कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पाल्पामा 'महिनावारी मेला'  

माधव अर्याल

पाल्पा — महिनावारीप्रतिको गलत धारणा हटाउन भन्दै पाल्पामा साताव्यापी 'महिनावारी मेला' आयोजना गरिएको छ । रोट्र्याक्ट क्लब अफ पाल्पा लुम्बिनीकी उपसभापति स्नेहा बस्नेतका अनुसार महिनावारी मेला, वक्तृत्वकला प्रतियोगिता, विद्यालयमा सचेतना कार्यक्रम, जनचेतनामूलक नाटक लगायतका कार्यक्रम सञ्चालन गरिएको हो । मेला तानसेन टुँडिखेलमा मेला राखेको छ । 

पाल्पामा 'महिनावारी मेला'  

महिनावारीबारे धेरैजसो अहिले पनि खुलेर कुरा नगर्ने र प्राकृतिक प्रक्रियाबारे ग्रामीण क्षेत्रमा नकारात्मक सोच र भ्रमसमेत रहेकाले मेलामा जानकारी दिइएको कार्यक्रम संयोजक स्मारिका सिंह प्रधानले बताइन् । रजस्वलासम्बन्धी गलत धारणा र अन्धविश्वास चिर्न मेला सहयोगी बनेको तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताए ।

अभियानमा लुम्बिनी मेडिकल कलेज, नेपाल परिवार नियोजन संघ, स्वास्थ्य कार्यालय, पाल्पा टेक्निकल इन्स्टिच्युट लगायतको समन्वय छ । मेलामा प्रजनन स्वास्थ्य, सरसफाइ र महिनावारीमा आवश्यक खानपिनको विषयमा विस्तृत जानकारी दिइएको परिवार नियोजन संघका शाखा प्रबन्धक सोवाकान्त न्यौपानेले बताए ।

मेला साथै अभियानमा महिलालाई पुनः प्रयोग गर्न मिल्ने प्याडबारे स्थानीयलाई सचेत गराइएको छ । मेलामा राखिएका स्टलमा महिनावारी प्याडको प्रयोग र यसको फाइदा, महिनावारी कप, महिनावारीमा पोषणयुक्त खानेकुराका विषयमा समेत जानकारी गराइएको छ ।

तानसेन नगरपालिका–६, का वडाध्यक्ष सागरमान महर्जनले महिनावारी मेलामा सहभागी भएर गलत धारणा हटाउन सहयोगी बनेको बताए । यस्ता मेलालाई ग्रामीण भेगमा पुगेर सचेत गराउन सकियो भने प्रभावकारी हुने उनको विश्वास छ । आगामी वर्षको बजेटमा यस्ता सचेतनामूलक कार्यक्रमका लागि सम्बोधन गर्न स्थानीय तहलाई उनले आग्रह गरे ।

महिनावारीसम्बन्धी कुः प्रचलन हटाउन, चेतना जगाउन मेला प्रभावकारी हुने रोटरी क्लब अफ पाल्पा लुम्बिनीका अध्यक्ष रमेश न्यौपानेले बताए ।

आगामी दिनमा स्थानीय तहले यस्ता मेला आयोजना गर्ने हो भने महिनावारीप्रति भएका भ्रमहरु चिर्न सहज हुने स्वास्थ्य कार्यालय पाल्पाका प्रजनन स्वास्थ्य फोकल पर्सन तथा सूचना अधिकारी टिकाराम अधिकारीले बताए । महिनावारी मेलामा विद्यार्थीहरु, युवा–युवती र आमा समूहबाट गरी ५ सयभन्दा बढी सहभागी रहेको आयोजक रोट्र्याक्ट क्लब अफ पाल्पा लुम्बिनीले जनाएको छ । सहभागीहरुलाई महिनावारीको बारेमा चेतना जगाइने खालका नाटक, नृत्य पनि देखाइएको थियो ।

प्रकाशित : जेष्ठ १३, २०८१ २०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?