शिविरको भरमा दुर्गमको स्वास्थ्य सेवा- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शिविरको भरमा दुर्गमको स्वास्थ्य सेवा

धेरै गाह्रो नभएसम्म गाउँमै सहेर बस्ने प्रवृत्ति, यौन तथा प्रजननसम्बन्धी समस्या भएका १ हजार महिलाको उपचार
माधव अर्याल

पाल्पा — निस्दी गाउँपालिका–१ बाँकामलाङकी ८३ वर्षीया पुलिसरा सारु मगरको आङ खस्ने समस्या भएको ३० वर्षभन्दा बढी भइसक्यो । गाउँमा विशेषज्ञ शिविर आएपछि बल्ल उपचार गराइन् । बच्चा जन्माएपछि भारी बोक्ने, गह्रौं काम गर्ने, ठूला गाग्रीमा पानी बोक्ने गर्दा तल्लो पेट दुख्न थालेको उनले सुनाइन् ।

पाल्पाको निस्दी–६ अर्चलेमा आयोजित यौन तथा प्रजनन स्वास्थ्य शिविर ।

दुर्गम गाउँ, विशेषज्ञ तथा दक्ष चिकित्सकको अभाव, उपचारका लागि रकम अभाव, यातायात असुविधाले वर्षौंदेखि रोगका विषयमा कसैलाई नभनेकी हुन् । ‘धेरै वर्ष भयो तल्लो पेट दुख्ने समस्या भएको,’ उनले भनिन्, ‘अहिलेसम्म गाउँमा यस्ता शिविर नै आएका थिएनन् । रामपुर गएर देखाएको हो तर जाँच गरेर पनि औषधि खाएर निको भएन ।’

निस्दी–६ अर्चलेकी ७१ वर्षीया फूलमाया खन्गाहा २५ वर्षदेखि तल्लो पेट दुख्ने समस्याले पीडित थिइन् । गाउँमै उपचार नहुँदा रोग लुकाएर बस्नु परेको उनले सुनाइन् । उनको पनि शिविरमै उपचार गराइन् । ‘गाउँमा यस्ता शिविर आएकै थिएनन्,’ उनले भनिन्, ‘यौन तथा प्रजनन रोगका विषयमा डाक्टर आउने थाहा पाएर आएकी हुँ ।’ निस्दी गाउँपालिकाको स्वास्थ्य शाखाले नेपाल परिवार नियोजन संघ पाल्पा शाखाको प्राविधिक सहयोगमा दक्ष चिकित्सकसहित गाउँमै राखेको यौन तथा प्रजनन स्वास्थ्य शिविरमा सारु र खन्गाहाले उपचार पाएका हुन् ।

धेरै वर्षपछि गाउँमै उपचार पाएकामा दुवै जना खुसी भए । पाठेघरको मुखको क्यान्सर भीआईए जाँच गराउन पाएको खन्गाहाले बताइन् । ‘बच्चा पाउँदा धेरै ख्याल गरिएन,’ उनले भनिन्, ‘गाउँमा उपचार पाउन समस्या छ । तैपनि, स्वास्थ्य चौकी र रामपुर पुगेर धेरै औषधि खाएको हो । अहिलेसम्म यसको सही उपचार पाउन सकेकी थिइनँ । उपचार सफल भयो भने धेरै खुसी मान्नेछु ।’ निस्दी गाउँपालिका स्वास्थ्य शाखाले वडा–वडामा राखेको यौन तथा प्रजनन स्वास्थ्य शिविरले झण्डै १ हजार महिलाले सेवा पाएका छन् ।

ज्येष्ठ महिलाले मात्र होइन, किशोरीहरू पनि यौन तथा प्रजनन स्वास्थ्य शिविरबाट लाभान्वित भएका छन् । सानो उमेरमै विवाह गर्ने प्रचलन रहेको निस्दीमा २० वर्ष मुनिकाले पनि वडा–वडामै धेरै सुविधा पाएको बताए । ज्यामिरेकी १७ वर्षीया दुमिसरा दर्लामीले इम्प्लान्ट राख्ने सुविधा पाइन् । ‘१५ वर्षमै विवाह गरेकी थिएँ,’ उनले भनिन्, ‘अहिले गर्भवती हुन चाहेको थिइनँ । यस्तो शिविर हामीले पाएकै थिएनौं ।’ गाउँका स्वास्थ्य चौकीमा तालिम प्राप्त र दक्ष चिकित्सकको अभाव छ । लामो अवधिका अस्थायी परिवार नियोजन राख्ने र निकाल्ने समेत स्वास्थ्यकर्मी छैनन् ।

दुर्गमका अधिकांश महिलामा तल्लो पेट दुख्ने, पाठेघर खस्ने समस्याले लामो समयदेखि पीडित भएर बस्नु परेको भेटिएको नेपाल परिवार नियोजन संघका शाखा प्रबन्धक सोवाकान्त न्यौपानेले बताए । शिविरमा रिङ, प्रेसरी राख्न पाएकाले महिला खुसी भएको उनले बताए । ‘१४/१५ वर्षमै विवाह गर्ने र २० वर्षभित्र दुई/तीनवटा बच्चा पाउने समस्या रहेछ,’ उनले भने, ‘त्यस्ताका लागि यस्ता विशेषज्ञ शिविरले धेरै फाइदा पुगेको छ ।’ स्थानीय सरकार जनताको घरदैलोमा पुग्ने मान्यताले नै यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी शिविर वडावडामा राखेको हो ।

गाउँटोलमै पुगेर सेवा दिँदा महिलाले लुकाएर राखेका रोग बताउन सकेको र पहिचान भएर औषधि उपचार गर्न पाएको उनले बताए । पाठेघरको मुखको क्यान्सर भीआईए परीक्षण, पाठेघर खसेकामा रिंग प्रेसरी राख्ने, महिलाको सेतो पानी बग्ने तथा यौन रोग समस्याको उपचार, परिवार नियोजनका साधन आयूसीडी र इम्प्लान्ट राख्ने तथा झिक्ने सुविधा पाएका हुन् । परिवार नियोजन संघका डा. राकेशलाल बज्राचार्य, स्टाफ नर्स चाँदनी श्रेष्ठ र सिनियर अनमि सरस्वती पन्थीले सेवा प्रदान गरेका थिए ।

शिविरमा महिलाका लागि अस्थायी साधन ५ वर्ष अवधिको इम्प्लान्ट ९३ जनाले राखेका छन् । २८ जनाले पहिले नै राखेको निकालेका छन् । १२ वर्ष अवधिको आईयूसीडी २१ जनाले राखेका छन् । चार जनाले निकालेका छन् । प्रजनन स्वास्थ्यतर्फ महिलाहरूको पाठेघरको क्यान्सर सम्भावना परीक्षण ४ सय ५२ जनाले गरे । जसमा ३२ जनामा पोजेटिभ देखिएको छ । २७ जनामा महिलामा आङ खस्ने समस्या देखिएको छ । २५ जनालाई रिङ पेसरी राखिएको छ ।

परीक्षणका क्रममा १८ जनाको पाठेघरको मुखमा मासु पलाएको भेटिएको छ । एक जनामा फिस्टुलाको समस्या पाइएको छ । १ सय ६१ जनाको यौन रोग संक्रमणको उपचार गरिएको छ । शिविरमा अन्य १ सय ४५ जनाले सामान्य परीक्षण गराएका छन् । १ सय ५ जनाले प्रयोगशाला सेवा लिएको स्वास्थ्य शाखा संयोजक दिशा मगरले जानकारी दिए । परिवार नियोजन सेवातर्फ १४ जना पुरुषले स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी) सेवा लिएका छन् ।

स्वास्थ्य संस्थासम्म पुगेर रोगको जाँच नगराउँदा अकालमा ज्यानैसम्म जाने समस्या देखिएको गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले बताए । सामान्यतः वृद्ध महिला, महिनावारी बन्द भएका मात्र होइन, २५ देखि ३० वर्षकालाई पाठेघर खस्ने समस्या देखिएको छ । महिलाले रोग लुकाएर बस्ने, परीक्षण नै गर्न लाज मान्ने, अप्रेसन गर्न डराउने, रिङ प्रेसरी राख्न पनि झन्झट मान्ने गरेका पालिकाकी उपाध्यक्ष तिरनकुमारी श्रेष्ठले बताइन् ।

प्रकाशित : चैत्र ४, २०७९ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्

म्याद थपेको थप्यै, काम सुस्त

सप्तरीका १४ वटा यो जनामा पटक–पटक म्याद थप भए पनि काम नसकिएपछि निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी
अवधेशकुमार झा

राजविराज — सप्तरीको राजविराजस्थित मुख्य सडक हो, सिरहा रोड । नेताचोकदेखि पश्चिमतर्फको उक्त सडकलाई राममन्दिरसम्म पक्की बनाउन काम थालेको तीन वर्ष पुग्यो । सुरुवातको सम्झौताअनुसार २०७७ पुसमै सडक बनिसक्नुपर्ने हो । तर, तोकिएको समय ग्रुजेर तीन पटक म्याद थप्दा पनि निर्माण सकिएको छैन । 

सप्तरीमा निर्माणाधीन आयोजनाको अवस्था बुझाउने एउटा उदाहरण हो, यो । यो सडकको कामको जिम्मा निर्माण कम्पनी कान्छाराम/डाँफे जेभीले लिएको छ । उक्त सडक मात्र नभई यिनै निर्माण कम्पनीले जिम्मा लिएका सप्तरीका अन्य १४ वटा योजनामध्ये एकाधबाहेक सबैको अवस्था उस्तै छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय राजविराजसँग दुईवटा प्याकेजमा सम्झौता गरी जिम्मा लिएका ती आयोजना तोकिएको मितिमा नसकिएपछि पटकपटक म्याद थप भएको छ । तर, म्याद थप गर्दा पनि निर्माण कम्पनीले काम नसकेपछि भने कार्यालयले कालोसूचीमा राख्ने तयारी गरेको छ ।

कान्छाराम–डाँफे जेभीले ९ वटा र डाँफे–कान्छाराम–देव एन्ड सायर जेभीले ५ वटा आयोजनाका लागि ठेक्का पाएका हुन् । ती आयोजनाको कुल लागत ७४ करोड ४८ लाख रुपैयाँ छ । मुख्य सहरी पूर्वाधार योजनाअन्तर्गत राजविराजको साबिक वडा नम्बर ९ बसपार्क र वडा नम्बर ५ प्रवेश मार्ग, पडरिया उत्तर जाने सडक र नाला, साविक वडा नम्बर २ लोरिक चोकदेखि उतर कञ्चनपुर सडकसम्म र पूर्व डुमरी शिवथानसम्मको सडक र नाता, नेताचोकदेखि पूर्व साइकृष्ण अस्पताल हुँदै रामदेव यादवको घरसम्म र राजदेवी मन्दिरको उत्तरतर्फ पूर्व जाने बाटोमा अहमद टोल हुँदै पम्प कनाल नहरसम्म सडक र नाला निर्माण गरी ५ वटा योजनाको सम्झौता २०७४ पुस १६ मा भएको थियो ।

डाँफे–कान्छाराम–देब एन्ड सायर जेभीले २९ करोड रुपैयाँमा ठेक्का पाएका थिए । २०७७ साउन २० मा काम सक्ने सम्झौता भएको थियो । उक्त अवधिमा काम नसकिएपछि तेस्रो पटकसम्म म्याद थप भएको छ । पछिल्लो म्याद यही चैत ३० सम्म छ, तर काम सकिने छाँटकाँट छैन ।

यस्तै, राजविराजकै गीता पम्पदेखि अध्यारी पम्पसम्म, उपयोगी पुस्तक पसलदेखि राजदेबी मन्दिरसम्म, मलेठ नहरदेखि पम्प हाउस हुँदै झल्ही नहरसम्म, डा. मुरली सिंहको घर नजिकको सडक, बोरियादेखि खर्साल टोलसम्म, खर्साल टोल राजबाबुको घर हुँदै कर्ल्भट सडक, एनटीसी १ सडक, एनटीसी २ सडक, मदननगरभन्दा उतर र झल्ही टोलको सडक गरी ९ वटा योजना निर्माणको जिम्मा कान्छाराम/डाँफे जेभीले पाएका थिए ।

२०७४ पुस २८ मा ३५ करोड ४८ लाख रुपैयाँमा सम्झौता भएको थियो । २०७७ पुस २७ सम्म काम सक्ने म्याद तोकिएको थियो । तर, तेस्रो पटक म्याद थप्दा पनि ती योजना पूरा भएका छैनन् । पछिल्लो म्याद यही चैत ३० मा सकिँदै छ ।

निर्माण कम्पनीलाई काम छिटो सक्न ताकेता गर्दै पटकपटक पत्राचार गरे पनि अटेर गरेको सघन सहरी तथा भवन निर्माण आयोजनाले जनाएको छ । गत फागुन २९ मा निर्माण कम्पनीलाई पत्राचार गरी कालोसूचीमा राखी कारबाही अघि बढाउने चेतावनी दिएको आयोजना प्रमुख सचिन्द्रकुमार देवले जानकारी दिए । उनका अनुसार ७ दिनभित्र कामलाई तीव्रता दिन म्याद दिइएको छ । त्यसो नभएमा आयोजनाको नाममा जारी गरेको कार्य सम्पादन तथा अग्रिम जमानत झिकाउने पत्रमा उल्लेख छ ।

आयोजना प्रमुख देवले अब पनि निर्माण कम्पनीले अटेर गरे सार्वजनिक खरिद ऐन २०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४ बमोजिम सम्झौता तोडी कालोसूचीमा राख्ने बताए । निर्माण कम्पनीका इन्जिनियर सुभास चौधरीले विविध कारणले निर्माणमा ढिलाइ भएको स्विकार्दै कामलाई तीव्रता दिने दाबी गरे ।

प्रकाशित : चैत्र ४, २०७९ ०९:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×