२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३८

टेकोकै भरमा स्वास्थ्यचौकी

सेवाग्राही भन्छन्, ‘भत्केर पुरिन्छ कि भन्ने डर हुन्छ’
दीपक परियार

पोखरा — ढुंगा र माटोको गारो चर्किएका छन् । ढुंगाले छाएको छानोलाई अड्याउन ठाउँ–ठाउँमा टेको लगाइएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ सैंतीघट्टमा रहेको बिरामी जाँच्ने थलो ल्वाङघलेल स्वास्थ्य चौकी आफैं घाइते जस्तै देखिन्छ ।

टेकोकै भरमा स्वास्थ्यचौकी

२०४५ मा निर्मित तत्कालीन गाविसस्तरीय स्वास्थ्यचौकीको तीनकोठे भवन जीर्ण भएको छ । माछापुच्छ्रे–९ इमोकी ३८ वर्षीया कृष्णकुमारी गुरुङ घर नजिकैको स्वास्थ्यचौकी पुग्न डराउँछिन् । ‘भवन पुरानो छ । छानोलाई पनि बाँसको टेकोले धानेर राखेको छ,’ उनले भनिन्, ‘जाँच्न जाँदा पनि कतै भत्किएर पुरिन्छ कि भन्ने डर हुन्छ ।’

भवनको अवस्थाले गर्दा सेवाग्राही समेत घटेको स्वास्थ्यचौकी प्रमुख सुशील न्यौपाने बताउँछन् । उनका अनुसार हाल दैनिक १०–१२ जना बिरामी मात्रै स्वास्थ्य जाँचको लागि आउँछन् । अधिकांश पोखरा पुग्छन् । पक्की भवन नहुँदा बर्थिङ सेन्टर सञ्चालन हुन सकेको छैन । कार्यालय पनि साँघुरो छ । ‘छानो झर्नै लागेको छ । हावाहुरी लाग्दा अन्तै गएर बस्नुपर्छ,’ उनले भने, ‘भवन नहुँदा गर्भवतीलाई दिनुपर्ने सेवा दिन सकिएको छैन ।’ स्वास्थ्यचौकीको सुरक्षा समेत भरपर्दो नहुँदा कम्प्युटर, औषधि, उपकरण लगायत महँगा सामग्री चोरी हुने डर रहेको उनले बताए ।

बर्थिङ सेन्टरका सामग्री भने छिमेकी वडा नम्बर ८ को कार्यालय लुम्रेमा राखिएको छ । स्वास्थ्यचौकीमा एक हेल्थ असिस्टेन्ट, एक सिनियर अनमी, एक अनमी, एक सिनियर अहेब र एक कार्यालय सहयोगी गरी ५ जना कर्मचारी छन् । उक्त स्वास्थ्यचौकी माछापुच्छ्रे मोडल ट्रेकअन्तर्गत पदमार्गमा पर्छ । पदयात्रामा निस्कने विदेशी तथा आन्तरिक पर्यटकले स्वास्थ्यचौकीबाट लाभ लिन्छन् ।

स्वास्थ्यचौकीको जीर्ण संरचना देखेर नै गुणस्तरीय कर्मचारी आउन नमानेको माछापुच्छ्रे–९ का वडाध्यक्ष राजेन्द्र क्षत्री बताउँछन् । ‘यहाँको भूगोल पनि विकट छ । समुदाय पनि साक्षर छैनन् । स्वास्थ्यप्रतिको सचेतना पछि कम छ,’ उनी भन्छन्, ‘यस्तो ठाउँमा स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने हो । तर, न भवन गतिलो छ, न गुणस्तरीय कर्मचारी पठाइन्छ ।’ उनका अनुसार चालु आर्थिक वर्षमा १० लाख रुपैयाँमा खर्च गरेर स्वास्थ्यचौकी रहेको जग्गा सम्याइएको छ । ६ रोपनीभन्दा बढी जग्गामा मापदण्डबमोजिम नयाँ भवन बनाउन पुग्छ ।

भवन जीर्ण भएकोले सेवा प्रवाह प्रभावित भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज दाहाल स्वीकार्छन् । ‘भवन देखेर सेवा लिने बिरामीको आकर्षण कम भएको छ,’ उनी भन्छन्, ‘स्थायी दरबन्दीका कर्मचारी अध्ययनका लागि जाने, करारमा राखिएका कर्मचारीमा जिम्मेवारीबोध नहुने समस्या पनि छ ।’

गाउँपालिका अध्यक्ष मिनबहादुर गुरुङले उक्त पुरानो भइसकेकोले मर्मत नगरी नयाँ नै बनाउनुपर्ने बताउँछन् । भवन बनाउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेर संघ र गण्डकी प्रदेश सरकारलाई बुझाएको उनले बताए । ‘२ करोड ४० लाख रुपैयाँ इस्टिमेट गरेर डीपीआर बुझाएका छौं,’ उनले भने, ‘आगामी वर्ष बजेट छुट्टियो भने नयाँ भवन बनाउँछौं ।’

प्रकाशित : वैशाख ३१, २०८० १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?