर क्षेत्रफलमा ३ हजार ९ सय ६८ टन अदुवा उत्पादन भएको छ,’ कृषि प्रसार अधिकृत थिरलाल गैरेले भने, ‘जसबाट १२ करोड रुपैयाँको कारोबार भयो ।’ उनले १ सय ४३ हेक्टर क्षेत्रफलमा ११ सय ४४ टन बेसार उत्पादनबाट २ करोड रुपैयाँको कारोबार भएको छ । त्यसैगरी प्याज, लसुन र खुर्सानी १ हजार १५ टनबाट ५ करोड रुपैयाँ बराबरको उत्पादन भएको उनले बताए । उत्पादनको सिजनमा व्यापारीले कृषकको घरमै पुगेर खरिद गर्छन् । बाह्रै महिना माग यथावत् रहने भएकाले मसला तराईबाट पनि यहाँका बजारमा आइपुग्छ । बेसारको बिक्री भने उत्साहजनक रूपमा छैन । अदुवा प्रतिकिलो ४० र बेसार २० रुपैयाँमा व्यापारीले कृषकसँग खरिद गर्दै छन् ।
मसलाबालीलाई किसानले घरखर्चका लागि लगाउँदै आएकामा हिजोआज अदुवा र बेसारको उत्पादन व्यावसायिक भएको छ । बर्सेनि २० प्रतिशतले उत्पादन बढ्दै गएको कार्यालयले जनाएको छ । कतिपय क्षेत्रमा अदुवामा गानो कुहिने रोग देखापरेकामा किसान चिन्तित छन् ।
जिल्लामा उत्पादित अदुवा पाल्पा, बुटवल र कपिलवस्तुमा पठाइन्छ । जिल्लाको दक्षिणी क्षेत्र ठाडा, सिद्धारा, सिमलपानी, जलुके र जुकेना क्षेत्रमा उत्पादन धेरै छ । पोखराथोक, खिदिम र ठुलापोखरालगायतका गाउँमा पनि व्यावसायिक खेतीको बिस्तार हुँदै छ । ठूलापोखराका कृषकले बेसार उद्योग पनि खोलेका छन् ।

प्रकाशित : जेष्ठ २, २०७४ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?