बागेश्वरी मन्दिरमा महाआरती- लुम्बिनी - कान्तिपुर समाचार

बागेश्वरी मन्दिरमा महाआरती

रुपा गहतराज

नेपालगन्ज — धार्मिक पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा महाआरती आयोजना गरिएको छ । शक्तिपीठका लागि निकै महत्त्वपूर्ण मानिने महाआरती बागेश्वरीमा पहिलो पटक आयोजना गरिएको हो ।

नाट्टा बाँके च्याप्टर नेपालगन्ज र वेष्टर्न ट्राभल मार्ट नेपालको आयोजना एवम् नेपालगन्ज उपमहानगरपालिका र बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिको सहकार्यमा महाआरती गरिएको हो । सोमबार महाआरतीमा नेपालगन्जका नगरप्रमुख प्रशान्त विष्ट र उनकी पत्नी रेखा विष्ट प्रमुख कर्ताका रुपमा थिए । सर्वसाधारणको उल्लेख्य उपस्थितिमा गरिएको महाआरती उल्लासपूर्ण देखियो ।

नगरप्रमुख विष्टले बागेश्वरी मन्दिरमा अब प्रत्येक सोमबार महाआरती गर्ने गरी नेपालगन्ज उपमहानगरपालिकाले सहयोग गर्ने बताए । उनले महाआरतीलाई नियमित रुपमा सञ्चालन गर्न आफू प्रतिबद्ध रहेको बताए ।

‘यसलाई मासिक दुई पटक निरन्तरता दिइने छ,’ नगर प्रमुख प्रशान्त विष्टले निरन्तर सहयोगको प्रतिबद्धता व्यक्त गर्दै भने, ‘सहयोग र समन्वय जुट्दै गयो भने दैनिक हुनसकोस् भन्ने चाहना छ ।’

यस्तै उनले जुंगे महादेवसम्मको पुललाई पुनर्निर्माणका लागि टेण्डर भइसकेको जानकारी दिँदै बागेश्वरी परिसरको छेउमै रहेको गौशाला हनुमानगढी नजिक १ सय ८ फिटको हनुमान मूर्ति बनाउने काम छिट्टै सुरु हुने बताए ।

नाट्टा अध्यक्ष श्रीराम सिग्देलले महाआरतीलाई नियमित गर्न सरोकारवाला सबै पक्षको इमान्दार सहयोग रहने विश्वास व्यक्त गरे । उनले धार्मिक पर्यटन प्रवर्द्धनमा यसले ठूलो सहयोग पुग्ने बताए ।

पश्चिम नेपालको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा पहिलोपटक नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा माघ १५ गते महाआरती गरिएको थियो । नाट्टा बाँके च्याप्टरको पहल र प्रयासमा बागेश्वरी मन्दिर व्यवस्थापन गुठीले आयोजना गरेको महाआरतीका लागि नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको छ । बागेश्वरीलाई धार्मिक पर्यटकीय दृष्टिले महत्त्वपूर्ण गन्तव्यका रूपमा लिँदै नाट्टा बाँके च्याप्टरले पर्यटकीय आकर्षणका लागि महाआरतीको परिकल्पना गरेको बताइएको छ ।

प्रकाशित : माघ २४, २०७९ २१:०२
प्रतिक्रिया
पठाउनुहोस्

फागुन ७ र ८ मा सातौं युवा वैज्ञानिक सम्मेलन

कान्तिपुर संवाददाता

काठमाडौँ — फागुन ७ र ८ गते काठमाडौंमा सातौं युवा वैज्ञानिक सम्मेलन हुने भएको छ । नेपाल पोलिमर इन्स्टिच्युट र युनिग्लोब कलेजले आयोजना गर्न लागेको सम्मेलनमा कक्षा ८ देखि १२ सम्मका युवा अनुसन्धानकर्ताहरुले भाग लिने छन् ।

सो सम्मेलनमा युवा वैज्ञानिकहरुले पाँच विभिन्न विधाहरूमध्ये कुनै एकमा आफ्नो अनुसन्धान कार्य प्रस्तुत गरी प्रतिस्पर्धा गर्न छन् । जसमा इन्जिनियरिङ तथा रोबोटिक्स, जीव विज्ञान, रसायन तथा पर्यावरण विज्ञान, भौतिक विज्ञान, र तथा गणित र कम्प्युटर विज्ञान (आर्टिफिसियल इन्टेलीजेन्स समेत) रहेको आयोजकहरुले जनाएका छन् ।

हरेक विधामा युवा अनुसन्धाताले आफ्नो अनुसन्धानलाई संक्षिप्त लिखित सारांश, छोटो भिडियो, पोस्टर तथा मौखिक प्रवचनको रूपमा प्रस्तुत गर्नेछन् । शीर्ष विजेताहरू सन् २०२३ नोभेम्बर २७ देखि डिसेम्बर १ सम्म मेक्सिकोको हर्मोसिलो, सोनोरामा आयोजना हुने १२औं एसिया प्यासिफिक युवा वैज्ञानिक सम्मेलन' मा सहभागिताका लागि आवेदन दिन योग्य हुने आयोजकले जनाएको छ ।

प्रकाशित : माघ २४, २०७९ २०:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×