कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

भारतको आसामबाट मकवानपुरकी युवतीको उद्धार

प्रताप विष्ट

हेटौंडा — भारतको आसामस्थित एक वेश्यालयबाट माइती नेपालले २३ वर्षीय युवतीलाई उद्धार गरेर हेटौंडा ल्याएको छ । २०७४ सालमा काभ्रेका मिलन तामाङले मकवानपुरकी एक युवतीलाई जागिर खुवाउँछु भनेर भारतको दिल्ली लगेर आसामको वेश्यालयमा बिक्री गरेको अनुसन्धानबाट खुलेको छ ।

ती युवतीलाई माइती नेपाल दिल्लीका सुपरभाइजर सन्तोष सेढाई, माइती नेपाल मकवानपुरकी माया लामा र उनकी आमासहित आसामस्थित कोठीमा गएर बिहीबार उद्धार गरेका हुन् ।

भारतीय प्रहरीको सहयोगमा वेश्यालयमा छापा मारेर युवतीलाई उद्धार गरेर ल्याएको माइती नेपाल मकवानपुरकी प्रमुख लामाले बताइन् । ‘निकै जोखिम मोलेर युवतीलाई हेटौंडा ल्याइयो,’ उनले भनिन् ।

फेसबुकमार्फत चिनजान भएका तामाङसँग काठमाडौंमा भेटेर उनीहरु जागिर खानका लागि दिल्ली गएका थिए । दुई महिनासम्म उनलाई दिल्लीको एउटा कोठामा राखिएको थियो । २ महिनापछि आसामको सिल्चरस्थित वेश्यालयमा पुर्‍याइएको माइती नेपालले जनाएको छ । उक्त वेश्यालयमा रहेकामध्ये एक नेपाली युवती ग्राहकको सहयोगमा ७ महिनाअघि भागेर नेपाल आउन सफल भएकी थिइन् । नेपालमा आएपछि उनले माइती नेपाललाई उक्त वेश्यालयमा मकवानपुरकी युवती पनि रहेको जानकारी दिएपछि उनको खोजी सुरु भएको हो ।

माइती नेपाल हेटौंडाले उनको घर परिवार फेला पारेपछि आमासहित माया लामा र दिल्लीस्थित माइती नेपालका सुपरभाइजर सेढाई आसामस्थित वेश्यालयमा नै पुगेका थिए । उनलाई उद्धार गरेर ल्याएर युवतीलाई माइती नेपाल हेटौंडामा राखिएको छ । सात दिदी बहिनीमध्ये युवती माइली हुन् । तीन कक्षासम्म अध्ययन गरेकी ती युवती अहिले हिन्दी भाषा पनि राम्रोसँग वोल्न जान्ने भएकी छन् ।

वेश्यालयमा पाएको पीडा सुनाउने क्रममा उनको गला अवरुद्ध भएको थियो । ‘काम लगाइदिन्छु भनेर झुक्याएर लगेर यस्तो बर्बाद गरिदियो, त्यस्ता अपराधीलाई सरकारले खोजेर कानुनी कारबाही गरोस्’ भन्ने उनको माग छ । उनलाई आयआर्जन गराउन, सिप सिकाउनका लागि माइती नेपाल हेटौंडाले बुधबार माइती नेपाल काठमाडौं पठाउँदै छ । ‘अहिले उनलाई घरमा पठाउने अवस्था छैन,’ माइती नेपाल हेटौंडाकी प्रमुख लामाले भनिन्, ‘उनलाई परामर्शको पनि खाँचो छ ।’

माइती नेपालले केही महिनाअघि भारतको मुम्बईस्थित कोठीबाट एक युवतीलाई उद्धार गरेर हेटौंडा ल्याएको थियो ।

प्रकाशित : फाल्गुन १, २०७९ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?