कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नहरमा ‘एनिमल क्रसिङ’

भवानी भट्ट

कञ्चनपुर — पछिल्लो समय संरक्षित क्षेत्रमा पनि विकास निर्माणका काम भइरहेका छन् । यी संरचना बनाउँदा वन्यजन्तुका लागि ओहोरदोहोर गर्ने संरचनामा ध्यान दिएको पाइँदैन ।

नहरमा ‘एनिमल क्रसिङ’

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्ने नहरमा भने वन्यजन्तुका लागि आउजाउ गर्न संरचना निर्माण गरिएको छ । यसले वन्यजन्तुलाई सहज भएको छ ।

महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणअन्तर्गत नहरमा निर्मित संरचनाबाट अहिले बाघ, हात्ती, चित्तललगायतका वन्यजन्तु ओहोरदोहोर गरिरहेका छन् । ‘अहिले नहरमा निर्माण गरिएकै संरचनाबाट वन्यजन्तु हिँडिरहेका छन्,’ राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रम प्रमुख लक्ष्मीराज जोशीले भने, ‘यो वन्यजन्तुमैत्री पनि छ ।’

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमै यसअघि महाकाली सिँचाइ आयोजनाको दोस्रो चरणको नहर, कलुवापुर–बेलौरी सडक खण्ड र पूर्व–पश्चिम राजमार्गसमेत निर्माण भए । ती सडक र नहरमा वन्यजन्तुका लागि संरचना बनेका छैनन् । दोस्रो चरणको नहरमा केही स्थानमा स्ल्याबहरू राखिए पनि ती वन्यजन्तुमैत्री छैनन् ।

‘संरक्षित क्षेत्रमा सकभर संरचना निर्माण गर्नु नै ठिक होइन,’ जोशीले भने, ‘संरचना निर्माण हुँदा वातावरण र वन्यजन्तुमैत्री बनाउन सक्नुपर्छ ।’ अहिले नहरमा पानी सञ्चालन नभएका कारण उक्त क्षेत्रमा वन्यजन्तुको विचरणमा समस्या देखिएको छैन । ‘पानी सञ्चालन भएका बेला वन्यजन्तुका लागि बनेका संरचनामा हिँड्छन् वा हिँड्दैनन् त्यसपछि मात्रै भन्न सकिन्छ’, उनले भने ।

महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गतको तीन किलोमिटर नहर निकुञ्जभित्र पर्छ । नहर निर्माण भइरहेको क्षेत्र हात्तीको क्रीडास्थलका रूपमा पनि चिनिन्छ । जसलाई हात्तीथला भनिन्छ । यही कारणले पनि नहरमा जंगली जनावर आवतजावत गर्ने संरचना ‘एनिमल क्रसिङ’ महत्त्वपूर्ण मानिएको छ । ‘एउटै हूलमा १८/२० हात्तीसम्म यही बाटो हिँडेको देखिएका छन्,’ महाकाली सिँचाइ आयोजना तेस्रो चरणका आयोजना निर्देशक रणबहादुर बमले भने, ‘एनिमल क्रसिङले वन्यजन्तुलाई सजिलो भएको छ ।’

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत राधा नदीदेखि स्याली नदीसम्म ३ किलोमिटर दूरीमा सानो खालका पुल जस्तै माटो भरान गरिएका संरचना बनाइएको छ । ५/५ सय मिटर दूरीमा एउटा गरी ६ वटा एनिमल क्रसिङका संरचना बनाइएको आयोजनाका सिनियर डिभजनल इन्जिनियर शम्भुराज पण्डितले बताए । ‘वन्यजन्तुलाई सहजै आउजाउ गर्न सकिने गरी संरचना निर्माण गरिएको छ,’ पण्डितले भने, ‘नहरको माथिबाट सहजै आउजाउ गर्न सक्छन् ।’ उनका अनुसार निकुञ्ज क्षेत्रमा वन्यजन्तुको बढी ओहोरदोहोर हुने स्थानमै संरचना निर्माण गरिएको हो । चुरेसम्मै जोडिएको निकुञ्जको केही भाग नहरका कारण खण्डीकरण भएको छ । नहरमा वन्यजन्तुका लागि निर्मित संरचनाले केही सहजता बनाउने संरक्षणकर्मीहरू बताउँछन् ।

प्रकाशित : जेष्ठ १४, २०८० १४:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?