ऐन संशोधन गर्दै प्रदेश सरकार- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ऐन संशोधन गर्दै प्रदेश सरकार

कान्तिपुर संवाददाता

कास्की — गण्डकी प्रदेशसभाको पाँचौं वार्षिकोत्सवको अवसरमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमानले भनेका थिए, ‘हतारमा कानुन बनायौं, कार्यान्वयन गर्न सकेका छैनौं ।’

गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय । फाइल तस्बिर : कान्तिपुर

संघीयता कार्यान्वयन भएसँगै स्थापना भएको प्रदेश संरचना व्यवस्थित बनाउन प्रदेश सरकारले धमाधम ऐन बनायो । आवश्यकता र छलफलबिनै ल्याएका ऐन कार्यान्वयनमा गएनन् । अहिले तिनै ऐनलाई कार्यान्वयन गर्न भन्दै सरकारले संशोधन गर्ने भएको छ ।

एमालेका पृथ्वीसुब्बा गुरुङ नेतृत्व सरकारले धमाधम ऐन बनाएको थियो । सरकार सञ्चालनका लागि पहिलो चरणमा ऐन संशोधन गर्नुपर्ने प्रदेशसभाका संस्थापक सदस्य मोहनप्रसाद रेग्मीले बताए । ‘जनताका समस्या सम्बोधन गर्न कानुन निर्माण गर्नैपर्थ्यो । पहिला बनेका कानुन थिएनन् । नयाँ संरचना नयाँ कानुन निर्माण गर्दै काम गर्नुपर्ने भएका सरकारले कानुन निर्माणलाई प्राथमिकता दियो,’ उनले भने, ‘पहिलो कार्यकालमा हतारमा बनाइएका ऐन दोस्रो कार्यकालमा संशोधन गर्दै कार्यान्वयन गर्नुपर्छ ।’ ३४ वटा ऐन संशोधनको लागि प्रदेश सरकारले मंगलबार प्रदेशसभा सचिवालयमा ‘केही गण्डकी प्रदेश कानुन संशोधन गर्न बनेको विधेयक’ दर्ता गरेको छ ।

अघिल्लो सरकारले उक्त ऐन दर्ता गराए पनि पारित हुन नसकेको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयका अनुसार ऐनमा देखिएका त्रुटि, नाम सच्याउन उक्त संशोधन प्रस्ताव पेस गरिएको थियो । संशोधनका लागि तत्कालीन कानुन तथा सञ्चारमन्त्री बिन्दुकुमार थापाको संयोजकत्वमा समितिसमेत गठन भएको थियो । त्यही समितिले तयार पारेको प्रस्ताव त्यसै समय संसद्मा लगिएको थियो ।

त्यससमयको विधेयकमा अहिले केही थप गरेर दर्ता भएको प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए । उनका अनुसार प्रदेशसभामा अहिले विधेयकमाथि छलफल गर्ने विधायनलगायत कुनै पनि संसदीय समिति गठन छैनन् । दर्ता विधेयकमा प्रदेशसभा सचिवालय ऐनको संशोधन थप गरिएको छ । जसमा प्रदेशसभा सचिवको उमेर हदसम्बन्धी प्रावधानमा हेरफेर गरिएको छ ।

अहिलेको ऐनअनुसार प्रदेशसभा सचिवको उमेर हद ६० वर्ष रहेकोमा थपेर ६५ वर्ष प्रस्ताव गरिएको छ । सचिव हरिराज पोखरेल यही चैतमा ६० वर्ष पुग्ने भएकाले उनलाई उक्त पदमा टिकाइराख्न ऐन संशोधन गर्न लागिएको स्रोतले जनाएको छ ।

प्रकाशित : माघ २६, २०७९ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्

तीन वर्षदेखि खुलेन ताक्लाकोट नाका

मनोज बडू

दार्चुला — तीन वर्षदेखि बन्द पश्चिम नेपालको ताक्लाकोट नाका अहिलेसम्म खुलेको छैन । नाका बन्द भएपछि यहाँका व्यवसायी मर्कामा परेका छन् । ६ महिना ताक्लाकोट बजारमै बसेर व्यापार गर्ने दार्चुलाका स्थानीय व्यवसायी चीनले नाका बन्द गरेपछि जान पाएका छैनन् ।

नाका नखुल्दा त्रिदेशीय रूपमा व्यापार गर्दै आएका व्यवसायी समस्यामा परेका हुन् । जिल्लाका सबैजसो बजारमा चीनबाट ताक्लाकोट भएर भित्रिने चिनियाँ सामान खोज्ने ग्राहकहरू धेरै छन् । तीन वर्षदेखि ताक्लाकोटबाट चिनियाँ सामान ल्याउन नसक्दा बजारमा चिनियाँ वस्तु उपलब्ध हुन नसकेको स्थानीय दानसिह तिंकरीले बताए । चीनसित जोडिएका अन्य उत्तरी नाका खोल्न पहल भए पनि दार्चुलासितको नाका सञ्चालनका लागि कुनै पहल नभएको स्थानीय व्यापारीहरूले गुनासो गरेका छन् । तीन वर्षदेखि चीनले नाका बन्द गर्दा वर्षको ६ महिना ताक्लाकोट पुगेर व्यापार गर्ने व्यापारीहरू मर्कामा परेको ब्यास गाउँपालिका–१ का जितसिह बोहराले बताए । ताक्लाकोट नाका बन्द भएपछि त्यहाँ विभिन्न व्यवसाय गर्दै आएका नेपाली व्यवसायीको आयस्रोतको बाटो बन्द भएको छ ।

विगतमा ताक्लाकोटबाट भन्सार पास नहुदा नेपाल–चीनको व्यापार बन्द भए पनि दार्चुलाको व्यासका स्थानीयले ताक्लोकाट बजारमै ६ महिना व्यापार व्यवसाय गर्दै आएका थिए । कोरोना आएपछि ताक्लाकोट बजार जान नपाउँदा अहिले तीन वर्षदेखि व्यापार व्यवसाय नै ठप्प रहेको व्यापारी विमलकुमार बोहराले बताए । दार्चुलाका तांक्लाकोट बजारका धेरै व्यवसायीले पसलमा राखेको सामानको अवस्थासमेत थाहा पाउन सकेको छैनन् ।

व्यास गाउँपालिका–१ छाङ्रु र टिंकरका अधिकांश परिवारसहित ताक्लाकोटमा व्यापार गरिरहेकाहरू थिए । लामो समयदेखि व्यापार बन्द भएपछि धेरैजसोको जीविकामै समस्या परेको छ । ‘ताक्लाकोट जान नपाएको तीन वर्ष पुग्दै छ । पसलमा भएको सामानमा मुसा लागेर नोक्सानी भएको होला’ उनले भने, ‘नाका बन्द हुँदा ठूलै घाटा लागेको छ ।’ वैशाखदेखि कात्तिक महिनासम्म यहाँका स्थानीय ताक्लाकोट बजारमा व्यवसाय गर्दै आएका थिए ।

पुस्तौंदेखि यहाँका स्थानीयका व्यापार यात्रा तीन वर्षदेखि कोरोनाले रोकिएको छ । २०७६ मंसिरमा नेपाल आएका उनीहरू कोरोना संक्रमणको जोखिमका कारण चीनले नाका बन्द गरेपछि ताक्लाकोट फर्किन पाएका छैनन् । भाडामा लिएको पसलमा ताल्चा लगाएर नेपाल आएका व्यवसायीहरू ताक्लाकोट नाका कहिले खुल्ला र पहिलेजस्तै व्यवसाय चलाउला भनेर कुरिबसेका छन् ।

चिनियाँ सिमावर्ती बजार ताक्लाकोट जोड्ने बाटो छैन । बाटो नभएका कारण ताक्लाकोटबाट हुने दार्चुला व्यापार सुन्यमा झरेको लामो समयदेखि तांलाकोटको गुत्गाउँमा व्यापार गर्दै आएका टिंकरका स्थानीय दानसिंह तिंकरी बताउँछन् । उनका अनुसार नेपाली व्यावसायीहरूले ताक्लाकोटमा होटल, नेपाली उत्पादनका पसल, काठका भाडाकुडा, हाते होजियारीका सामान, नेपाली गलैंचा, बास, निगालो, छाला र अन्य हस्तकलाका सामानको वर्षौंदेखि व्यापार गर्दै आएका थिए । मह, घिउ, छुर्पी, खुर्सानी, टिमुर र जडीबुटीलगायत नेपालमा उत्पादित कृषिजन्य दैनिक उपभोग्य सामानको व्यापार पनि हुँदै थियो ।

सन् २०१४ अगाडिसम्म भारत–चीन नाकामा भन्सारको व्यवस्था थिएन् । चीनको त्रिदेशीय नाका क्षेत्रमा हुने व्यापार भारत चीन सरकारले गरेको व्यापार सम्झौतापछि भारतसँग बढेको छ । नेपालसंँग विगतमा हुने गरेको व्यापार पछिल्लो समय बन्द हुन पुगेको हो । यहाँका भारतसित सीमा जोडिएका नेपाली बजारमा ५/७ वर्षअघिसम्म चिनियाँ रेडिमेड सामान खासगरी कपडाको राम्रो बजार थियो । अहिले धेरै घटिसकेको छ । नेपाली बजारमा चिनीया सामान किनमेलका लागि आउने भारतीय ग्राहक ६०/७० प्रतिशतले कमी आएका हुँदा सीमावर्ती बजार खस्कँदो अवस्थामा रहेको बडूले बताए ।२०६९ सम्म भारतीय बाटो प्रयोग गरी खलंगामा भन्सार काटेर भए पनि ताक्लाकोटको सामान भित्रिएको थियो ।

हालका वर्षमा दार्चुला सदरमुकाम खलंगादेखि छाङरुसम्मको घोरेटो बाटो बन्द भएदेखि ताक्लाकोटबाट कुनै किसिमको सामान नेपाल नभित्रिएको खलंगा छोटी भन्सारका कर्मचारी बताउँछन् । देशका अन्य उत्तरी सीमाका जिल्लाका चीनसित जोडिएका अन्य नाकाबाट व्यापार सुरु भए पनि पश्चिम नेपाल दार्चुलासित जोडिएको ताक्लाकोट नाका सञ्चालनका लागि कुनै किसिमको जानकारी नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित : माघ २६, २०७९ ०९:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×