कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

हेटौंडाका दुवै अदालतमा महिला न्यायाधीश

प्रताप विष्ट

हेटौंडा — वाग्मती प्रदेशको राजधानी हेटौंडास्थित दुई अदालतका न्यायमुर्तिहरु महिला रहेका छन् । न्यायसम्पादन गर्ने न्यायमुर्तिहरुमात्र महिला होइनन्, अदालतका अधिकाश कर्मचारीहरु पनि महिला रहेका छन् । हेटौंडामा उच्च अदालत पाटन हेटौंडा इजलाश र जिल्ला अदालत मकवानपुरसमेत गरी २ वटा अदालत रहेका छन् ।

हेटौंडाका दुवै अदालतमा महिला न्यायाधीश

यी दुई अदालतको सम्पुर्ण न्यायसम्पादन महिला न्यायामुर्तिहरुबाट भइरहेको छ । कुनै पनि कार्यालयको प्रमुख भन्ने वितिक्कै जो कोहीलाई पनि मानसपटलमा पुरुषको तस्बिर आउने गर्छ । मकवानपुरका दुई अदालतमा त्यस्तो परम्परागत सोचाइले मेल खादैन । महिलाहरुको नेतृत्व राजनीतिक, शैक्षिक क्षेत्रमा मात्र होइन, न्यायिक क्षेत्रमा पनि क्रमश: बढ्दो छ ।

नेपालमा सात वटा उच्च अदालत छन् । जसमा अस्थायीसमेत गरी १८ वटा इजलासहरू छन् । उच्च अदालत पाटन हेटौंडा इजलास मात्रै यस्तो इजलास हो, जहाँ सबै न्यायाधीश र रजिस्ट्रारसमेत महिलाहरु मात्रै छन् । महिलाहरूको टिमवर्क र कामको रफ्तार रहरलाग्दो भएको कानुन व्यवसायीहरुको ठम्याइ छ ।

उच्च अदालत हेटौंडा इजलाशमा न्यायाधीशहरू यमुना भट्टराई,शान्त सेडाई सापकोटा, शकुन्तला घिमिरे, मेरिना श्रेष्ठ, मीना गौतम सेडाई, निर्मला शाक्य र सानुमाया डंगोल रहेका छन् ।

प्रशासनतर्फ रजिस्ट्रार पनि महिला नै छिन । रजिष्ट्रार रामप्यारी सुनुवारले आफ्नो जिम्मेवारी कुशलतापुर्वक निर्वाह गरिरहेकी छिन । उच्च अदालत पाटन हेटौंडा इजलाशमा न्यायाधीश र रजिष्ट्रारमात्र होइन, अदालतमा रहेका कर्मचारीमध्ये ७१ प्रतिशत महिला कर्मचारी छन् । अदालतमा अहिले ४६ कर्मचारी छन् । तीमध्ये ३३ जना महिला कर्मचारी कार्यरत छन् ।

उच्च अदालत पाटन इजलाशमामात्र न्याय सम्पादन महिलाले गरिरहेका होइनन, जिल्ला अदालत मकवानपुरको न्याय सम्पादन पनि महिलाहरुले गरिरहेका छन् । जिल्ला अदालतमा अहिले तीन जना महिला न्यायमुर्ति रहेका छन्  ।

यसअघि २ महिला र एक पुरुष न्यायमुर्ति रहेका थिए । पुरुष न्यायाधीश श्रीप्रसाद सन्जेलको सरुवा भएपछि उनको स्थानमा रौतहट अदालतवाट पुर्णिमा कोईराला सरुवा भएर मकवानपुर अदालतमा खटिएकीछिन । कोइरालाको उपस्थितीपश्चात जिल्ला अदालत मकवानपुरको न्यायसम्पादनको नेतृत्व महिलाहरुले गरिरहेका छन् । सर्वोच्च अदालतले नमुनाको रुपमा उच्च अदालत पाटन हेटौंडा इजलाश र जिल्ला अदालत मकवानपुरमा न्यायाधिशहरु महिला पठाएको छ ।

महिलाहरुले नेतृत्व गरेको अदालतहरुको न्यायसम्पादन र काम कारवाही अझ राम्रो हुने ठम्याईका साथ नमुनाको रुपमा यी दुई अदालतमा महिला न्यायाधीशहरु खटाएको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले भने,‘ महिला न्यायाधीशहरु विवादमा आउनु भएको छैन र न्यायसम्पादनमा सरल र सहज भएको छ ।’ मुलुकमा अहिले ४३ जना महिलाहरु न्यायाधीश छन् । जसमध्ये १० जना मकवानपुरस्थित २ वटा अदालतमा नै कार्यरत छन् ।

महिलाहरुले गर्ने न्याय सम्पादनमा झनबढी परिपक्वता र व्यावहारिक परिणामको अपेक्षा राखिने गरिएको छ र अहिलेसम्म व्यवहार पनि त्यस्तै देखिएको यहाँका कानुन व्यवसायीहरुको टिप्पणी छ । महिलाहरुको न्यायसम्पादनमा बाह्य प्रभाव अत्यन्त कम पर्ने उनीहरु ठम्याई छ ।

जिल्ला बार एसोसिएसन अध्यक्ष अप्सरा बस्नेतले पनि महिला न्यायाधीशको न्याय सम्पादन प्रभावकारी र व्यावहारिक भएको टिप्पणी गरिन । 'न्याय सम्पादनमा महिला र पुरुषको भन्ने सवाल हुन्नँ, तर महिलाले गरेको काममा अलि बढी गाम्भीर्यता र संवेदनशीलता पक्कै हुन्छ,' अध्यक्ष बस्नेतले भनिन् ।

हेटौंडा इजलाशमा मात्र होइन,जिल्ला अदालत मकवानपुरमा पनि न्यायाधीशहरु महिलानै भएकाले अझ काम गर्न सहज र सरल भएको अध्यक्ष बस्नेतले बताइन् ।

प्रकाशित : चैत्र २५, २०८० १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?