कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिउँदे वर्षाले किसानलाई राहत

सिँचाइका लागि आकाशेपानीको भर हुने स्थानका हिउँदे बालीलाई फाइदा
माधव अर्याल

पाल्पा — हिउँदे वर्षा भएपछि पाल्पालगायत पहाडी जिल्लाका किसानमा खुसीयाली छाएको छ । पाल्पा, गुल्मी, अर्घाखाँचीलगायतका पहाडी जिल्लामा असोजपछि पानी नपर्दा किसान चिन्तित थिए । आइतबार रातिदेखि परेको वर्षाले किसानलाई राहत पुगेको कृषि ज्ञान केन्द्रकी वरिष्ठ कृषि विकास अधिकृत कामना अधिकारी भट्टराईले बताइन् ।

हिउँदे वर्षाले किसानलाई राहत

‘हिउँदे वर्षा ढिला भयो तर यसले किसानले लगाएका बालीमा क्षति पुग्दैन,’ उनले भनिन्, ‘अहिलेको पानी खेतीबालीका लागि पोषिलो हुन्छ ।’ हिउँदे वर्षा केही ढिला भएको छ । वर्षा ढिला हुँदा किसान चिन्तित थिए । पाल्पाका खेतबारीमा मकै लगाउने समय भइसकेको छ । ४९ हजार मेट्रिक टन मकै उत्पादन हुन्छ भने गहुँ ११ हजार मेट्रिक टन वार्षिक उत्पादन हुन्छ ।

किसानको खेतमा गहुँ पाक्न लागेको छ । गहुँ हावाहुरी नचलेका कारण क्षति भएको छैन । पहाडका टार, बेंसीमा तोरी र मसुरो स्याहार्ने बेला हो । किसानले तोरी स्याहारिसकेका छन् । १ हजार १ सय मेट्रिक टन तोरी जिल्लामा फल्ने कृषि ज्ञान केन्द्रले जनाएको छ । हिउँदे तरकारी र मकैलाई अहिलेको वर्षाले फाइदा पुग्छ । सिँचाइका लागि पानीको अधिक आवश्यकता थियो । हिउँदेबाली लगाएका किसान मारमा परेका छन् । गहुँ, जौ, मुसुरो, आलु, तोरीलगायत नगदे बालीलाई पर्याप्त आकाशे पानी नपर्दा उत्पादनमा असर गरेको कृषिविज्ञले जनाएका छन् । मकै, अदुवा, बेसारका साथै चैते धान लगाउन पनि मुस्किल भएको छ ।

खडेरीले खेतबारीमा मकै छर्न र चैते धान लगाउन राखेको मल सुक्न थालेको थियो । खोलानाला सुक्खा भएपछि किसान चिन्तित थिए । अघिल्ला वर्ष समयमा पानी पर्दा चैतको पहिलो साता जिल्लाका अधिकांश फाँटमा चैते धान लगाउनेको चटारो भइसक्थ्यो । ‘विभिन्न समस्याले गर्दा चैते धान लगाउनेको संख्या पनि घट्दै गएको छ,’ पूर्वखोला गाउँपालिका–३, रिङनेरहका भीमबहादुर जर्घामगरले भने, ‘पानी मात्र होइन, मल र खेताला पाउनै समस्या छ ।’

किसानले मकै लगाउनुका साथै अदुवा, बेसार रोप्ने समय भइसकेको छ । लामो समयदेखि पानी नपर्दा खेतबारीमा राखेको मल सुक्न थालेकामा पानी पर्दा खुसी मिलेको निस्दी गाउँपालिका–४ मित्याल भीरपानीका गमबहादुर गाहाले बताए । भोकमरी हुन्छ कि भन्ने डरले सताउन थालेको अवस्थामा हिउँदे वर्षा भएकाले खुसी लागेको उनले बताए ।

लामो समयदेखि पानी नपर्दा गाउँका अग्ला डाँडामा बनाएका प्लास्टिक पोखरी रित्तै भएका थिए । पानी नपर्दा खोलानाला सुक्खा भएका थिए । अधिकांश किसानलाई आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ । हिउँदे वर्षा भएपछि उत्पादन घट्ने चिन्ता पनि हटेको निस्दी–४, मित्याल भीरपानीकै तमसरी बयम्बुले बताइन् । पाल्पामा १ लाख ३६ हजार ५ सय ९५ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको छ । कृषि ज्ञान केन्द्रका अनुसार कुल खेतीयोग्य जमिन ५७ हजार १ सय ७२ हेक्टरमध्ये ३६ हजार ५ सय ८७ हेक्टरमा खेती गरिन्छ ।

जिल्लामा ८ हजार ८ सय ५ हेक्टर खेतमा वर्षायाममा सिँचाइ सुविधा उपलब्ध छ । वर्षैभरि ३ हजार ९ सय ३४ हेक्टर क्षेत्रफलमा सिँचाइ हुन्छ भने मौसमी सिँचाइ ४ हजार ८ सय ७१ हेक्टरमा गर्न सकिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका वरिष्ठ कृषि विकास अधिकृत दीपक भट्टराईले बताए । हुँगी, रामपुर, दर्छा, खालीवन, गेझा, अर्गली, कचललगायत गाउँमा लगाइएका आँप, लिचिलगायतका फलफूललाई समेत अहिलेको वर्षाले फाइदा पुग्ने उनले बताए । हावाहुरी र असिना नचलेकाले नोक्सान पुगेको छैन ।

प्रकाशित : चैत्र ८, २०७९ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?