कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तीन तहका सरकारबीच समन्वय नहुँदा सैनामैना चक्रपथ निर्माणमा ढिलाइ

बजेट विनियोजन र कार्यान्वयनमा संघले प्रदेश र प्रदेशले स्थानीय तहको मुख ताक्दा ५ वर्षमा सक्ने भनिएको ५५ किलोमिटर लम्बाइको सैनामैना चक्रपथ कहिले सकिने हो टुंगो छैन । 
अमृता अनमोल

बुटवल — बजेट र जिम्मेवारी अभावले रुपन्देहीको सैमामैनामा सुरु चक्रपथ निर्माण अलपत्र परेको छ । संघीय सरकारले सुरु गरेको योजना प्रदेशलाई हस्तान्तरण गरे पनि प्रदेशले स्थानीय तहलाई जिम्मा दिने वा काममा तदारुकता देखाउने नगर्दा समस्या भएको हो ।

तीन तहका सरकारबीच समन्वय नहुँदा सैनामैना चक्रपथ निर्माणमा ढिलाइ

बजेट विनियोजन र कार्यान्वयनमा संघले प्रदेश र प्रदेशले स्थानीय तहको मुख ताक्दा ५ वर्षमा सक्ने भनिएको ५५ किलोमिटर लम्बाइको सैनामैना चक्रपथ कहिले सकिने भन्नेबारे टुंगो छैन ।

सैनामैना नगरपालिकाले हेर्ने गरी आर्थिक वर्ष ०७३/७४ मा संघीय सरकारले ६९ करोड ६८ लाख ९९ हजार रुपैयाँ विनियोजन गरेर चक्रपथ निर्माण सुरु गरेको थियो । आर्थिक वर्ष २०७५/२०७६ देखि भने लुम्बिनी प्रदेश सरकार मातहत भौतिक पूर्वाधार विकास मन्त्रालयले काम गरेको छ । नगरपालिकालाई वरिपरिबाट छुने ५५ किलोमिटर लम्बाइको चक्रपथ २०७८ पुससम्ममा सक्ने लक्ष्य थियो । तर, २०८० जेठ सुरु हुँदासम्म काम सकिएको छैन । धिमा गतिको कामले बहुउपयोगी चक्रपथ कहिले कसरी सकिने हो, अन्योल छ । नगरप्रमुख फणीन्द्र शर्माले अप्ठ्यारो भूभाग र फरक-फरक किसिमको कामका कारण समय बढेको बताए ।

चुरे क्षेत्र हुँदै तराईका बस्तीमा सडकको पहुँच पुर्‍याउन, गाउँलाई बजारसित जोड्न, कृषि उपजको बजारीकरण गर्न र बुद्ध पुरातात्त्विक क्षेत्रले भरिपूर्ण सैनामैनामा ऐतिहासिक तथा पर्यटकीय क्षेत्रलाई सडक सञ्जालले जोडेर पर्यटन प्रर्वद्धन गर्न भन्दै चक्रपथ निर्माण थालिएको थियो । निर्माण लम्बिदा लागत थपिँदै गएको छ । ४१ किलोमिटर क्षेत्रमा शर्मा रमन जेभी कन्स्ट्रक्सन धनुषाले ४६ करोड १० लाख ६२ हजार रुपैयाँमा ठेक्कामा लिएको थियो ।

साढे ३३ किलोमिटर सडक निर्माण सकिँदा ५८ करोड ३३ लाख ९३ हजार रुपैयाँ खर्च भइसकेको छ । यसअन्तर्गत घमहा, सुखौली, बक्सड, इन्गुरिया र कञ्चन नदीमा पुल बनाइएको छ । तर, धिमा गतिको सडक निर्माण कहिले सकिने भन्नेबारे केही टुंगो छैन । तीन तहकै सरकारको तदारुकता नहुँदा ठेकेदारले काममा बेवास्ता गरेको छ । भौतिक विकास मन्त्रालय लुम्बिनी प्रदेशका प्रवक्ता भीमार्जुन आचार्यले भने‚ ‘नेपाली सेनाको क्षेत्र‚ वन क्षेत्रलगायतले ३८ किलोमिटर क्षेत्रमा मात्र काम गर्ने तय भएको र अन्तिम चरणमा प्रवेश गरेको बताए । ‘संघीयता कार्यान्वयनपछि संघीय योजना प्रदेशमा आउँदा बजेट विनियोजनको दर र जिम्मेवारी हेरफेरमा ढिलाइ हुँदा सडक निर्माण लम्बिएको हो । ३३ किलोमिटर सडक पिच नै भएको छ । अरुमा काम हुँदै छ,’ उनले भने ।

सडक बीचमा पर्ने करिब २ सय ५० रुखहरू काट्न, सडकछेउका घरहरू हटाउन, नेपाली सेनाको ब्यारेक क्षेत्रमा सडक पुर्‍याउन भएको अन्योलताले पनि चक्रपथ निर्माणमा ढिलाइ भएको हो । निर्माणमा भइरहेको ढिलाइले सडक सञ्जालबाट टाढाका नागरिकले विकासको अनुभूति गर्न पाएका छैनन् । स्थानीय मनरुपा विकले सडक निर्माण थालेर बिचमा रोकिँदा हिँडडुलमा अझ समस्या भएको बताइन् । ‘नगरभित्र बस्छौं पक्की सडकमा अझै हिंड्न पाएका छैनौं । सडक बनाउछौं भन्दै नेता आउँछन्‚ भोट मागेर जितेर जान्छन्,’ उनले भनिन्, ‘तर सडक बनाउँदैनन् । ’

चक्रपथकै १४ किलोमिटर सडकमा पुल निर्माणलगायत प्रारम्भिक काम गर्न ६ करोड २० लाख ११ हजार रुपैयाँमा सिद्धार्थ दर्शन ओम इन्फोटेक जेभी बुटवलले ठेक्का लिएको थियो । सैनामैना नगरपालिकालाई चारैतिरबाट घेरिएको चक्रपथ पूर्वमा बनकट्टाबाट सुरु भएर पश्चिम सालझण्डीसम्म, उत्तरमा चुरे क्षेत्र हुँदै दक्षिणमा लुम्बिनी सडकमा जोडिन्छ । यसले छिमेकी स्थानीय तह बुटवल, सियारी र सुद्धोधन जोड्ने पहुँच मार्गको समेत काम गर्छ ।

चक्रपथले निर्माणाधीन बुद्ध संग्रहालय, थारु होमस्टे, सैनामैना पुरातात्त्विक क्षेत्र, बोलबम धाम, लामिरहलगायत पर्यटकीय क्षेत्रलाई सडक सञ्जालमा जोडेको छ । यसर्थ विकासको ढोका खोल्ने बहुउपयोगी चक्रपथ निर्माण सम्पन्न द्रूत गतिमा गर्न तीनै तहका सरकारले तदारुकता देखाउन जरुरी रहेको पूर्वनगरप्रमुख चित्रबहादुर कार्कीले बताए ।

प्रकाशित : जेष्ठ २५, २०८० १९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?