कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

नहरमा पानी बन्द हुँदा चैते धानलाई सिँचाई अभाव

विराटनगर — सुनसरीको चतरास्थित सप्तकोशी नदीमा लागेको एक महिने कुम्भ मेलामा भक्तजनलाई नुहाउन सुनसरी मोरङ सिँचाई योजनाले नहरमा पानी बन्द गर्दा चैते धान खेती गर्ने किसान मारमा परेका छन् ।

नहरमा पानी बन्द हुँदा चैते धानलाई सिँचाई अभाव

चतरास्थित कोशी नदीमा मुहान रहेको यो सिँचाई योजनामा मर्मतका नाममा वैशाख ५ गतेदेखि बन्द गरिएको छ । नहरमा पानी बन्द हुँदा मोरङ र सुनसरीको करिव ५० हजार हेक्टरमा लगाएको चैते धान सिँचाईको अभाव भएको छ ।

एक सातादेखि मुल नहरमा पानी नबग्दा चैते धान सुकेर पराल हुने स्थिति बनेको किसानले गुनासो गरेका छन् । मोरङ कानेपोखरी-३ हरकपुरका किसान राजन लुईटेलले भने हर्कपुरमा मात्र ८० विघा भन्दाबढी क्षेत्रफलमा उक्त सिँचाई योजनाको पानीले चैते धान रोपिएको थियो । यस बेला धानलाई पानीको चरम आवश्यकता छ । नहरमा पानी बग्न छाडेपछि धान खेतमा धाँजा परेर गाभो मर्न सुरु भएको लुईटेलको गुनासो छ ।

मोरङको बवियाँविर्तामा पनि सिँचाईको अभावमा चैते धान मर्न सुरु गरेको त्यहाँका किसान छपनलाल चौधरीले बताए । सुनसरी मोरङ सिँचाई योजनाको पानीले यहाँ दुई सय विघा भन्दाबढीमा चैते धान रोपिएको छ । 'योजनाले एकसातादेखि नहरमा पानी छाडेको छैन । अधिकांश किसानको भूमिगत सिँचाई पनि छैन । पानी नहुँदा धान मर्न थाल्यो,' चौधरीले भने, 'योजनाका प्रमुखलाई फोन गर्दा कुम्भमेलाले नहरमा पानी बन्द भयो भनेका छन् ।'

कृषि ज्ञान केन्द्र मोरङका प्रमुख रामदेव सिंहका अनुसार मोरङमा मात्र २५ हजार हेक्टर भन्दाबढीमा चैते धान खेती गरिएको छ । बेलवारीस्थित आरजु राई मिल्सका प्रबन्धक विवेकानन्द झाका अनुसार मिलका नाममा मात्र मोरङमा एक हजार विघामा चैते धान खेती लगाइएको छ । तर सिँचाई योजनाले नहरमा पानी नछाड्दा धानको नल सुक्न सुरु गरेको उनले बताए ।

सिँचाई योजना स्रोतका अनुसार नहरमा पानी बन्द गर्न संघीय र प्रदेश सरकारसहित सुनसरी र मोरङ प्रशासनले योजनालाई पत्र पठाएर भक्तजनलाई नुहाउन पानी उपलब्ध गराएर कुम्भमेलालाई सहयोग गर्न निर्देशन दिएका थिए । नहरमा पानी बन्द गर्न र नहरको पानी भक्तजनलाई नुहाउन उपलब्ध गराउनु निर्देशनमा उल्लेख भएको स्रोतले कान्तिपुरलाई बतायो ।

कोशी नदीको चतरास्थित नयाँ पुल नजिक रहेको योजनाको नयाँ इंटेकबाट १३ सय मिटर दक्षिणमा रहेको पुरानो इंटेकसम्म अहिल कम्तिमा १७ क्यूम्याक्स पानी बगेको छ । त्यो पानी कुम्भ मेलामा भक्तजनलाई नुहाउन कोशीको भंगालोमा छाडिएको छ । योजनाको मुल नहरमा बग्ने पानीले उत्पदन हुँदै आएको ३ दशमलव २ मेगावाट विधुत उत्पादन पनि नहरमा पानी बन्द भएसँगै बन्द भएको छ ।

यो सिँचाई योजनाले वर्षायाममा सुनसरी र मोरङको ६८ हजार हेक्टरमा सिँचाई पुर्‍याउँदै आएको छ । यी दुई जिल्लामा गहुँ खेतीसहित चैते धान रोपाई यही नहरको पानीले हुँदै आएको छ । दुई जिल्लामा ५२ किलोमिटर मुल नहर रहेको यो सिँचाई योजनाका २१ शाखा नहर छन् ।

'कुम्भ मेलाको सर्न्दभमात्र जोडिएको हो, ' योजनाका इन्जिनियर कुमार घिमिरेले भने, 'मुल नहरको नियमित मर्मतका लागि बैशाख ५ गतेदेखि जेठ १५ गते सम्मका लागि मुल नहरमा पानी बन्द गरिएको हो । मर्मत कार्यका लागि योजनाले सुरुमै किसानलाई चैते धान खेतीका लागि पानी उपलब्ध गराउन नसक्ने सूचना दिएको थियो ।'

उनले किसानलाई सूचना दिएर नै नहर बन्द गरिएको दाबी गरे ।

प्रकाशित : वैशाख ९, २०८१ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?