कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

बझाङमा बढ्यो केन्द्रीय नेताको दौडधुप

कांग्रेस र एमालेलाई प्रतिष्ठा जोगाउनकै चुनौती, माओवादी भन्छ : ‘हामी पनि कम छैनौं’

बझाङ — बझाङ प्रदेशसभा (१) को उपनिर्वाचनलाई लिएर मुख्य दलका केन्द्रीय स्तरका नेताहरू बझाङ पुग्ने क्रम बढेको छ । आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउनका लागि अहिले कांग्रेस, एमाले र माओवादीका केन्द्रीय स्तरका नेता बझाङ पुगिरहेका हुन् ।

बझाङमा बढ्यो केन्द्रीय नेताको दौडधुप

नेपाली कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको गत असारमा सवारी दुर्घटनामा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । सुदूरपश्चिम प्रदेश सरकार निर्माणका लागि चाहिने अंकगणितमा बझाङबाट जित्ने प्रदेश सभा सदस्यले महत्त्व राख्ने भएकाले दलहरूले उपनिर्वाचनलाई महत्त्वका साथ हेरेको बताएका छन् ।

कांग्रेसले स्वर्गीय सांसद सिंहका छोरा अभिषेकबहादुर सिंह, एमालेले दमन भण्डारी र माओवादी केन्द्रले जनक बुढालाई आ–आफ्ना उम्मेदवारका रूपमा मैदानमा उतारेका छन् ।

आफ्ना उम्मेदवारलाई जिताउन कांग्रेसका केन्द्रीय सदस्य रणबहादुर रावल मनोनयनदेखि नै बझाङमा खटिएका छन् । उनलाई पार्टीले बझाङ इन्चार्जको जिम्मा पनि दिएको छ । पूर्वपरराष्ट्र मन्त्री एनपी साउद, पूर्वमन्त्री गोविन्दबहादर शाह, कांग्रेस केन्द्रीय सदस्य एवं धनगढी उपमहानगरपालिकाका पूर्वमेयर नृप ओड लगायत नेता पनि बुधबार बझाङ आइपुगेका छन् । केही दिनभित्र बद्री पाण्डे, प्रदीप पौडेल, उमेशजंग रायमाझीलगायतका नेता पनि बझाङ आउने कार्यक्रम रहेको इन्चार्ज रावलले बताए ।

एमालेले आफ्ना उम्मेदवारलाई जिताउन केन्द्रीय नेताहरूलाई मनोनयनअघिदेखि नै बझाङमा सक्रिय बनाएको छ । एमाले स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री कर्णबहादुर थापा, एमाले पोलिटव्युरो सदस्य तथा सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र रावल, केन्द्रीय सदस्य एवं पूर्व संविधानसभा सदस्य अफिलाल ओखेडा, प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशी लगायतका नेता बझाङमा आफ्ना उम्मेदवारलाई जिताउन दौडधूप गरिरहेका छन् । केन्द्रीय स्तरका अन्य नेता पनि आउने क्रम जारी रहेको एमालेले जनाएको छ ।

सत्ता गठबन्धनको अर्को दल नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वमन्त्री गिरिराजमणि पोखरेल आफ्नो दलका उम्मेदवार जनक बुढाको पक्षमा जनमत सिर्जना गर्न बझाङमा खटिएका छन् । पोखरेलसँगै केन्द्रीय सदस्य ओमप्रकाश पुन पनि घरदैलो अभियानमा सक्रिय छन् । अरू केही केन्द्रीय स्तरका नेताहरू पनि आफूलाई सघाउन आउने तयारीमा रहेको माओवादी उम्मेदवार बुढाले बताए ।

‘केन्द्रदेखि गाउँस्तरका नेता–कार्यकर्ता मतदातामाझ पुगेर कांग्रेस जिताउनु पर्छ भन्ने उत्साहका साथ लागेका छन्,’ कांग्रेस बझाङ इन्चार्ज रावलले भने, ‘यहाँका गाउँघर घुम्दा मतदाताहरूमा कांग्रेसप्रति गज्जबको आकर्षण देखिएको छ ।’ आफ्नो दलका उम्मेदवार युवा भएको र मातापिता सवारी दुर्घटनामा गुमाएको व्यक्ति भएका कारण मतदाताको ठूलो सहानुभूति पाइरहेको उनले बताए ।

यता नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्व संविधानसभा सदस्य अफिलाल ओखेडाले आफ्ना उम्मेदवारले जित्ने दाबी गर्दै एमालेको पक्षमा जनलहर देखिएको बताए । ‘प्रदेश सभाको अंकगणितको सवाल त छँदैछ । यो क्षेत्र पहिलादेखि नै एमालेको पकड भएको क्षेत्र पनि भएकाले हामीले जित्नेमा विश्वस्त छौं,’ उनले भने, ‘यसअघिको निर्वाचनमा गठबन्धन भएका कारण हार्नु परे पनि समानुपातिक मतमा एमाले सबैभन्दा ठूलो दल भएका आधारमा पनि हामी जित्छौं भन्नेमा ढुक्क छौं ।’ उनले एमालेको नीति कार्यक्रमले पनि जनताको आकर्षण बढाएको दाबी गरे ।

यस्तै माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले आफू बझाङी जनताका हरेक सवालसँग जोडिएको र सबैभन्दा बलियो उम्मेदवार आफू रहेको बताए । ‘संविधानसभा सदस्यदेखि प्रधानमन्त्रीको टिममा बसेर काम गरेको अनुभव छ । यस अर्थमा बझाङमा म नै सबैभन्दा बलियो उम्मेदवार हो,’ उनले भने, ‘शान्ति प्रक्रियापछि जनताका हरेक सवालमा साथ दिंदै आएको हुनाले पनि जनताले यसपालि मलाई साथ दिन्छन् भन्ने विश्वास छ । यस क्षेत्रमा हाम्रो उपस्थिति पनि कम छैन ।’

गत निर्वाचनमा यहाँ काङग्रेस, माओवादी र समाजवादी गठबन्धन गरेर चुनाव लडेका थिए । गठबन्धनका तर्फबाट उम्मेदवार रहेका स्वर्गीय सिंहले १७ हजार १ सय १२ मत प्राप्त गरी विजयी भएका थिए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ७६ मत पाएका थिए ।

प्रकाशित : चैत्र ३०, २०८० १४:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?