कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२४

रोल्पा अस्पतालमा फिजियोथेरापी सेवा दुई वर्षदेखि बन्द, निमित्तका भरमा अस्पताल

रोल्पा — रोल्पा अस्पतालमा दुई वर्षदेखि फिजियोथेरापी सेवा बन्द छ । फिजियोथेरापी गर्ने कर्मचारी अभावमा यो सेवा बन्द भएको हो । यो सेवा नहुँदा नियमित रुपमा थेरापी सेवा पाउनुपर्ने बिरामी प्रभावित भएका छन् । 

रोल्पा अस्पतालमा फिजियोथेरापी सेवा दुई वर्षदेखि बन्द, निमित्तका भरमा अस्पताल

अस्पतालका अनुसार फिजियो थेरापिस्ट दीपा बुढामगरले जागिर छाडेपछि अस्पतालमा यो सेवा पूर्ण रुपमा बन्द गरिएको हो । थेरापी गराउने सामान भएपनि दुई वर्षदेखि ती मेसिन थन्काएर राखिएको छ ।

‘थेरापी गराउने कर्मचारी नभएपछि यो सेवा बन्द गरिएको हो,’ अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगी भन्छन्, ‘कर्मचारीको दरबन्दी परिपूर्ति गर्न सके पुनः सेवा सुचारु गर्न सकिन्छ ।’ २०७७ माघ ४ देखि सुरु भएको फिजियो थेरापी सेवा २०७९ मंसिर १५ देखि बन्द गरिएको थियो । थेरापिस्ट रोल्पा परिवर्तन गाउँपालिका घर भएकी कर्मचारी बुढामगरले व्यक्तिगत काम विशेषले अस्पतालबाट विदा लिएपछि अरु कर्मचारीको व्यवस्था गरिएको छैन ।

थेरापी विषयमा स्नातक तह उत्तीर्ण गरेपछि उक्त पदमा काम गर्न पाइन्छ । सरकारले रोल्पा अस्पताललाई फिजियो थेरापी सेवाका लागि करिब २५ लाख बराबरको मेसिन उपलब्ध गराएको छ ।

यसैगरी अस्तपालको नयाँ भवन निर्माण भइसक्दा पनि सेवा भने पुरानै छ । सरकारले दरबन्दी अनुसारका चिकित्सक र स्वास्थ्यकर्मी पठाउन नसक्दा भवनबाट ५० बेडको सेवा प्रभावित हुन सकेको छैन । अस्पताल व्यवस्थापन गर्न र कर्मचारी दरबन्दी परिपूर्ति गर्न प्रदेश सरकार आफैले जिम्मेवारी लिएको छ ।

अहिलेको भन्दा भिन्न कानुन नबनाउँदासम्म प्रदेश मातहतका अस्पताल व्यवस्थापनमा समस्या देखिएको छ । अहिले जिल्ला र प्रदेश तहका अस्पताल आफैँले कर्मचारी नियुक्त गर्न र व्यवस्थापन गर्न पाउदैनन् । व्यवस्थापन समितिका अध्यक्ष नियुक्त गर्दा प्रदेश सरकारले राजनीतिक व्यक्तिलाई नै नियुक्त गर्ने गरेको छ ।

रोल्पा अस्पतालका अध्यक्ष शेरबहादुर थापाले प्रदेश सरकारले नयाँ कानुन ल्याएमात्रै सहज हुने बताए । उनका अनुसार कार्यालय प्रमुख नियुक्त गर्दा र कर्मचारीको दरबन्दी अनुसार कर्मचारी खटाउदा प्रदेश सरकारले मात्रै सबै जिम्मेवारी लिएकाले आफूले चाहेर पनि थप सेवा प्रवाह गर्न सकिएको छैन ।

अस्पतालमा दरबन्दी अनुसार कार्यालय प्रमुख नआउँदा निमित्तको भरमा अस्पताल चल्दै आएको छ । ११ औं तहको बरिष्ठ चिकित्सकलाई कार्यालय प्रमुखका रुपमा पठाउने नीति भएपनि हालसम्म अस्थायी र कनिष्ठलाई नै कार्यालय प्रमुख बनाउने गरिएको छ । यसबाट सेवा प्रवाहमा समस्या देखिएको अस्पतालले जनाएको छ ।

अस्पताल व्यवस्थापन समितिका अनुसार २०७९ चैतमा अस्पतालको निमित्त मेडिकल सुपरीटेन्डेन्टमा नियुक्त भएकी डा. लोकरत्ना ज्ञवालीले अस्पताल प्रशासन र व्यवस्थापनमा प्रभावकारी सेवा दिन नसक्दा अस्पतालले विविध समस्या भोग्नु परेको छ । कार्यालय प्रमुख अभावमा नियमित र स्तरीय स्वास्थ्य सेवा प्रभावित भएको छ ।

दैनिक विरामी जाँच्न चिकित्सकलाई खटाउनुपर्ने, रातको समयमा र दिनमा पनि डाक्टरलाई ‘अन कल’ जिम्मेवारीमा राख्नुपर्ने र त्यसका लागि समन्वय गर्नुपर्नेमा समस्या देखिएको स्रोतले बताएको छ । ‘हालकी निमित्त मेसुले विरामी जाँच्ने गर्नुभएको छैन । तर दैनिक रुपमा विरामी जाँचेको कागज बनाएर तलब बाहेक थप पारिश्रमिक लिने गर्नु भएको छ ।’

अस्पताल व्यवस्थापन समितिको स्रोतले बताएको छ । दैनिक खटिएका स्वास्थ्यकर्मीलाई खटाउदा निमित्त मेसु डा लोकरत्ना र खटिने अरु चिकित्सक बीच मनमुटाव पनि हुने गरेको छ । हाल अस्पतालमा तीन जना चिकित्सक मात्रै स्थायी दरबन्दी छन् । बाल रोग विशेषज्ञ डा. धनमाया घर्तीमगरले अध्ययनका लागि विदा लिएकोमा अब उनी अस्पतालमै आउने भएकी छन् । डा. धनमायासहित डा. लोकरत्ना, डा. निरज घर्तीमगर, डा. ऋषभ गौतम, दन्त चिकित्सक डा. सूर्यप्रताप, डा. देवेन्द्रसिंह नेगी लगायत छन् ।

निक साइमन संस्थाले भने दुई चिकित्सकसहित ५ जना स्वास्थ्यकर्मीलाई आफ्नै खर्चमा चिकित्सक पठाएको छ । एमडीजीपी डा. रणबहादुर बोगटी, डा. मुहाशिर हुसैन खानसहित एकजना एनेस्थेसिया सहायक, एक जना स्टाफ नर्स र एक जना बीएमइटी विभागका कर्मचरी निक साइमनका तर्फबाट खटाइएका छन् ।

विशेषज्ञ चिकित्सक अभावमा सेवा प्रवाह गरिरहेको अस्पतालमा धेरै प्रकारका रोगको पहिचान गर्न समस्या हुने गरेको छ । भएका चिकित्सकले पहिचान गरेर रेफर गरेका विरामीको अन्य जिल्लामा पुनः रोग पहिचान गर्दा भिन्नै देखिने गरेको पाइएकोले यसबारे गम्भीर रुपमा छलफल चलाउने गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष थापाले बताए ।

प्रकाशित : चैत्र ४, २०८० १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?