कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३७

हेटौंडा उपमहानगरको सहयोगमा उत्पादित गुन्द्रुक बजारमा

प्रताप विष्ट

हेटौंडा — हेटौंडा उपमहानगरपालिकाको सहयोगमा उत्पादन थालिएको गुन्द्रुक अब बजारमा जाने भएको छ । हेटौंडा उपमहानगरपालिका–१२ घलेगाउँस्थित कञ्चनजंघा कृषि सहकारी संस्था लघु उद्यमी उत्पादन थालेको अर्गानिक गुन्द्रुकको वजारीकरणका लागि अनुज्ञापत्र प्राप्त गरेपछि बजारमा पठाइने भएको हो । 

हेटौंडा उपमहानगरको सहयोगमा उत्पादित गुन्द्रुक बजारमा

लघु उद्यमीहरूले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि उपयुक्त भएको भन्दै हेटौंडा स्थत खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुज्ञापत्र दिएको सोमबार उपमहानगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । उपमहानगरको लगानीमा सञ्चालन गरिएको तालिमबाट उद्यममा लागेको साना व्यवसायीमध्ये गुन्द्रुक उद्योगले पहिलो पटक सरकारी गुणस्तरको मान्यताप्राप्त गरेको छ ।

मान्यता प्राप्त गरेसँगै जिल्लाभित्र र बाहिरी सहरमा बिक्रीका लागि बाटो खुलेको छ । करिब चार महिना लामो परीक्षण र निगरानीपश्चात खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गुन्द्रुक प्रयोगका लागि योग्य रहेको भन्दै अनुज्ञा पत्र दिएको उपमहानगरपालिका उद्योग शाखाका प्रमुख हिमप्रसाद पौडेलले बताए । उपमहानगरपालिकाको १ लाख रुपैयाँबाट सुरु गरेको अर्गानिक साग उत्पादन गरी बनाएको गुन्द्रुकले बजारीकरणका लागि स्वीकृत पाउँदा आफूहरू निकै खुसी भएको उद्यमी समूहका अध्यक्ष चिनीमाया गुरुङले बताइन् ।

नगरको पैसा र सहकारीको ८० हजार रुपैयाँबाट १५ कठ्ठा जमिन भाडामा लिएर साग लगाई गुन्द्रुकको उत्पादनमा लागेको उनले बताइन् । अनुज्ञापत्र नहुँदा बजारमा लैजान नपाएर गाउँमै अहिले करिब ३ लाख रुपैयाँबराबरको गुन्द्रुक घरमै राखेको उनले जानकारी दिइन् ।

गत असोजमा कामका लागि सम्झौता गरेसँगै समूहले मंसिरबाट गुन्द्रुकको उत्पादन थालेका थिए । उपमहानगरले ८ सय जनाभन्दा बढीलाई विभिन्न प्रकारका तालिम दिए पनि अहिले २६८ जना उद्यममा जोडिएका छन् ।

हेटौंडामा उत्पादन भएको गुन्द्रुकको बजारीकरणमा उपमहानगरपालिकाले सहयोग गर्ने नगर प्रमुख मीनाकुमारी लामाले बताएकी छन् । उद्यमी समूहलाई अनुज्ञापत्र हस्तान्तरण गर्दै उनले हेटौंडा बजारसहित अन्य सम्भावना भएका क्षेत्रमा गुन्द्रुकको बजारीकरणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

प्रकाशित : चैत्र २६, २०८० १४:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?