‘बझाङमा अमेरिकी सेना बसेको भन्ने हल्ला निराधार’

वसन्तप्रताप सिंह

बझाङ — बझाङको साइपाल गाउँपालिकामा पर्ने माझा क्षेत्रमा अमेरिकी सेना क्याम्प बनाएर बसेको भन्ने हल्ला निराधार रहेको गाउँपालिकाले जनाएको छ ।

एक युट्युब अन्तर्वार्तामा बझाङको माझा भन्ने ठाउँमा अमेरिकी सेनाले क्याम्प खडा गरी बसेको भन्ने किसिमको अन्तर्वार्ताको भिडियो हालेपछि सामाजिक सञ्जालमा हल्ला फैलिएको थियो । यसलाई खण्डन गर्न साइपाल गाउँपालिकाले विज्ञप्ति निकालेको हो ।

देशको राष्ट्रियतामाथि नै प्रश्न उठ्ने गरी सामाजिक सञ्जालमा फैलिएको भ्रामक हल्लाले पालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै गाउँपालिकाले माझा क्षेत्रमा अहिले जडिबुटी संकलनको कार्य भइरहेको र त्यहाँ स्थानियको आवतजावत र पालिकाको समेत नियमित अनुगमन भइरहेकाले हल्ला फैलिएजस्तो कुनै गतिविधि नभएको जनाएको छ ।

‘यस्ता कपोकल्पित कुरामा विश्वास नगर्न तथा देशको अस्मितामाथि प्रश्न उठ्ने गरी गलत हल्ला फैलाउनेलाई कारबाही गर्न माग गर्दछौं,’ गाउँपालिका अध्यक्ष मानवीर बोहराद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

हल्लाले बझाङ मात्रै नभएर गृह प्रसाशनसम्म त्रास फैलाएको बुझिएको छ । हल्लाको बारेमा बुझ्नको लागि गृहमन्त्री नारायणकाजी श्रेष्ठले समेत बझाङ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेको जिल्ला प्रशासन कार्यालय सम्बद्ध स्रोतले जानकारी दिएको छ । यो विषयमा गृह मन्त्रालयका सचिव लगायत उच्च पदस्थहरुले समेत चासो राखेको श्रोतले बताए ।

'राष्ट्रियतासँग जोडिएको विषयमा हल्ला फैलिएपछि उच्च पदस्थहरुले चासो राख्नु स्वभाविकै हो,' बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले भने, 'यो हल्ला पूर्णरुपमा असत्य हो, फेक हो भनेर हामीले माथिल्लो निकायमा जानकारी गराइसकेका छौं,' प्रजिअ पाण्डेले गलत हल्लाको पछि लागेर त्रसित नहुन आग्रह समेत गरेका छन्।

माझा लगायत साइपालका लेकाली क्षेत्रमा अहिले सैयौंको संख्यामा यार्चा संकलकहरु पुगेका छन् । उनीहरुले अर्न्तवार्तामा भनिए जस्तो कुनै पनि गतिविधि त्यहाँ नभएको र सबै कुरा झुटो भएको बताएका छन् ।

प्रकाशित : जेष्ठ ९, २०८० १०:५७
प्रतिक्रिया
पठाउनुहोस्

कामीरिता २८ औं पटक सगरमाथामा

सुरज कुँवर

काठमाडौँ — सोलुखुम्बुका कामीरिता शेर्पाले मंगलबार बिहान २८ औं पटक सगरमाथा आरोहण गरेसँगै उनले विश्वकै अग्लो हिमाल सगरमाथामा सबैभन्दा धेरैपटक पुग्ने कीर्तिमान कायम गरेका छन् ।

उनी आवद्ध सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिग्मा शेर्पाका अनुसार, कामीरिता मंगलबार बिहान ९ बजेर २० मिनेटमा सगरमाथाको चुचुरोमा पुगेका थिए ।

वसन्तकालीन सिजनमा उनी सगरमाथा चुचुरोमा दोस्रोपटक पुगेका हुन । बुधबार उनी २७ औं पटक सगरमाथा चुचुरोमा पुगेका थिए । तर, उनकै २७ औं रकर्ड बराबरीमा सोमबार सोलुखुम्बुको पाङबोचेका पासाङ दावा शेर्पाको पनि रेकर्ड कायम भएपछि सगरमाथामा सर्वाधिक आरोहण गर्नेको संख्या दुई पुगेको थियो ।

सेभेन समिटका अधिकृत थानेश्वर गुरागाईंका अनुसार, कामीरिता मंगलबार आरोहण दलमा रहेका विदेशीहरुसँगै शिखर पुगेका थिए । उनी शुक्रबारसम्म काठमाडौं फर्किने भनिएको छ ।

प्रकाशित : जेष्ठ ९, २०८० १०:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×