पर्यटन विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री गिरी

तिलोत्तमा — लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मुलुकको पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रले महत्त्वपूर्ण योगदान दिएको बताएका छन् । उनले अर्थतन्त्र विकासको मुख्य आधारमध्ये पर्यटन क्षेत्र एक भएको भन्दै निजी क्षेत्रले यसमा खेल्दै आएको भूमिकाको प्रशंसा गरे ।

सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिको २५ औं वार्षिक उत्सव समारोहमा बोल्दै मुख्यमन्त्री गिरीले लुम्बिनी प्रदेश सरकारले पनि कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधारसँगै पर्यटन क्षेत्रलाई पनि मुख्य प्राथमिकतामा राखेर काम गर्ने बताए ।
‘आगामी दिनमा पर्यटन क्षेत्रमा मुलुकका धेरै नागरिक सामेल हुनेछन् । त्यसमा पनि लुम्बिनी प्रदेशवासीको ठूलो योगदान रहनेछ,' मुख्यमन्त्री गिरीले भने ।
पछिल्लो समय पर्यटन क्षेत्रमा केही समस्या देखिएको भन्दै उनले प्रदेश सरकारले निजी क्षेत्रका समस्या समाधान गर्दै दिगो विकासमा ध्यान दिने बताएका थिए ।
‘निजी क्षेत्रबाट लगानी थपिइरहेको छ, पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि रात्रिकालीन बजारको आवश्यकता छ’, उनले भने, ‘यसबारेमा प्रदेश सरकारले पनि महशुस गरेको छ ।'
पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खँंणले सिद्धार्थ ग्रुपले आर्थिक तथा पर्यटन विकासमा अनुकरणीय तथा उल्लेखनीय कार्य गर्दै आएको बताए । पछिल्लो समय आफू गृहमन्त्री हुँदा पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि राति १२ बजेसम्म रेष्टुरेण्ट तथा पसल खोल्न पाउनुपर्छ भन्ने नीतिगत तथा मन्त्रिपरिषद्बाट निर्णय गराएको र यसले व्यवसायीमा उत्साह ल्याएको पनि गिरीले बताए ।
प्रकाशित : माघ २४, २०७९ २०:३१