कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

खोर सुधार गर्दै व्यावसायिक बाख्रापालन

प्रकाश बराल

बागलुङ — परम्परागतभन्दा आधुनिक खोर बनाएर बाख्रा पाल्दा यहाँका किसानलाई सुविस्तासँगै आम्दानी वृद्धि भएको छ । खोर सुधार गरेकालाई भएको सजिलो देखासिकी गर्दै बाख्रापालन बढ्दै छ ।

खोर सुधार गर्दै व्यावसायिक बाख्रापालन

जैमिनी नगरपालिका-१० राङखानीकी अस्मिता रानाले दुई वर्ष अघिसम्म परम्परागत खोरमा १० वटा बाख्रा पालेकी थिइन । सबै बाख्रा अटाउन सजिलो थिएन । खोर सफा गर्न पनि सास्ती थियो । खोर आधुनिक बनाएपछि उनले बाख्रा संख्या ३० पुर्‍याएकी छन् । सफा र आधुनिक खोरले बाख्रा पनि स्वस्थ छन् ।

खोर अग्लो भएकाले मल निकाल्न सजिलो छ । ६ फिट अग्लो गोठमाथि काठले बारेको आधुनिक खोर बनाएर पाल्दा बाख्राको उत्पादन समेत राम्रो भएको उनको भनाइ छ ।

खोरभित्र मल जम्मा नहुने, हावा खेल्ने र पाठापाठी, माउ र बोकाको छुट्टाछुट्टै कोठामा राख्ने व्यवस्थापन गर्दा उनका बाख्रा मोटा र खाइलाग्दा पनि देखिएका छन् । चार वर्ष अघिसम्म उनले ५/७ वटा मात्रै बाख्रा पाल्थिन् । अहिले आधुनिक खोरमा संख्या पनि बढाइन् । लगानी बढाउँदा उनको आम्दानी पनि बढेको छ ।

राङखानीकै यामबहादुर थापाको खोरमा अहिले ५० वटा बाख्रा छन् । उनले पनि अग्लो, हावा खेल्ने र पाठापाठी, बोका र माउ बाख्राको छुट्टै कोठा बनाएर पालेका छन् । चार वर्षदेखि राङखानीमा मात्रै ३० बढी किसानले आधुनिक खोर बनाएर बाख्रा पाल्न थालेका छन् ।

गत आर्थिक वर्ष मात्रै जिल्लाभरमा १ सय ७५ वटा आधुनिक खोर बनेर किसानले बाख्रा पाल्न थालेको तथ्यांक छ । यसरी पाल्दा उत्पादन बढेको छ । बाख्रामा रोगको समस्या पनि नभएको थापाले बताए । ‘हामीले नजानेर साँघुरो खोरमा सबैलाई राखेर पाल्थ्यौं, त्यसरी पाल्दा उत्पादन लिनै सकिएन‚’ उनले भने, ‘अहिले उत्पादन पनि बढेको छ, बाख्रा पनि स्वस्थ छन् ।’ यसरी पाल्दा ५० प्रतिशतभन्दा बढी फाइदा कमाउन सकिएको उनले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बागलुङ कार्यालयले किसानलाई तालिम र अनुदान दिएर व्यवस्थापन सिकाएपछि बागलुङमा मात्रै १ सय ७५ भन्दा बढी आधुनिक खोर बनिसकेको कार्यालयका प्रमुख सुजित पौडेलले बताए । ‘हामीले एउटा खोरमा २ लाख रुपैयाँ अनुदान र प्राविधिक ज्ञान दिएका छौं‚’ पौडेलले भने, ‘आधुनिक खोरले किसानकै उत्पादन बढेको छ ।’

उनका अनुसार किसानको उत्पादनले खसीबोकामा जिल्ला आत्मनिर्भर बन्ने तयारीमा पुगेको छ। बाख्रा जोन कार्यक्रममार्फत बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र बरेङ गाउँपालिका छनोट भइ ती स्थानका किसानलाई व्यवसायिक बनाउँदा मासुमा आत्मनिर्भर बन्ने अवस्था आएको उनले बताए ।


परियोजनामार्फत बागलुङमा अघिल्लो आर्थिक वर्ष १ करोड १२ लाख र गत वर्ष १ करोड १८ रुपैयाँ किसानको आधुनिक खोर निर्माणमा लगानी भएको हो । कृषि सहकारी र व्यक्तिगत रुपमा समेत दर्ता गरेर फर्म चलाएका ५ वटाभन्दा बढी बाख्रा पालेका किसानलाई खोर निर्माणमा अनुदान दिइएको हो । अनुदान दिएका खोरबाट गत आर्थिक वर्ष बागलुङमा २१३.१३ मेट्रिकटन मासु उत्पादन भइ २१ करोड रुपैयाँ किसानको हातमा पुगेको तथ्यांक छ । बागलुङको परियोजना लक्षित क्षेत्रमा मात्र २१ लाख ३० हजार केजी मासु उत्पादन भएको पौडेलले बताए ।

छिटपुट रुपमा बोयर र बिटल जातका बाख्रा पालिए पनि अधिकांश किसानले स्थानीय खरी र जमुनापारी जातका पालेका छन् । पशु आहारा व्यवस्थापन, पशु स्वास्थ्य र बजारीकरणमा पनि परियोजनाले लगानी गरेको हो । भेटेनरी अस्पताल तथा पशु विज्ञ सेवा केन्द्र बागलुङका प्रमुख ऋषिराम सापकोटाले मासुको उत्पादनले जिल्लामा पुग्ने अवस्था आएको बताए ।

एक वर्षदेखि खसीबोका आयात नभएको र बरु धेरै किसानले बेचेर कमाइ गरिरहेका छन्‚’ सापकोटाले भने, ‘यकिन तथ्यांक आइनसकेपनि अब बागलुङ आत्मनिर्भर भएर बेच्ने अवस्थामा पुगिसकेको छ ।’

गलकोट नगरपालिका र बडिगाड गाउँपालिकाका किसानले बाहिरी जिल्लामा पनि बाख्रा बेच्न थालेका हुन् ।

प्रकाशित : आश्विन २०, २०८० १६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?