२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

सुरु भयो चैते छठको धार्मिक विधि 

शंकर आचार्य

पर्सा — चैते छठको धार्मिक विधि शुक्रबारबाट सुरु भएको छ । व्रतालुहरुले शुक्रबार ‘नहा खाय’ विधि सुरु गरेका छन् । यस दिन व्रतालुहरुले स्नान गरेपछि शुद्ध चोखो गरी पकाइएको दाल, भात तथा लौकाको तरकारी खाने गर्छन् । व्रतालुहरुले आजबाट तामसी भोजन गर्दैनन् ।  

सुरु भयो चैते छठको धार्मिक विधि 

वीरगन्ज–१० रानिघाटकी व्रतालु रानी गुप्ताले व्रतालुहरुले शनिबार साँझ सख्खर, दूध र चामलबाट तयार पारिएको खिर (रस्याउ) खाने र आइतबार दिन भरी निर्जल निराहार ब्रत लिने बताइन् । आइतबार साँझ अस्ताउँदो सूर्य र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि यस वर्षको चैते छठ पर्व सकिने छ ।

तराईमा कात्तिकी र चैते गरी बर्षमा २ पटक छठ पर्व मान्ने चलन छ । कतिपय व्रतालुहरुले कात्तिकी छठ मात्र मान्ने गर्छन् । कतिपयले दुबै र केहीले भाकल पुरा भएपछि मात्र चैते छठको ब्रत लिने गरेका छन् ।

छठ पर्वका लागि छठ घाटहरुको सरसफाइ र सिंगार्ने काम सुरु भई सकेको छ । वीरगन्जको घडिअर्वा पोखरी छठ घाटमा भव्य छठ हुने गरेको छ । सूर्य उपासनाको यो पर्वमा सूर्यलाई नरिवल,अदुवा, उखु र यस पर्वको अनिवार्य प्रसाद ठेकुवा आदिको अर्घ दिने गरिन्छ ।

घरमा एक जना व्रतालु हुदा सिंगो परिवारनै व्रतालुलाई सघाउने काममा लागि परेका हुन्छ । छठ पुजा गर्दा सौभाग्य एवम् सन्तान प्राप्तिको साथै चर्म रोग निको हुन जनविश्वास रही आएको छ ।

प्रकाशित : चैत्र ३०, २०८० १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?