१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

नैनीताल दुर्घटना : मृतकका परिवारलाई ज्याला न राहात

भवानी भट्ट

कञ्चनपुर — बाँकेको बैजनाथ गाउँपालिका–८ फत्तेपुरका उदयराम थारु मंसिर अन्तिम साता पहिलो पटक मजदुरीका लागि साथीभाईसँगै भारत पसे । निस्किने बेला उनलाई मेट (अगुवा)ले घर खर्च भन्दै ५ हजार नेपाली रुपैयाँ दिएका थिए । त्यसपछि १७ जनासँगै उनी पनि भारत उत्तराखण्डको नैनीताल जिल्लामा पर्ने बेतालघाट क्षेत्रको उच्चाकोट पुगे ।

नैनीताल दुर्घटना : मृतकका परिवारलाई ज्याला न राहात

करिब ५ महिना काम गरेका उदयरामले न त ज्याला पाए न ज्यान नै रह्यो । चैत २६ गते उचाकोटबाट घर फर्किने क्रममा जीप दुर्घटना हुँदा उदयरामसहित ७ जना नेपाली कामदारले ज्यान गुमाए । दुर्घटनामा परी मृत्यु भएका परिवारले राहत तथा क्षतिपुर्ति त के मजदुरी गरेको ज्याला समेत पाएनन् ।

‘घरबाट जाने बेला मेटले ५ हजार दिएको हो, त्योबाहेक केही पाइएन,’ उदयरामका छोरा पुनारामले भने, ‘घर फर्किने बेलासम्म पनि ज्याला पाइएको छैन भन्नुहुन्थ्यो, मेटलाई कुरा गर्दा पनि अब पाइन्छ भनेको छ ।’ उनका अनुसार मेटले अन्तिम संस्कारको सबै काम सकेपछि ठेकेदारसँग भेटेर कुरा गर्न बोलाएको छ ।

‘भर्खर किरिया सकिएको छ, अब हामीहरु सबै छलफल गरेर त्यही जाने तयारीमा छौं,’ दुर्घटनामा मृत्यु भएका तिलकराम थारुका छोरा सन्दिपले भने, ‘बुवाले त जाने बेला पनि केही पाउनुभएन ।’

उनका अनुसार दुर्घटनामा परी मृत्यु भएका र त्यहाँबाट फर्केका सबै बसेर हिसाब किताब बुझ्न जाने छलफल भइरहेको छ । तिलकराम पनि मजदुरीका लागि पहिलो पटक भारत पसेका हुन् । उनी गाउँमै काम गर्थे । छोराहरु कमाउने भइसकेकाले उनलाई त्यति धेरै खाँचो थिएन । साथीभाई सबै जान थालेपछि उनी पनि भारत जान तयार भए । पहिलो पटक घरबाट निस्केका उनी घर फर्किन पाएनन् ।

उचाकोट क्षेत्रमा मजदुरीका लागि मंसिर अन्तिम साता बाँके र बर्दियाका १७ जनालाई कोहलपुरका विजय सुनारले लगेका थिए । ५ जना माघमै घर फर्किएका थिए । अन्य कामदार पनि चैत पहिलो साता नै घर फर्किन लागेका थिए । तर ठेकेदारले ज्याला नदिएर उनीहरु आउन पाएका थिएनन् । ‘अन्तिममा बाटो खर्च भनेर २५ हजार मात्रै दिए, सबैले बाँडेर घर आउँदै थियौं,’ बर्दिया बासगढी नगरपालिका–१ बबईका प्रेम बुढाले भने, ‘गाडी अगाडि नबढ्दै दुर्घटना भयो ।’ उनी दुर्घटनापछि मृतकका आफन्तसँगै शव ल्याएर आएका हुन् ।

बुढाका अनुसार उचाकोटमा खानेपानी आयोजनाको काम एक साताअघि नै सकिएको थियो । ज्याला पाउने आशमा काम सकिए पनि सबैजना त्यही बसेका थिए । अन्तिममा घरभाडा मात्रै पाएपछि साँझ भए पनि निस्किन लाग्दा दुर्घटना भएको हो ।

भारतको उत्तराखण्ड र हिमाञ्चल क्षेत्रमा कृषि, विकास निर्माण र भारी बोक्नेलगायतको काममा ठूलो संख्यामा नेपालीहरु काम गरिरहेका छन् । तर सडक दुर्घटना हुँदा होस वा कार्यस्थलमा हुने दुर्घटनामा परी मृत्यु भएकाहरुका आफन्तले कुनै पनि राहात पाउँदैनन् । जोखिमयुक्त क्षेत्रमा काम गर्ने नेपालीलाई सुरक्षाका लागि सामान्य सावधानी समेत अपनाइएको पाइदैन ।

‘भारतमुखी आप्रवासनलाई व्यवस्थित गर्न नसकेका कारण नेपाली कामदारको मृत्यु हुँदा राहातसम्म पाइदैन,’ लामो सममदेखि आप्रवासनको क्षेत्रमा कार्यरत गैरसरकारी संस्था निड्स नेपालका सह कार्यकारी निर्देशक प्रकाशचन्द्र मडैले भने, ‘कामका लागि भारत जानेको वीमा र उनीहरुका लागि कल्याण कोष स्थापनालगायतका काम गर्न सके केही राहात हुन्छ ।’ रोजगारस्थल र यात्राका क्रममा हुने दुर्घटनामा परी ज्यान गुमाउने नेपालीलाई राहात तथा क्षतिपुर्तिका लागि पनि आवश्यक पहल हुनुपर्ने उनले बताए ।

चैत अन्तिम साता उचाकोट क्षेत्रमा भएको जीप दुर्घटनामा परी ७ जनाको मृत्यु भयो । जसमध्ये ६ जना बाँकेको बैजनाथ गाउँपालिका र १ जना बर्दियाको बासगढी नगरपालिकाका हुन् । बैजनाथका सबैको शव घरमै ल्याएर अन्तिम संस्कार गरियो भने बासगढीका एक जनाको नैनीतालमै अन्तिम संस्कार गरिएको थियो ।

अन्तिम संस्कारका लागि शव घर ल्याउँदा समेत व्यवस्थित र सुरक्षित ढंगले नभई प्लाष्टिकको बोरामा राखेर पठाइएको मृतकका आफन्तले बताए ।

प्रकाशित : वैशाख १२, २०८१ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?