कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सामुदायिक विद्यालय नयाँ विद्यार्थी भर्नाविहीन

मर्ज कि बन्दको अवस्था
शमशेरविक्रम जीसी

प्यूठान — विद्यार्थी खोज्न भएभरका उपाय लगाए । अभिभावका घरघर पुगे । आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना गराउन आग्रह गरे । उनको एक महिना विद्यार्थी खोजीमै बित्यो । गाउँका अग्रज र जनप्रतिनिधिलाई साथै लिएर उनले बिहान–साँझ घरघर चहारेका थिए । आफूले पढाउने विद्यालय विद्यार्थीविहीन भएर बन्द हुने अवस्थामा पुगेपछि यसरी घरघर पुगेर विद्यार्थी जम्मा गर्न खटिएको प्यूठान नगरपालिका–४ थापाडाँडास्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक हरिप्रसाद थपलियाले सुनाए ।

सामुदायिक विद्यालय नयाँ विद्यार्थी भर्नाविहीन

नयाँ शैक्षिक सत्रमा यस विद्यालयमा एक जना पनि नयाँ विद्यार्थी भर्ना हुन आएनन् । विद्यार्थी अभाव भएपछि विद्यालय बन्द हुने अवस्थामा पुगेको छ । २०१२ सालमा स्थापना भएको उक्त विद्यालयमा विद्यार्थी अभाव देखिएपछि नगरपालिकाले कक्षा कटौती गरेको थियो ।

‘गत वर्ष ५ कक्षासम्म पढाइ हुन्थ्यो,’ प्रधानाध्यापक थपलियाले भने, ‘यस वर्ष नगरपालिकाले कक्षा ३ सम्म झारिदियो ।’ एक्कासि कक्षा कटौतीको सूचनाले एक जना पनि विद्यार्थी भर्ना हुन नआएको उनको दाबी छ । ‘पहिलेदेखि विद्यालय मर्ज गर्ने चर्चा भइरहन्थ्यो,’ उनले भने, ‘अभिभावकले कक्षा कटौती गरिएको कुरा बुझ्नु भएन, विद्यालय बन्द भएछ भन्ने हल्ला गाउँमा पुग्यो ।’ कक्षा कटौतीको सूचनापछि विद्यार्थी आउनै छाडेको र अभिभावकले आफ्ना सन्तानलाई अन्तै भर्ना गरेको उनको तर्क छ ।

विद्यार्थी अभावमा विद्यालय बन्द गर्नुपर्ने भएपछि विद्यालय व्यवस्थापन समितिले विभिन्न निर्णय गरेको छ । सरकारी विद्यालय छाडेर निजीमा भर्ना भएका विद्यार्थी फर्काएर ल्याए सबै खर्च बेहोर्ने निर्णयसमेत गरिएको प्रधानाध्यापक थपलियाले सुनाए । ‘अन्त भर्ना हुँदा लागेको खर्च, एक वर्षलाई पुग्ने कापी–कलम र पोसाक विद्यालयले नै बेहोर्ने छ,’ उनले भने, ‘यतै भर्ना गराउनूस् भनेर अभिभावकलाई आग्रह गरिएको छ ।’ अभिभावकले आफूहरूका अघि हुन्छ भने पनि निजीबाट विद्यार्थी फिर्ता नल्याएको उनले सुनाए । कक्षा कटौती र निजीप्रतिको आकर्षणले यहाँका सामुदायिक विद्यालय बन्द हुने चिन्ता बढेर गएको हो ।

प्यूठान नगरपालिका–३ रातामाटाको बालमन्दिर आधारभूत विद्यालयमा पनि यस वर्षदेखि कक्षा ३ सम्म मात्रै पढाइ हुन थालेको छ । कक्षा ५ सम्म पढाइ हुँदै आएको विद्यालयमा यस वर्षदेखि तह घटुवा भएको विद्यालयका प्रधानाध्यापक लोकबहादुर विष्टले सुनाए । ‘सेवा क्षेत्र एउटै हो । विद्यालय बढे । विद्यार्थी बढेनन्,’ उनले भने, ‘अहिले कक्षा घटाइयो । विद्यालयमा पहिले ४५ जना विद्यार्थी भर्ना भएकामा अहिले घटेर १४ जना छन् ।’ बाल विकासमा ५ जना बालबालिका भर्ना भएका छन् भने बाँकी ९ जना तीनवटा कक्षामा भर्ना भएका हुन् ।

यहाँको जुर्मीदेखि दाखाक्वाडीसम्मको दुई किलोमिटर दूरीमा ५ वटा सामुदायिक विद्यालय छन् । तीमध्ये एक स्कुलमा मात्रै विद्यार्थी संख्या सन्तोषजनक रहेको विष्टले बताए । ‘सामुदायिक विद्यालयमा जताततै विद्यार्थी घटेका छन्,’ उनले भने, ‘आउँदा दिनमा अझ के हुने हो यसै भन्ने अवस्था छैन ।’

झिमरुक गाउँपालिकाभित्रका आधा दर्जन स्कुलमा विद्यार्थी भर्नामा समस्या रहेको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले बताए । ‘विद्यालय मर्ज गर्ने कि भनेर छलफलमा छौं,’ उनले भने, ‘विद्यार्थी नभएका विद्यालयमा शिक्षक बढी त कतै विद्यार्थी भएका विद्यालयमा शिक्षक अभाव हुँदा समस्या भइरहेको छ ।’ पहिले राम्रै चलेका विद्यालयहरू अहिले बन्द हुने अवस्थामा पुगेको उनले सुनाए । ‘गाउँमा बस्नै छाडियो,’ उनले भने, ‘सानातिना बालबच्चा पढाउन पनि सहर झर्ने प्रवृत्तिले समाजमा जरा गाडेको छ ।’ पति विदेश पुग्नासाथ श्रीमती बालबच्चा बोकेर सहर झर्ने हुँदा अधिकांश ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थी समस्या बढेको उनले बताए ।

जिल्लाको प्यूठान नगरपालिकाभित्र पनि आधा दर्जन बढी स्कुल विद्यार्थी समस्याले सञ्चालन गर्न कठिनाइ भइरहेको छ । नगरपालिकाको आँखैअघिको विद्यालय बन्द हुने अवस्थामा पुग्न सुखद नभएको प्यूठान–४ का वडाध्यक्ष रेशमबहादुर कार्कीले बताए । ‘नगरपालिकाको सुगम क्षेत्रमै यस्तो समस्या छ,’ उनले भने, ‘ग्रामीण क्षेत्रमा यो समस्या झनै विकराल छ ।’ नगरपालिकाले सबै सामुदायिक विद्यालयलाई सांकेतिक रूपमा गुणस्तर सुधार गर्न भनिसकेको नगरपालिकाका शिक्षा शाखा प्रमुख वासुदेव भट्टराईले बताए । ‘पहिलो चरणमा अति कम विद्यार्थी भएका विद्यालयमा तह कटौती गरेका छौं,’ उनले भने, ‘क्रमशः विद्यालय मर्जरको अभियानमा नगरपालिका छ ।’

विद्यार्थी अभाव झेल्दै आएका धेरै सामुदायिक विद्यालयमा विद्यार्थीभन्दा शिक्षकको संख्या बढी भएका उदाहरण थुप्रै छन् । बढ्दो बसाइँसराइ, जन्मदरमा आएको कमीलगायत कारणले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको प्यूठान नगरपालिकाको शिक्षा शाखाको तथ्यांक छ । नगरपालिकाले उपप्रमुखको संयोजकत्वमा शिक्षा सुधार समिति गठन गरेर विद्यालयको अनुगमन गरेको थियो । सहरी क्षेत्रका निजी विद्यालयमा विद्यार्थीको चाप बढेको देखाएको छ । ग्रामीण क्षेत्रमा बसाइँसराइले सामुदायिक विद्यालयमा विद्यार्थी अभाव हुँदै गएको शिक्षा शाखा प्रमुख भट्टराई सुनाउँछन् ।

विद्यार्थी अभाव यहाँका सबैजसो सामुदायिक विद्यालयमा देखिएको छ । समय अनुसारको शिक्षामा परिवर्तन नहुँदा विद्यार्थी निजीप्रति आकर्षित भएको शिक्षा विकास तथा समन्वय एकाइ प्यूठानका प्रमुख शिव पण्डितले बताए । ‘सामुदायिक विद्यालयले गुणस्तर सुधार्नुको विकल्प छैन,’ उनले भने, ‘नत्र धेरै विद्यालय बन्द हुने अवस्थामा पुग्नेछन् ।’ थापाडाँडाको विद्यालय बन्द हुने अवस्थामा पुग्नु सामुदायिक विद्यालयका लागि ठूलो चुनौती भएको र यसबाट अन्य विद्यालयले सुध्रिने मौका पाएको उनले बताए । माध्यमिक तहसम्मको शिक्षा सञ्चालनको जिम्मेवारी पाएको स्थानीय तहसँग ठोस योजना नहुँदा यस्ता समस्या देखिएको पनि उनले बताए । सामुदायिक विद्यालयमा विद्यार्थी कम हुनु र विद्यालय बन्द हुने अवस्थामा पुग्दा सरकारको लाखौं रुपैयाँ खेर जाने गरेको प्यूठान नगरपालिकाका प्रमुख विष्णुबहादुर योगीले बताए । ‘यो राम्रो संकेत होइन,’ उनले भने, ‘अब कसरी अघि बढ्ने भनेर छलफल गर्दैछौं ।’

विद्यार्थी समस्या बढेपछि २०७२ सालमा प्यूठानका १० वटा सामुदायिक विद्यालय मर्ज गरिएको थियो । करोडौं भौतिक संरचना बनिसकेका विद्यालय विद्यार्थी अभाव भएपछि बन्द गरिएको शिक्षा विकास तथा समन्वय एकाइ प्यूठानका प्रमुख पण्डितले जानकारी दिए । ‘विद्यार्थीहरू कम भएका र आर्थिक अवस्था कमजोर भएका विद्यालयलाई मर्ज गर्ने गरिएको हो,’ उनले भने, ‘अहिले त्यसको जिम्मेवारी स्थानीय तहलाई दिइएको छ । विद्यार्थी संख्या कम भएका विद्यालय मर्ज गर्नु या बन्द गर्नुको विकल्पै छैन ।’

प्रकाशित : जेष्ठ १८, २०८० १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?