कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

पाल्पामा आँखा पाक्ने समस्या बढ्दै

अस्पतालमा उपचार गर्न आउने ६० प्रतिशत बढीमा कन्जङ्क्टिभाइटिस
माधव अर्याल

पाल्पा — पाँच दिनयता पाल्पाको तानसेन, रामपुरलगायत ग्रामीण भेगमा आँखा पाक्ने समस्या (कन्जङ्क्टिबाइटिस) अत्यधिक देखिएको छ । 

पाल्पामा आँखा पाक्ने समस्या बढ्दै

नेपाल नेत्र ज्योति संघअन्तर्गत पाल्पा लायन्स लाकौल आँखा अस्पताल, पाल्पा अस्पताल र रामपुरस्थित कालीगण्डकी आँखा उपचार केन्द्रमा उपचार गराउन आउने बिरामीमध्ये कम्तीमा ६० प्रतिशतमा यो समस्या देखिएको छ । पाल्पा लायन्स लाकौल आँखा अस्पतालमा पाँच दिनयता ५ सय बढीमा आँखा पाक्ने समस्या देखिएको सूचना अधिकारी जीवनाथ गैरेले जानकारी दिए । ‘विगतमा नियमित आउने बिरामीको संख्यामा अहिले दोब्बर भएको छ,’ उनले भने, ‘६० प्रतिशतभन्दा बढीमा आँखा रातो हुने र पाक्ने समस्या लिएर आएका छन् ।’

अस्पतालले आँखा पाक्ने, रातो भएर आउनेहरूबाट अन्यलाई नसरोस् भन्नका लागि छुट्टै रेड आई क्लिनिक सञ्चालन गरेको छ । यसबाट उपचार अलग्गै हुने गरेको छ । आँखा रातो भएर संक्रमित हुनेमा सबै उमेर समूहका रहे पनि बालबालिका बढी संक्रमित भएका छन् । ‘विद्यालयका विद्यार्थी बढी प्रभावित छन्,’ उनले भने, ‘यसले गर्दा परिवारमा नै यसको संक्रमण बढ्ने जोखिम बढी छ ।’

तानसेनका विद्यालयहरूका शिक्षक, विद्यार्थीमा यो समस्या लिएर उपचारका लागि आउने गरेका छन् । जनता मावि तानसेनका प्रधानाध्यापक कपिल कुंवरले होस्टेलमा यसको महामारी भएकाले विद्यार्थीलाई आराम गर्न लगाइएको छ । विद्यालयमा पनि फाट्टफुट्ट देखिएकाले सजग हुन र घरमै आराम गर्न आग्रह गरिएको उनले बताए ।

भुसालडाँडा मावि, सेन्ट कपितानियो लगायतका विद्यालयमा पनि यो समस्या बढेकाले उपचारका लागि आँखा अस्पतालमा आउने गरेका छन् । पाल्पा अस्पतालमा दैनिक उपचारमा आँखाको समस्या लिएर आउनेहरूमध्ये ५० प्रतिशतमा आाखा रातो हुने र पाक्ने समस्या देखिएको दृष्टि विशेषज्ञ धीरज कुमार चौरसियाले जानकारी दिए । उनका अनुसार पाल्पा अस्पतालमा दैनिक २० जनाको अनुपातमा आँखाका समस्या लिएर आउने गरेकामा पाक्ने र रातो हुने कम्तीमा १०/१२ जनामा देखिएको छ ।

रामपुर नगरपालिकास्थित कालीगण्डकी आँखा उपचार केन्द्रमा तीन दिनमा २ सय ९५ जनाको आँखा जाँच गर्दा १ सय ५७ जनामा रातो हुने र पाक्ने समस्या देखिएको प्रमुख सुन्दर रानाले जानकारी दिए । बुधबारदेखि रेड आई क्लिनिक नै संचालन गर्नुपर्ने अवस्था आएको उनले बताए । ‘बालबालिका बढी प्रभावित छन्,’ उनले भने, ‘यसका कारण अभिभावकमा पनि यसको संक्रमण बढ्ने देखिएको छ ।’ रामपुर क्षेत्रमा निजी क्लिनिकमा पनि आँखाको समस्या लिएर जानेको संख्या बढेको छ ।

पछिल्लो केही दिनयता अस्पतालहरूमा आँखा उपचार गर्न आउनेको संख्या दोब्बर भएको छ । आँखा पाक्ने रोगको संक्रमण दैनिक बढेसंगै उपचारका लागि अस्पताल पुग्ने बिरामीको संख्यासमेत बढेर औषधिको अभाव हुन लागेको लायन्स लाकौल आँखा अस्पताल तानसेन र रामपुरले जनाएको छ । रामपुरका प्रमुख रानाले केही औषधि तानसेनबाट माग आएर पठाएलगत्तै रामपुर क्षेत्रमासमेत बिरामीको संख्या हृवात्तै बढेको छ । ‘पाक्ने र रातो हुने सरुवा रोग हो,’ रामपुरका प्रमुख रानाले भने, ‘मौसम परिवर्तन हुने समयमा समस्या बढी देखापर्छ ।’ यसको संक्रमण एक सातासम्म रहने गर्छ । त्यसपछि पनि निको नभए थप संक्रमण हुन सक्ने जोखिम रहने भएकाले औषधि चलाउनु परेको पाल्पा लायन्स लाकौल आँखा अस्पतालका सूचना अधिकारी गैरेले बताए ।

प्रकाशित : श्रावण २४, २०८० १४:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?