लुम्बिनी एमालेको प्रमुख सचेतकमा चौधरी र सचेतकमा शर्मा- लुम्बिनी - कान्तिपुर समाचार

लुम्बिनी एमालेको प्रमुख सचेतकमा चौधरी र सचेतकमा शर्मा

सरकार विस्तारको तयारीमा मुख्यमन्त्री गिरी
घनश्याम गौतम

रूपन्देही — लुम्बिनी प्रदेशसभामा नेकपा एमालेले तुलसी चौधरीलाई प्रमुख सचेतकको रुपमा चयन गरेको छ। बुधबार नेकपा एमालेको दाङको देउखुरीमा बसेको प्रदेश संसदीय दलको बैठकले प्रदेशसभाको प्रमुख सचेतकमा चौधरी र सचेतकमा दाङकी रेखा शर्मालाई चयन गरेको हो ।

चौधरी रुपन्देहीको निर्वाचन क्षेत्र नं. ३ (१)बाट दोस्रो पटक निर्वाचित हुन् । उनी यसअघि मन्त्रीका दावेदारको रुपमा चिनिएका थिए । रेखा शर्मा भने समानुपातिकबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

यससँगै लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आफ्नो सचिवालय विस्तार गरेका छन् । गिरीले प्रमुख राजनीतिक सल्लाहकारमा एमाले पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेलाई नियुक्त गरेका छन्। यसअघि उनले प्रमुख स्वीकय सचिवमा कृष्ण कुमाल, स्वकीय सचिवमा अमृत गिरी र प्रेस संयोजकमा टीका बस्नेतलाई नियुक्त गरेका थिए ।

सरकारका प्रवक्ता एंव मन्त्री चेतनारायण आचार्यका अनुसार मुख्यमन्त्री गिरीले सचिवालय विस्तारसँगै सरकार विस्तारको पनि तयारी गरेका छन्। शुक्रबारसम्म सरकार विस्तार हुने बताइएको छ । सरकार विस्तारका लागि मुख्यमन्त्री गिरी माओवादी केन्द्र र अन्य संवाद गरिरहेका छन् ।

प्रकाशित : माघ २५, २०७९ १८:०७
प्रतिक्रिया
पठाउनुहोस्

अन्तर्राष्ट्रिय वायु सेवाहरुको संस्था एओसीएन अध्यक्षमा श्रेष्ठ 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा अन्तर्राष्ट्रिय उडान गर्नेमध्येका २७ वटा वायुसेवाहरुको व्यवसायिक संगठन ‘एयरलायन्स अपरेटर्स कमिटी नेपाल(एओसीएन)’ को अध्यक्षमा अबित श्रेष्ठ चुनिएका छन् । उनी क्याथे प्यासेफिक एयरवेजका लागि काठमाडौं विमानस्थल प्रमुख हुन् ।

हालै चितवनमा सम्पन्न वार्षिक साधारणसभाले उपाध्यक्षमा कतार एयरवेजका विमानस्थल प्रवन्धक अर्पण दवाडी, महासचिवमा फ्लाई दुबईका नरनारायण पकवान, कोषाध्यक्षमा कोरियन एयरका निमित्त विमानस्थल प्रवन्धक कमलजंग तिवारीलाई चुनेको छ ।

त्यसैगरी सदस्यमा टर्किस एयरकी प्रवन्धक रेसु सिंह, इन्डिगोका प्रवन्धक धर्मेन्द्र शर्मा, हिमालय एयरलायन्सका विमानस्थल प्रमुख सुशिल बस्नेत, नेपाल वायुसेवा निगमका प्रवन्धक मुकेशमान प्रधान, ड्रयुक एयरका उपप्रवन्धक सुमानमान श्रेष्ठ, कुबेत एयरवेजका प्रवन्धक रुपेश कुमार झा र एयर चाइनाका संदीप पराजुली चुनिएका छन् । एओसीएनमा पदाधिकारीहरुको कार्यकाल दुई वर्षको हुन्छ ।

प्रकाशित : माघ २५, २०७९ १७:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×