कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बैंक पहुँच र कच्चा पदार्थमा सहुलियत

राजु चौधरी

सन् २००८ को आर्थिक मन्दीबाट जर्मनीजस्ता मुलुकहरूलाई ठूलो समस्या परेन । युरोप र अमेरिकामा एकपछि अर्को गर्दै वित्तीय संस्था र अन्य कम्पनी ढलिरहँदा पनि जर्मनीलाई ठूलो धक्का लागेन । कारण थियो साना तथा घरेलु उद्योग । ती उद्योगको ब्याकवार्ड लिंकेज र बजारको सुनिश्चितता ।

मन्दीपछि नै अमेरिका पनि ‘स्टार्ट अप’ भन्दै साना व्यवसाय विस्तारमा जोड दिइरहेको छ । यसले गरिबी निवारणमा समेत सहयोग पुग्ने भएकाले हाम्रोजस्तो मुलुकमा थप आवश्यक छ । लघु घरेलु तथा साना उद्योगको विकास वृद्धि गर्न आधुनिक प्रविधिसँगै कच्चा पदार्थमा सहुलियत आवश्यक छ । ‘लघु तथा घरेलु उद्योगमा पुस्ता हस्तान्तरण हुने गरी प्रविधि प्रतिस्थापन गर्नुपर्छ । परम्परागत प्रविधिमा पर्याप्त उत्पादन गर्न सकिँदैन । उत्पादन नहुँदा कमाइ हुँदैन, जसले गर्दा बुबा–आमाले गरेका उद्योगधन्दा छोरा–छोरीले गरेका छैनन्,’ घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम गिरीले भने, ‘आकर्षण नहुँदा निरन्तरता पाएको छैन । मुख्य कारक प्रविधि नै हो ।’
लघु तथा घरेलु उद्योगमा हुने नयाँ प्रविधि प्रयोग उत्पादकत्व बढ्ने उनको भनाइ छ । हाल लघु तथा घरेलु उद्योगहरू छरपस्ट छन् । ‘छरपस्ट हुँदा बाँच्ने अनुपात निकै कम हुन्छ । संस्थागत गर्न स्थानीय निकाय तहमै ग्राम ल्याउनुपर्छ,’ गिरीले भने, ‘बैंक पहुँचमा पनि सजिलो हुन्छ ।’ ग्राम हुँदा पूर्वाधार बनाउन पनि सजिलो पूर्वाधार बनाउन पनि सजिलो हुनेछ । उत्पादन मार्केटिङको पनि समस्या भएको अवस्थामा ग्रामको अवधारण आवश्यक छ,’ घरेलु तथा साना उद्योग विकास समितिका पूर्व कार्यकारी धनराज पन्तले भने, ‘ग्राम हुँदा उत्पादनको स्वत: बजारीकरण हुन्छ, जसले गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बजार प्रवद्र्धनमा सहयोग पुग्नेछ ।’ लघु तथा घरेलु उद्योग प्रवद्र्धनमा सीप विकास पँुजी वृद्धि, प्रविधि र बजार पहुँच पहिलो प्राथमिकतामा राख्नुपर्ने उनले बताए । ‘निर्यात बढाउनका गुणस्तरीय उत्पादन अत्यावश्यक छ । खुला बजारका कारण उत्पादनमा प्रतिस्पर्धा अत्यधिक हुन्छ । विदेशबाट आयातित सामानको प्याकेजिङ राम्रो/आकर्षक हुन्छ,’ पन्तले भने, ‘नेपाली उत्पादनमा प्याकेजिङ नहुँदा पनि समस्या हुन्छ । दुई ठूला मुलुकसँग साना उद्योगी प्रतिस्पर्धा गर्न सक्दैन ।’
जानकारहरूका अनुसार विभिन्न स्थानमा बिक्री केन्द्रहरू खोल्नुपर्छ । बिक्री केन्द्र नहुँदा थप समस्या भएको छ । हाल उत्पादन भए पनि बिक्री गर्ने बजार छैन । लघु तथा घरेलु व्यवसायी तुलसी शाहले पनि उत्पादनहरू बजारसम्म पुर्‍याउन नसक्दा समस्या भएको बताइन् । स्वदेशी उत्पादनको बजारीकरण अत्यावश्यक रहेको उनले बताइन् । नेपाली उत्पादन प्रयोग गर्नुपर्ने नीति/नियम सार्वजनिक गर्नुपर्ने उनले बताइन् ।
‘स्वदेशी उत्पादन गुणस्तर भए पनि सर्वसाधारणले विश्वास गर्दैन । आयातित वस्तु प्याकेजिङकै कारण आकर्षक हुन्छ । स्वदेशी वस्तुसरह गुणस्तरीय हुँदैन,’ उनले भनिन्, ‘स्वदेशी वस्तुको प्याकेजिङ राम्रो हुँदैन । जसले गर्दा खरिद गर्ने कमै हुन्छन् ।’ सरकारले सचेतना कार्यक्रम सञ्चालन गरे साना व्यवसायीलाई फाइदा पुग्ने उनीहरूको भनाइ छ ।
पूर्व कार्यकारी निर्देशक पन्तका अनुसार २०२३ देखि २०५५ सालसम्म त्रिपुरेश्वर र न्युरोडमा घरेलु शिल्प कला भण्डारण थियो । ती स्थानबाट घरेलु उत्पादन बिक्री हुन्थ्यो । यस्ता भण्डारण अन्य जिल्लामा पनि स्थापना गरिएको थियो । तर, कम्पनी ऐन लागू भएपछि उक्त भण्डारण खारेज गरिएको उनले बताए । ‘शिल्पकला भण्डारण हुँदा बजारीकरण गर्न धेरै सहज थियो । तर, ऐनअनुसार सरकार स्वयंले व्यापार गर्न नमिल्ने भएर खारेज गरियो,’ उनले भने ।
औद्योगिक वातावरण र पूर्वाधार विकास गर्न हरेक स्थानीय निकायमा औद्योगिक ग्राम अनिर्वाय हुनुपर्ने उनले बताए । हस्तकला, जडीबुटी, गलैंचा, पस्मिना, प्राकृतिक रेसाबाट बनेको सामानको विदेशमा माग उच्च छ । वाणिज्य मन्त्रालयले नेपाल व्यापार एकीकृत रणनीति (एनटीआईएस) २०१६ मा उक्त वस्तुलाई पनि छनोट गरेको छ । सबै क्षेत्रमा लगानी गर्न नसक्ने हुँदा यस्ता लाभका वस्तु पहिचान गरिन्छ । दातृ निकायको सहयोगमा तुलनात्मक लाभका वस्तु पहिचान भए पनि लाभ लिन सकिएको छैन । ‘प्रतिस्पर्धाका लागि मेसिन औजार, सहायक कच्चा पदार्थलगायतमा अनुदानमा दिनुपर्छ,’ पन्तले भने, ‘किसानलाई अनुदान दिनुपर्छ ।’ सरकारी निकायले स्वदेशी वस्तु अनिवार्य प्रयोग गर्नुपर्छ । स्वदेशी वस्तुको माग बढेपछि उत्पादन स्वत: बढ्छ । जसले लगानी प्रत्साहन हुनेछ । घरेलु तथा साना उद्योग विकास समितिका कार्यकारी निर्देशक रमेशचन्द्र उपाध्यायले पनि उत्पादनमै केन्द्रित हुनुपर्ने बताए । सरकारले जारी गरेको औद्योगिक व्यवसाय ऐन, २०७३ मा धेरै सुविधाहरू सुरक्षित गरेको छ । लघु उद्यमी बन्न चाहनेलाई विशेष छुट दिएको छ । लघु उद्यम र घरेलु उद्योगको हकमा उद्योग सञ्चालन भएको मितिबाट ६ महिनाभित्र उद्योग दर्ता गर्न निवेदन दिन सक्छन् । ऐनबमोजिम लघु उद्यम दर्ता गर्दा कुनै शुल्क वा दस्तुर लाग्दैन । ऐन प्रारम्भ हुँदाका बखत सञ्चालनमा रहेका लघु उद्यमलाई ऐन जारी भएको मितिले र यस ऐनबमोजिम दर्ता भई सञ्चालनमा आएको लघु उद्यमलाई व्यवसाय वा कारोबार सुरु गरेको मितिले न्यूनतम पाँच वर्षसम्म आयकर छुट दिएको जनाएको छ । उत्पादनमूलक उद्योगबाट आर्जित आयमा लाग्ने करको दरमा २० प्रतिशतले छुट दिएको छ । उत्पादनमूलक उद्योगले उत्पादन गरेको वस्तु निर्यात गरेमा प्राप्त आयमा लाग्ने करको दरमा २५ प्रतिशतले छुट रहेको जनाएको छ । महिला उद्यमी व्यवसायीको हकमा थप सुविधा रहेको कार्यकारी निर्देशक उपाध्यायले बताए । महिला उद्यमीको मात्र स्वामित्व रहने गरी उद्योग दर्ता गरिएमा त्यस्तो उद्योग दर्ता गर्दा प्रचलित कानुनबमोजिम लाग्ने उद्योग दर्ता दस्तुरमा ३५ प्रतिशत छुट छ । कार्यकारी निर्देशक उपाध्यायको लघु तथा घरेलु व्यवसायी तुलसी शाहले पनि सहमति जनाए ।
‘घरेलु उद्योग त्यसमा पनि महिलालाई सरकारले बढी प्रोत्साहन दिएको छ । काम सिक्ने चाहनेलाई तालिम छ । पुरानो उद्योगका लागि मेसिन औजारमा ८० प्रतिशत छुट र नयाँलाई ६० प्रतिशत छुट पाइन्छ,’ उनले भनिन् । घरजग्गाबाहेक बढीमा ५ लाख रुपैयाँसम्मको स्थिर पँुजीलाई लघु उद्यम भनिन्छ । उनका अनुसार उद्योग सञ्चालन गर्नुपूर्व समितिले एक सातादेखि तीन महिनासम्म तालिमसमेत दिन्छ । त्यसपश्चात् सर्वसाधारणले व्यवसाय सञ्चालन गर्न सक्छन् । लघु तथा घरेलु उद्योग सञ्चालनका गर्न सर्बसाधारणले यी प्रक्रियाका अपनाई व्यवसाय सञ्चालन गर्न सक्छन् । लघु उद्योगमा उद्यमी स्वयं उद्योगको सञ्चालन र व्यवस्थापनमा सलग्न रहेको, उद्यमीसहित बढीमा ९ जनासम्म कामदार हुन्छ । वार्षिक कारोबार ५० लाख रुपैयाँभन्दा कम हुन्छ । इन्जिन उपकरण वा मेसिनको प्रयोग गरेको भएमा इन्जिन, उपकरण वा मेसिनमा खपत हुने विद्युतीय ऊर्जा, इन्धन वा अन्य तेल इन्जिन क्षमता बीस किलोवाट वा सोभन्दा कम रहेको हुन्छ । उद्योगको उपकरण र मेसिनको आधारमा बैंकले ऋण उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने माग उद्योगीको छ ।
परम्परागत सीप र प्रविधिमा आधारित व्यवसायलाई घरेलु उद्योग भनिन्छ । यो उद्योग श्रममूलक र खास सीप वा स्थानीय कच्चा पदार्थ एवं स्थानीय प्रविधि, कला तथा संस्कृतिमा आधारित हुन्छ । इन्जिन, उपकरण वा मेसिनको प्रयोग गरेको भएमा बढीमा दस किलोवाटसम्मको क्षमताको विद्युतीय ऊर्जा प्रयोग गरेको हुन्छ । लघु तथा घरेलु उद्योगअन्तर्गत ढाकाकपडा, टेलरिङ, ब्युटिपार्लर, मोबाइल मर्मत, ड्ेरस डिजाइन, वर्कसप, फर्निचर, भेनियर, जुस, वाइन फर्निचर पर्छ । हस्तकला, मुढा, कुचो उद्योग, चिया उद्योग, दुग्ध प्रशोधन परिकार, पशुपालन, अचार, आलु चिप्स, खाडी कपडा, अलैंची प्रशोधन, नेपाली हाते कागज, अदुवा प्रशोधन, होटल, ट्रेकिङ, प्याराग्लाइडिङ पनि पर्छ ।
अगरबत्ती, चाउचाउ बनाउने, खुकुरी बनाउने, चक बनाउने, छालाका विभिन्न वस्तु तयारी, छाला प्रशोधन, जुत्ता सिलाइ तथा मर्मत, झोला बुनाइ, छ्वाली हस्तकला/ढकी बुनाइ, डोरी बनाउने, जनरल इलेक्ट्रिकल वक्र्स पनि लघु तथा घरेलु उद्योगभित्र पर्छ । यस्तै कपाल कटाइ, बेकरी, धातुका भाँडाकुँडा, माटाका भाँडा बनाउने, मोटरसाइकल मर्मत, मौरीघार निर्माण, मौरीपालन र मह प्रशोधन पनि यिनै उद्योगभित्र पर्छन् ।

प्रकाशित : चैत्र ३१, २०७३ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?