कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

आँखा पाक्ने संक्रमण बढेपछि रम्भा र रामपुरका दर्जन विद्यालय बन्द 

माधव अर्याल

पाल्पा — पाल्पामा पछिल्ला दिनमा फैलिएको आँखा पाक्ने समस्या (कन्जङ्टिभाइटिस) का बिरामीको संख्या बढेपछि रम्भा गाउँपालिका र रामपुर नगरपालिका क्षेत्रका दर्जनभन्दा बढी विद्यालय बन्द भएका छन् ।

आँखा पाक्ने संक्रमण बढेपछि रम्भा र रामपुरका दर्जन विद्यालय बन्द 

विद्यालयमा ५० प्रतिशत बढीमा आँखा पाक्ने समस्या देखिएपछि स्थानीय सरकारले विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर विद्यालयमा बिदा राख्न सकिने व्यहोराको सूचना जारी गरेको थियो ।

विद्यालयमा बालबालिका बढी प्रभावित भएपछि रामपुर नगरपालिकाभित्रका प्याब्सनअन्तर्गतका सबै विद्यालयमा बिदा दिएका छन् ।

रामपुरको रामपुर बोर्डिङ, भूपू सैनिक, आनन्द निकेतन, रजघरा बोर्डिङ, गेझा सनराइज, विजयपुर इङलिस बोर्डिङ स्कुलले बिदा दिएका छन् । रामपुर नगरपालिका क्षेत्रकै कृष्णादेवी मावि भलायटारले पनि बिदा दिएको रामपुर नगर शिक्षा अधिकृत विकल काफ्लेले जानकारी दिए । उनका अनुसार विद्यालयमा आँखा पाक्ने रोगको संक्रमण फैलिएको र सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई समस्याको अवस्थालाई मध्यनजर गरी विद्यालय व्यवस्थापन समितिको बैठक बसेर स्थानीय विद्यालयमा बिदा दिन सकिने व्यहोरासहितको सूचना जारी गरेको हो । सोहीअनुसार आँखा पाक्ने रोगको समस्या बढ्दै गएकाले आँखाको सुरक्षासम्बन्धी सचेततासमेत गर्न गराउनसमेत आग्रह गरिएको छ ।

रम्भा गाउँपालिकाअन्तर्गतका जनकल्याण मावि हुँगी र श्रीकृष्ण गण्डकी मावि असेर्दी हुँगीले केही दिनका लागि बिदा दिएको शिक्षा शाखा अधिकृत मीना आचार्यले बताइन् । स्थानीय बिदा र हिउँदे बिदा कटिने गरी उनीहरूले बिदा दिएका हुन् । जनकल्याण माविका शिक्षक नारायण भट्टराईका अनुसार विद्यालयमा ५० प्रतिशतभन्दा बढीमा आँखा पाक्ने रोगको संक्रमण देखिएकाले विद्यालय व्यवस्थापन समितिको निर्णय गरेर बिदा दिइएको हो ।

रम्भा गाउँपालिकाले स्वास्थ्य शाखाअन्तर्गत विद्यालयमै पुगेर आँखा पाक्ने रोगको संक्रमणका विषयमा जानकारी गराउने गरेको छ । प्राथमिक, आधारभूत र माविसम्म पुगेर सचेतनामूलक कार्यक्रम गरिएको स्वास्थ्य शाखा प्रमुख शिव अर्यालले जानकारी दिए ।

रामपुरस्थित कालीगण्डकी आँखा उपचार केन्द्रमा पछिल्लो तीन दिनयता आँखा पाकेर उपचार गराउन आउने बिरामीको संख्यामा केही कमी आएको छ । केन्द्रका प्रमुख सुन्दर रानाका अनुसार सोमबारसम्म ३ सय दैनिक आँखा पाक्ने रोगका बिरामी आएका थिए । मंगलबार २ सय ४०, बुधबार २ सय ३१ जना बिरामी आएका छन् । तानसेनस्थित आँखा अस्पतालमा पनि त्यस्ता बिरामीको संख्यामा केही कमी आएको सूचना अधिकारी जीवनाथ गैरेले बताए ।

प्रकाशित : श्रावण ३२, २०८० १३:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?