कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जलजलामा तीन पालिकाको दाबी

चर्चित धार्मिक तथा पर्यटकीय स्थल भएकाले आफ्नो पालिकामा पार्न प्रयास
काशीराम डाँगी

रोल्पा — रोल्पाको चर्चित धार्मिक स्थल जलजला लामो समयदेखि सीमा विवादमा जकडिएको छ । जलजला रोल्पा नगरपालिकासहित थबाङ र सुनछहरी गाउँपालिकाको सीमामा पर्छ । तीनै पालिकाका जनप्रतिनिधिले जलजला आ–आफ्नो क्षेत्रमा पर्ने दाबी गर्दै आएकाले सीमा विवाद बढेको हो । 

तीन वटै स्थानीय तहमा दुईपटकको निर्वाचनमा नेकपा माओवादी केन्द्रका नेताले जितेका छन् । अघिल्लो पटकको निर्वाचनमा रोल्पा नगरको प्रमुखमा पूर्ण केसी, सुनछहरी र थबाङ गाउँपालिका अध्यक्षमा क्रमशः आशबहादुर पुन र वीरबहादुर घर्ती विजयी भएका थिए । त्यस अवधिमा विवाद मिलाउने प्रयास गरे पनि टुंगोमा पुग्न सकेन ।

पछिल्लो अवधिमा सबै तहमा नयाँ प्रतिनिधि निर्वाचित भएका छन् । हाल छलफल नगरिए पनि पुरानै विवादका कारण सबै प्रतिनिधि अलमलमै छन् । दोस्रोपटकको स्थानीय तहको निर्वाचनबाट रोल्पामा सुरेन्द्र घर्तीमगर नगर प्रमुख चुनिएका छन् । यस्तै थबाङ र सुनछहरीमा क्रमशः ऋषिकेशव बुढामगर र धनबहादुर पुनमगर अध्यक्षमा निर्वाचित भएका छन् । अहिलेसम्म जलजला क्षेत्रको विवादका बारेमा छलफल भएको छैन ।

२०४६ सालपछि यस क्षेत्रको विवाद सुरु भएको हो । विवाद उत्पन्न भएपछि २०५३ मा स्थानीयको सहमतिमा चरिचरण बन्द गरिएको थियो । त्यसयता यस क्षेत्रको वन जंगल विस्तार भएको हो । त्यसअघि जलजलामा वस्तुभाउ चराउन पाइन्थ्यो । विवाद चर्कंदै गएपछि सशस्त्र संघर्षरत माओवादीले तत्कालीन रोल्पाका सचिव रहेका नेता वर्षमान पुनको संयोजकत्वमा जलजला क्षेत्र छलफल एवं विवाद समाधान समिति गठन गरेको थियो । पुन पटक–पटक सरकारमा पुगे पनि जलजलाको विवाद टुंग्याउनेतर्फ भने ध्यान नदिएको स्थानीयको गुनासो छ ।

समुद्र सतहदेखि ३ हजार १ सय मिटरको उचाइमा रहेको जलजला मुख्यतः धार्मिक क्षेत्र हो । यहाँ वर्षको तीनपटक पूजाआजा हुन्छ । पर्या पर्यटनको उद्देश्यले पनि यो क्षेत्र रमणीय छ । गुरिल्ला ट्रेल र गुराँसे जंगलको नामले चिनिएको जलजलामा विभिन्न खालका जडीबुटीदेखि लोपोन्मुख रेड पान्डासमेत पाइन्छ । वर्षमा तीनपटक बराहको पूजाआजा हुने जलजलाको सबैभन्दा बढी भूभाग साबिकको जेलबाङ गाविसमा पर्ने दाबी छ, सुनछहरी गाउँपालिकाको । जेलबाङ हाल सुनछहरीभित्र पर्छ ।

वर्षको वैशाख, जेठ र साउने पूर्णिमाका दिन जलजलामा रहेका बराह मन्दिर र भामापुपु गुफामा हजारौं उपस्थित हुने भव्य मेला लाग्ने चलन छ । हाल ठूलो आम्दानी थबाङले लिंदै आएको छ । बर्सेनि गरिने बराह पूजाआजाबाट संकलन गरिएको भेटी रकम थबाङले एकलौटी आम्दानीका रूपमा संकलन र प्रयोग गर्दै आएको हो ।

रोल्पा नगरका निवर्तमान प्रमुख पूर्ण केसीका अनुसार पर्यटकीय एवं धार्मिक विकास गर्ने नै हो भने जलजला प्रवेशको मुख्य द्वार लिबाङलाई बनाउनु आवश्यक छ । यहींबाट विकासको ढोका खोल्नुपर्ने उनको ठहर छ । यसैगरी जलजलाको खास क्षेत्रफल कति भन्ने विषयमा अध्ययन हुन र विवाद सुल्झाउन लागिपर्नु पर्ने उनको सुझाव छ । जलजलासँग जोडेर सरकारले उहिल्यैदेखि नै ‘गुरिल्ला ट्रेक’ र धार्मिक पर्यटनको विकास अघि सार्ने योजना नसुनाएको होइन । मुलुकका १ सय गन्तव्य क्षेत्रमा यसलाई राखेको घोषणा गरे पनि थप विकासका लागि योजना ल्याइएको छैन । तर कम्युनिस्टहरू पटक–पटक सरकारमा पुगे पनि त्यसबारे गतिलो सोच अघि बढाएको देखिंदैन ।

स्थानीय मगरहरूले जलजलामा निकै अघिदेखि बराह पूजा गर्दै आएका छन् । जलजलामा मन्दिर, पोखरी तथा गुफाको पुनःनिर्माण गरिएको छ । जलजला क्षेत्रको पर्यटकीय विकास गर्न सरकारले गैरसरकारी संस्थामार्फत ठूलो रकम खर्चेको छ । जलजलामा बराह पूजा गर्ने क्रममा हजारौं भेडाको बलि दिने परम्परा छ । पूजामा सहभागी भएका मानिसले चढाएको भेटी (रकम) पनि लाखौं हुने गरेको छ । उक्त आम्दानीबाट थबाङका थुप्रै विद्यालयको खर्च जुटाउने गरिएको छ । बराह मन्दिरका पुजारीमा भने थबाङकै रोकामगर थर भएकालाई मात्रै नियुक्त गर्ने परम्परा छ ।

जलजला धार्मिक र पर्यटकीय क्षेत्र भए पनि तत्कालीन माओवादीले यसलाई सशस्त्र युद्धसँग पनि जोडेको थियो । माओवादीका पूर्वकार्यकर्ता रहेका रोल्पा नगरका निवर्तमान प्रमुख पूर्ण केसीले जलजलाको महत्त्व धार्मिक रूपमा भन्दा ‘युद्ध रणनीति’ का हिसाबले बुझ्न सकिने बताए । माओवादी लडाकुले सामरिक महत्त्वको जलजलामा तालिमसमेत सञ्चालन गरेका थिए ।

जलजलामा पाटनका साथै जंगलका बीचमा ठूलठूला चौर छन् । युद्धको अवधिमा जलजलामा पूजाआजा रोकिएको थियो । उक्त क्षेत्र सामरिक महत्त्वको समेत मानिन्छ । जलजलामै रहेको लडाकु तालिम केन्द्रमै केन्द्रित रहेर तत्कालीन लडाकु कमाण्डर एवं हालका उपराष्ट्रपति नन्दबहादुर पुनको नेतृत्वमा म्याग्दी आक्रमणको योजना बनाइएको थियो ।

प्रकाशित : माघ २, २०७९ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?