कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३४

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार हुँदै, २ मन्त्री थप्ने तयारी

घनश्याम गौतम

बुटवल — लुम्बिनी प्रदेश सरकारमा दुई मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको छ । कांग्रेसको आन्तरिक विवाद र माओवादी अडानले लामो समयदेखि रोकिएको लुम्बिनी प्रदेशमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दुई मन्त्री थपेर मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् । 

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार हुँदै, २ मन्त्री थप्ने तयारी

मुख्यमन्त्री चौधरीले सम्हाल्दै आएका तीन मन्त्रालय मध्ये २ वटामा मन्त्री नियुक्त गर्न लागेका हुन् । सत्तागठबन्धनका कांग्रेस र माओवादीबीचको पछिल्लो पटक कांग्रेसबाट एक र माओवादीबाट एक मन्त्री थप्ने सहमति छ ।

मन्त्रिपरिषद् विस्तारको बारेमा शुक्रबार बेलुका ५ बजे बस्ने मन्त्रिपरिषद् बैठकमा पनि छलफल हुने एक मन्त्रीले भने ।

मुख्यमन्त्री निकट स्रोतका अनुसार माओवादीले ग्रामीण खानेपानी तथा सहरी विकास मन्त्रालय पाउने भएको छ । त्यसमा माओवादीले बाँकेकी प्रदेश सभा सदस्य कृष्णा केसीलाई पठाउने भएको छ । माओवादीले यस अघिको सहमति अनुसार पार्टीले पाउने दुई मन्त्रालयका लागि केसी र रोल्पाका दीपेन्द्र पुनको नाम निर्णयसहित सिफारिस गरिसकेको थियो । तर, कांग्रेस प्रदेश समितिका सभापति अमरसिंह पुनले गठबन्धनबाट विद्रोह गरी निर्वाचित भएकालाई गठबन्धनबाटै मन्त्री बनाउन नहुने अडान लिएपछि माओवादीले पहिलो चरणमा केसीलाई पठाउने निर्णय गरेको हो ।

माओवादीका प्रदेश अध्यक्ष सुदर्शन बरालले मुख्यमन्त्रीले शुक्रबार नै मन्त्रिपरिषद् विस्तार गर्न लागेको र माओवादीबाट कृष्णा केसीको नाम सिफारिस भईसकेको बताए ।

कांग्रेसबाट भने अझै मन्त्री हुने व्यक्तिको टुंगो लागेको छैन । मुख्यमन्त्री चौधरीले कांग्रेसबाट वन तथा वातावरणमन्त्री पनि शुक्रबार नै नियुक्ति गर्ने तयारी गरेका छन् ।

कांग्रेसबाट संस्थापन इतर पक्षले पश्चिम नवलपरासीका विश्वप्रेम पाठक र पाल्पाका वीरबहादुर रानालाई मन्त्री बनाउन दबाब दिईरहेको छ । तर, मुख्यमन्त्रीलाई प्यूठानका सरोज थापालाई मन्त्री बनाउन केन्द्रबाट संस्थापन पक्षको दबाब छ । ‘त्यसैले कांग्रेसबाट अझै नामको टुंगो लागेको छैन्,’ स्रोतले भन्यो, ‘दुवै समूहको दबाबमा मुख्यमन्त्री हुनुहुन्छ, अब उहाँको अन्तिम निर्णय बैठकमै पुगेपछि पनि हुनसक्छ ।’ चर्चामा रहेका नाम मध्येबाटै कांग्रेसमा मन्त्री छनोट हुने उनले बताए । कांग्रेस र माओवादीबीच तत्काल १/१ जना मन्त्री मात्र थप्ने सहमति भएकाले उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय भने मुख्यमन्त्री आफैंले राख्ने छन् ।

मुख्यमन्त्री चौधरीले भने सरकार विस्तारका लागि प्रयास गरिरहेको तर, सहज नभएको बताए । ‘प्रयास त धेरै पटक नै गरेकै हो । तर, अझै पनि त्यति सजिलो छैन,’ उनले भने, ‘अब एउटा निर्णयमा पुगौं भन्ने लागेको छ, साँझ क्याबिनेट बोलाएको छु, त्यसपछि केही टुंगो लाग्ला ।’ तत्काल दुई मन्त्री मात्र थप हुने सम्भावना रहेको उनले बताए ।

मुख्यमन्त्री कार्यालयले मन्त्रिपरिषद् विस्तारको खबर प्रदेश प्रमुखको कार्यालयमा पनि गरिसकेको छ । शुक्रबारको मन्त्रिपरिषद्को बैठकबाट मन्त्रीको जिम्मेवारीको निर्णय हुने र आइतबार बिहान ११ बजे वा १ बजे नयाँ थप हुने मन्त्रीलाई सपथग्रहण गराउने भन्ने अनौपचारिक जानकारी आएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

१० मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा अहिले कांग्रेसबाट मुख्यमन्त्रीसहित २, माओवादी, जनमत, लोसपा, जसपा र नागरिक उन्मुक्ति पार्टीबाट १/१ जना मन्त्री बनेका छन् । मुख्यमन्त्री चौधरी वैशाख १४ गते प्रदेश सभाका ८ दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । जेठमा दोस्रो पटक मन्त्रिपरिषद् बिस्तार गरेका मुख्यमन्त्री चौधरीले अहिले तेस्रो पटक सरकार विस्तार गर्न थालेका हुन् ।

प्रकाशित : पुस ६, २०८० १५:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?