कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुर्घटनाको डिलमा रहेको अर्थतन्त्रलाई सुधारेर यो अवस्थामा ल्याएँ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री दाहालले गरे लुम्बिनी केबुलकारको उद्घाटन
घनश्याम गौतम

रूपन्देही — प्रधानमन्त्री पुष्पकमल दाहालले आफू प्रधानमन्त्री बन्दै गर्दा दुर्घटनाको डिलमा रहेको अर्थतन्त्रलाई सुधार गरेर अहिलेको अवस्थामा ल्याएको पनि दाबी गरे ।

दुर्घटनाको डिलमा रहेको अर्थतन्त्रलाई सुधारेर यो अवस्थामा ल्याएँ : प्रधानमन्त्री दाहाल

आईएमई समूहको लगानी र प्रवर्द्धनमा बुटवलमा सञ्चालनमा आएको लुम्बिनी केबुलकारको उद्घाटन गर्दै बिहीबार प्रधानमन्त्री दाहालले दुर्घटनाको डिलमा रहेको अर्थतन्त्र सुधार गर्न निजी क्षेत्रको सहयोग आवश्यक रहेको पनि बताए । ‘म प्रधानमन्त्री बन्दै गर्दा देशको अर्थतन्त्र झन्डै-झन्डै दुर्घटनाको डिलमा थियो,’ उनले भने, ‘निजी क्षेत्रको सहयोग र सरकारको अधिकतम प्रयासले अर्थतन्त्रमा अहिले केही सुधार देखिन्छ ।’ देशको अर्थतन्त्रलाई चलायमान गराउने गतिविधिका हरेक योजनामा सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको उनले बताए ।

प्रधानमन्त्री दाहालले केबुलकारले लुम्बिनी आउने भारतीय पर्यटकलाई यस क्षेत्रमा बास बस्न र पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने बताए । लुम्बिनी केबुलकारले भारतसँगको सम्बन्धलाई पनि अझै उचाइमा पुर्‍याउने उनको दाबी थियो । प्रधानमन्त्री दाहाल बोल्नुअघि भारतको उत्तरप्रदेशका पूर्वमुख्यमन्त्री जगदम्बिका पालले बोलेका थिए । उनले नेपाल र भारतको सम्बन्ध संस्कृति र धार्मिकतासँग जोडिएको बताएका थिए । त्यसले पनि लुम्बिनी आउने उत्तर प्रदेशका जनतालाई बुटवलको केबलकारले आकर्षित गर्ने बताए । दुवै देशको सम्बन्ध जनस्तरको हुनुपर्ने उनको सुझाव थियो । प्रधानमन्त्री दाहालले पनि भारत भ्रमणले नेपाल र भारतको सम्बन्ध जनस्तरमा लैजानका लागि सहयोग भएको बताएका थिए ।

बुटवल उपमहानगरपालिका ३, गोलपार्कस्थित बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका ३ वसन्तपुर डाँडोलाई जोड्ने गरी निर्माण भएको केबुलकारमा निजी क्षेत्रको साढे ३ अर्ब लागनी छ । साढे दुई किलोमिटर दुरी रहेको लुम्बिनी केबुलकार लुम्बिनी प्रदेशकै पहिलो केबुलकार हो ।

लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले लुम्बिनी केबलकार सञ्चालनले वसन्तपुरमा नयाँ धार्मिक र पर्यटकीय गन्तव्य थपिएको बताए । उद्घाटन कार्यक्रममा रूपन्देहीको निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले लुम्बिनी केबुलकार र भैरहवाको अन्तराष्ट्रिय विमानस्थल सञ्चालनले बुटवल र सिंगो लुम्बिनी प्रदेशको धार्मिक पर्यटन र आर्थिक अवस्थामा परिवर्तन ल्याउने बताए । केबलकारको बटम स्टेसन समुद्री सतहबाट २ सय ३० र बटम स्टेसन ९ सय ४० मिटरको उचाइमा रहेको छ ।

प्रकाशित : जेष्ठ २५, २०८० १५:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?