वर्षाले कृषकलाई राहत

कञ्चनपुर जिल्लाको ३५ हजार हेक्टरमा रहेको गहुँ बालीलाई वर्षाले एक चरणको सिँचाइ सहज
भवानी भट्ट

कञ्चनपुर — वर्षा भएपछि सुदूरपश्चिममा कृषकहरू खुसी भएका छन् । आइतबार रातिदेखिको वर्षाले किसानलाई राहत पुगेको छ । ‘अहिलेको वर्षाले नोक्सान पुर्‍याउँदैन, बालीनालीलाई पोसिलो बनाउन सहयोग पुग्छ,’ कृषि ज्ञान केन्द्र कञ्चनपुरका कृषि अधिकृत हरिदत्त जोशीले भने, ‘यो वर्षा एक/डेढ महिनाअघि नै हुनुपर्थ्यो, ढिलो भए पनि केही राहत भएको छ ।’

कञ्चनपुरमा करिब ३५ हजार हेक्टरमा गहुँ खेती गरिन्छ । यहाँ गहुँको उत्पादकत्व ४ मेट्रिक टन प्रतिहेक्टर छ । पाक्न लागेको गहुँ वर्षाले ढलाएमा नोक्सान हुने भए पनि हावा हुरी नचलेका कारण क्षति नभएको प्राविधिकहरू बताउँछन् ।

तराईमा अहिले तोरी र मसुरो भित्र्याउने बेला हो । ९० प्रतिशत तोरी भित्र्याइसकेको ज्ञान केन्द्रको भनाइ छ । केही भित्र्याउन बाँकी रहेको तोरीलाई केही असर गर्न सक्ने ज्ञान केन्द्रका कृषि अधिकृत जोशीले बताए । वसन्ते तरकारी र मकैलाई पनि अहिलेको वर्षाले फाइदा पुग्ने कृषि प्राविधिकहरू बताउँछन् । सिँचाइका लागि पानीको आवश्यकता थियो । यहाँ बगर खेतीमा पनि वसन्ते तरकारीको उत्पादन हुने गर्छ ।

बगर खेतीमा हुने तरकारी उत्पादन काठमाडौंसम्म पुग्छ । उक्त उत्पादन बजारमा आउन थालेको छ । जिल्लाका खोलानालाका किनारमा बगर खेती भइरहेको छ । कृषि ज्ञान केन्द्रका अनुसार ५० हेक्टरमा बगर खेती भइरहेको छ । यहाँ काँक्रा, फर्सी, लौका, करेला र तरभुजालगायतको उत्पादन भएको छ । ‘बगरमा पनि सिँचाइको आवश्यकता थियो, अहिले वर्षाले सहज भयो,’ जोशीले भने, ‘वसन्ते तरकारी उत्पादनमा पनि यसले फाइदा नै पुग्छ ।’

जिल्लाको दक्षिणी क्षेत्र बेलौरी र पुनर्बास नगरपालिकामा ठूलो मात्रामा वसन्ते मकैको खेती गरिन्छ । यसमा समेत फाइदा पुग्ने उनले बताए । आँप, लिचिलगायतका फलफूललाई समेत अहिलेको वर्षाले फाइदा पुग्ने जोशी बताउँछन् । हावाहुरी नचलेकाले नोक्सान नभएको उनको भनाइ छ । उनका अनुसार राम्ररी फुलेको आँप र लिचीमा किसानले काँटछाँट गरेर ६० प्रतिशत मात्रै राख्नुपर्ने हुन्छ । वर्षाले अनावश्यक फूल झरेर किसानको काम सहज गरेको उनले बताए । यो वर्ष आँप र लिची राम्रोसँग फुलेको छ । उत्पादन गत वर्षको तुलनामा राम्रो हुने अपेक्षा छ ।

जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित फिल्ड कार्यालयका अनुसार कैलाली र कञ्चनपुरमा सोमबार २९.७ मिलिमिटर वर्षा भएको छ ।

प्रकाशित : चैत्र ७, २०७९ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्

सुदूरपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन चैत २१ गते

कान्तिपुर संवाददाता

कञ्चनपुर — सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचन चैत २१ मा हुने भएको छ । यसअघि चैत ८ मा हुने निर्वाचन स्थगित भएपछि सोमबार क्याम्पस प्रशासन र संघ/संगठनका प्रतिनिधिबीच निर्वाचन गर्ने सहमति भएको हो ।

विश्वद्यिालयले विद्यार्थी संघ/संगठनकै सहमतिमा केन्द्रीय र आंगिक सबै क्याम्पसमा चैत ८ मा स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो । केन्द्रीय क्याम्पसमा विद्यार्थी भर्नासम्बन्धी विवादका कारण नर्वाचन हुन सकेको थिएन । ‘सबै विद्यार्थी भर्ना हुन नसकेका कारण केही विद्यार्थी संगठनले विरोध गरेका थिए,’ केन्द्रीय क्याम्पसका निर्वाचन अधिकृत तोरण भट्टले भने, ‘अब भर्ना हुने समय दिएर निर्वाचन गर्ने सहमति भयो ।’

निर्वाचन अधिकृत भट्टका अनुसार चैत ११ सम्म भर्ना भएका विद्यार्थीलाई निर्वाचनमा सहभागी हुन दिने सहमति भएको छ । चैत ८ मा तोकेको निर्वाचनअन्तर्गत ५ आंगिक क्याम्पसमा अझै विवाद छ । एक क्याम्पसमा यसअघि नै सहमतिमा नेतृत्व चयन भएको थियो । विश्वविद्यालयका अनुसार चैत २१ मा १० वटा आंगिक क्याम्पसमा निर्वाचन हुनेछ । विश्वविद्यालयमा केन्द्रीय र आंगिक गरी १६ क्याम्पस छन् ।

प्रकाशित : चैत्र ७, २०७९ ०८:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×