१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३१

मल्चर प्रविधिले किसानको गहुँ खेतीको लागत ५० प्रतिशत घट्यो 

शंकर आचार्य

जगरनाथपुर (पर्सा) — जगरनाथपुर गाउँपालिका–३ बिजयबनियाका अगुवा किसान दाजु भाइ जयकिशोर र अभय यादवले यस बर्ष गहुँ खेतीमा नयाँ प्रयोग गरे । धान बाली काटेको खेतमा उनीहरुले गहुँ छर्न न त धान बालीको ढुटो/अवशेष फाले न त खेतको जोताईनै गरे ।  

मल्चर प्रविधिले किसानको गहुँ खेतीको लागत ५० प्रतिशत घट्यो 

मेसिनले मल्चर (छाप्रो) लगाउने विधिले यस बर्ष गुहँ खेती गर्दा यादब दाजुभाइलेनै खेतीको लागत ५० प्रतिशत सम्म घटेको बताए । ‘एकातिर खेत जोत्नु परेन, अर्को तिर सिंचाईको आवश्यकता पनि परेन,’ उनले भने, ‘यति हुदा गुहँँ खेतीको लागत ५० प्रतिशतले घट्यो ।’

यसअघि जिरो टिलेज (शून्य जोताई) मेसिनले गुहँ रोपाई गर्ने गरेकोमा यो नयाँ प्रविधिले झनै सहज र खेतीको लागत पनि कम भएको जयकिशोरले बताए । ‘हाम्रो लागि यसअघि शून्य जोताई प्रविधि सबैभन्दा उपयोगी थियो,’ उनले भने, ‘तर मल्चर प्रविधि झनै उपयोगी साबित भयो ।’

मेसिनले गुहँँ छर्ने र खेतमा रहेको धानको ढुटोको व्यवस्थापन गरेर यो नयाँ प्रविधिबाट गुहँँको रोपाई गरिएको उनले बताए । ‘यो प्रविधिले खेती गर्दा खेतमा गुहँको बिउ छरेपछि धानबालीको ढुटोलाई भुस बनाएर गुहँँको बिउ छोपिन्छ,’ उनले भने, ‘चारपांग्रे ट्याक्टरमा मल्चर मेसिन जडान गरेर खेतमै यो प्रविधिबाट गुहँँ बाली लगाइन्छ ।’

जयकिशोरका भाइ अभयले धानको ढुटोबाट उत्पादित भुसले गुहँँको बिउलाई छोप्दा खेतमा रहेको चिस्यान कायमै रहने बताए । ‘यसो गर्दा गुहँँ बालीलाई सिंचाईको आवश्यकता पर्दैन र खेतमा घाँस पनि पलाउँदैन,’ उनले भने, ‘घाँस नभए खेतबाट घाँस हटाउने झन्झट पनि भएन र यस काममा अतिरिक्त मजदुर पनि लागेन ।’

त्यसैगरी झारपात हटाउन बिषादीको कम प्रयोग र रासायनिक मलको पनि कम प्रयोग गर्नु परेको छ । जसले गर्दा कृषि मजदुरको लागत पनि घटन जान्छ ।

यसरी शून्य जोताई प्रविधिबाट गुहँ खेती गर्दा बिउ बिजन बाहेक प्रति बिघा खेती लागत ५ हजार ७ सय रुपैया पर्ने गरेकोमा यस बर्ष मल्चर प्रविधिबाट गुहँँ खेती गर्दा त्यसको आधा खेती लागत पर्न गएको उनले बताए ।

कृषि औजार अनुसन्धान केन्द्र रानिघाट वीरगन्जले आफूहरुलाई यस बर्ष मल्चर मेसिन प्रयोग गर्न दिएको अभयले बताए । ‘यो मेसिन अत्यन्त उपयोगी रहेछ,’ उनले भने, ‘अब आफै मेसिन किन्ने सोंच बनाएका छौं ।’

केन्द्रका प्रमुख एवम् इन्जिनियर सचिन कुमार मिश्राले केन्द्रले २ बर्ष अघि भारतको पन्जाबमा निर्मित मल्चर मेसिन भारु २ लाखमा खरिद गरेको बताए । मल्चर मेसिन प्रयोग गर्दा किसानको खेतमा रहेको धानको ढुटो हटाउन खेतमा आगो लगाउनु नपर्ने हुदा यसले वातावरण संरक्षणमा पनि ठूलो भूमिका खेल्ने मिश्रा बताउछन् ।

‘बिशेष गरी उत्तर भारत र नेपालको मधेशमा यसरी गुहँ बाली लगाउनु अघि खेतमा रहेको धानको ढुटोलाई व्यवस्थापन गर्न आगो लगाउने चलन छ, यसले वातावरणिय प्रदुषण व्यापक रुपमा बढाई रहको छ,’ उनले भने, ‘तर मल्चर मेसिन प्रयोग गर्दा धानको ढुटो हटाउनु परेन, बरु त्यही ढुटो उपयोग गर्न पाइयो र पछि त्यही ढुटो कुहिएर मल पनि बन्छ, जसबाट अर्गानिक खेती पनि प्रोत्साहित हुन्छ, खनजोत र सिंचाई दुबै गर्नु नपरेपछि खेतीको लागत पनि घटने नै भयो ।’

केन्द्रको आफ्नै परिसर तथा किसानको खेतमा पनि मल्चर मेसिन प्रयोग गर्दा त्यसको नतिजा राम्रो आएकाले केन्द्रले आउदो बर्ष सर्फेस सिडर मल्चर मेसिन भित्र्याउन लागेको मिश्राले बताए । ‘यो मेसिनले गुहँको बिउ छर्ने, धानको ढुटोले बिउलाई छोप्ने मात्र काम गर्दैन,’ उनले भने, ‘यससंगै रासायनिक मल पनि एकै साथ छर्ने हुँदा यो मेसिन बहुउपयोगी साबित हुने छ ।’

प्रकाशित : फाल्गुन २७, २०८० १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?