कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सुदूरपश्चिममा रेबिजविरुद्धको खोप अभाव

भवानी भट्ट

कञ्चनपुर — सुदूरपश्चिमा रेबिजबिरुद्धको खोप (एन्टिरेबिज भ्याक्सिन) अभाव भएको छ । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा दैनिक १० जनासम्म रेबिजविरुद्धको खोप लगाउन सेवाग्राही आउने गरेका छन् । तर भ्याक्सिन अभावका कारण सेवाग्राहीले बजारबाट किन्नुपरेको छ । सरकारले नि:शुल्क उपलब्ध गराउने उक्त खोप अहिले सेवाग्राहीले ७ सयदेखि एक हजारसम्ममा खरिद गर्नुपरेको छ ।

सुदूरपश्चिममा रेबिजविरुद्धको खोप अभाव

करिब दुई सातादेखि खोपको अभाव भएको हो । ‘रेबिज विरुद्धको भ्याक्सिन सकिएको एक हप्ता भन्दा बढी भयो,’ महाकाली प्रादेशिक अस्पतालमा मेडिकल सुपरिण्टेण्डेण्ट डा. अर्जुन भट्टले भने, ‘अहिले सेवाग्राहीले नै बजारबाट किनेर ल्याउँछन्, हामीले खोप लगाइदिन्छौं ।’ प्रदेश र केन्द्रबाटै अभाव भएको भन्दै आपुर्ति हुन सकेको छैन । उनले एक महिनादेखि नै खोप माग गरिएको बताए ।

पछिल्लो समय कञ्चनपुरका विभिन्न स्थानमा कुकुरमा समेत रेबिज देखिएको थियो । जसका कारण स्थानीयमा पनि त्रास बढेको छ । त्यही कारणले खोपको माग पनि बढेको हो । तर माग बढेकै बेला खोपका अभाव भएको छ ।

सुदूरपश्चिम प्रदेशभरि सामान्य अवस्थामा ५ हजार डोज खोपको आवश्यकता पर्छ । तर अहिले विभिन्न कारणले माग बढेको प्रदेश आपुर्ती तथा स्वास्थ्य व्यवस्थापन कार्यालयका प्रमुख डा. निरज अर्यालले बताए । उनका अनुसार अहिले मासिक १५ देखि २० हजार डोज खपत भइरहेको छ ।

‘सामान्य अवस्था भन्दा अहिले माग धेरै बढेको छ,’ उनले भने, ‘सचेतनाको अभाव र त्रासका कारण माग बढेको हो, यहि कारणले अभाव भएको हो ।’ उनले सुदूरपश्चिममा १५ दिनदेखि खोपको अभाव भएको बताए । उनले चार महिनासम्म चल्ने डोज एक महिनामै सकिन लागेको बताए ।

डा. अर्यालका अनुसार अझै १५ दिन अगाडि आउने सम्भावना पनि नरहेको स्वास्थ्य सेवा विभागबाट जानकारी प्राप्त भएको उछ । खरिद प्रक्रिया नसकिएका कारण अझै ढिलाइ हुन सक्ने उनले बताए ।

रेबिजबारे सचेतनाको अभाव र त्रासका कारण खोपको माग बढी देखिएको डा. अर्याल बताउछन् । उनले यसबारे अध्ययन र अनुसन्धान नहुदा समेत त्रास पैदा भएको बताए । ग्रमीण भेगमा स्यालले टोक्दा गाउँका सबैले खोप लगाउने र कुकुरमो मृत्यु हुँदा पनि रेबिजकै आशंक हुने गरेको उनले बताए । ‘यसबारे सचेतनासँगै अध्ययन अनुसन्धान पनि आवश्यक छ,’ उनले भने, ‘स्थानीय स्तरमा रेबिजबारे जानकारीसँगै सचेतना फैलाउनु पर्छ ।’

प्रकाशित : वैशाख १, २०८१ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?