कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विराटनगरमा रात्रिकालीन फुटबल

विनोद भण्डारी

विराटनगर — विराटनगर–९ को सहिद रंगशालामा २०१८ सालमा महेन्द्र गोल्डकपको पहिलो संस्करण आयोजना गर्दा जस्तापाता र बाँसको टाटीले चारैतिर मैदान घेरेर खेल खेलाइएको थियो । त्योबेला मोरङ ११ टिमबाट डिफेन्स खेलेका ७५ वर्षीय भीम कुँवरले भने, ‘उसबेला प्याराफिट केही थिएन । दर्शकहरू धुलाम्मे मैदानमा उभिएर खेल हेर्थे ।’

विराटनगरमा रात्रिकालीन फुटबल

दर्शकहरू घेरा बाहिर खचाखच हुन्थे । मैदानको उत्तरपट्टि सानो मञ्च थियो । त्यो मञ्चमा उसबेलाका ‘ठूलाबडा’ बसेर हेर्थे । कुँवरका अनुसार कुनैकुनै खेलमा राजपरिवारका सदस्यहरू पनि आएर त्यही बसेर हेर्थे । खेल्दा मैदानमा धूलो उड्थ्यो । त्यो धूलो दर्शकमा पुग्दा मुख छोपेर खेल हेर्थे ।

‘६ दशक पहिलाको सहिद मैदान र अहिलेको अवस्थामा आकाश जमिन फरक भएको छ,’ उनले भने, ‘त्यो बेला यो मैदानको चारैतिर प्याराफिट बन्ला र फ्लड लाइटमा रात्रिकालीन फुटबल खेल यही मैदानमा हुन्छ भन्ने कसैले पनि कल्पना गरेको थिएन ।’ अहिले यो मैदानको चारैतिर ८ हजारभन्दा बढी दर्शक अटाउन सक्ने प्याराफिटको व्यवस्था छ । त्यसैगरी प्रदेश सरकारको ५ करोडभन्दा बढीको लगानीमा फ्लड लाइटको बन्दोबस्तीमा तीन वर्षदेखि रात्रिकालीन फुटबल खेलको आयोजना हुँदै आएको छ । मैदान पुरै घाँसे छ । धूलो उडने सम्भावना छँदै छैन । देशभरिकै घाँसे मैदानमा यसलाई उत्कृष्ट मानिन्छ ।

यो प्रतियोगितालाई त्यहीबेलादेखि पूर्वको प्रतिष्ठित प्रतियोगिताको रुपमा हेरिन्थ्यो । उसबेलाका गोलकिपर साधनचन्द्र चेलका अनुसार प्रतियोगितामा स्वदेशका मोरङ ११ सहित एकाध टिममात्र हुन्थे । प्राय: सबै टिम भारतीय हुन्थे । भागलपुर, जमशेदपुर, रेल्वे, कोलकाता, कटिहार, फुड कर्पोरेसन र फारविसगन्जसहित बंगलादेश र भुटानको थिम्पु ११ लगायतका टिम आएर खेल्थे ।

त्यो समयमा नगद पुरस्कार हुँदैन्थ्यो । विजेताले कप र आइजाई खर्च मात्र पाउँथे । तर पनि विदेशी टिम महेन्द्र गोल्डकप खेल्न आकर्षित हुन्थे । उसबेला भारतीय टिम र दर्शकले यो प्रतियोगितालाई सफलताको उत्कर्षमा पुर्‍याएको चेलले बताए ।

उसबेला मोरङ ११ टिम जल्दोबल्दो थियो । डिफेन्स कुँवरका अनुसार त्यसबेला ध्रुव क्षेत्री, नवीन थापा, इन्द्रलाल श्रेष्ठ, अमर थापा, आईएस सुब्बा, ईश्वर श्रेष्ठ, द्वारिका श्रेष्ठ, साधनचन्द्र चेल, विष्णु बराल, शिवभक्त जोशी र सालिकराम अधिकारीलगायतका खेलाडी अब्बल थिए । २०३२ सम्म यो मैदानलाई बाँसको टाटी र जस्तापाताले नै घेरेर महेन्द्र गोल्डकप आयोजना गरिएको इतिहास छ ।

२०३३ सालमा मैदानको पूर्वपट्टि मुस्किलले ३ हजार दर्शक अटाउने प्याराफिट बनाइएको उसबेलाका खेलाडी सन्तोष बानियाँले बताए । त्यसपछि पुरस्कार राशिको व्यवस्था गरिएको थियो । उनको अनुसार डेढ लाख पुरस्कार राशि र कपको व्यवस्था गरिएपछि प्रतियोगिताको उचाइ झन् बढेपछि यो प्रतियोगितालाई पूर्वको सानका रूपमा लिन थालिएको थियो । त्योबेला भारत, भुटान, बंगलादेशसहित मोरङ ११ र जनकुपर चुरोट कारखाना टिमको मुख्य प्रतिस्पर्धा हुन्थ्यो ।

२०१८ मा पहिलो संस्करण भएको यो प्रतियोगिताको २०६० सालमा अन्तिम पटक २९ औं संस्करणका नामा महेन्द्र गोल्डकप भयो । यसका ज्ञाता वसन्त अर्यालका अनुसार २०४६ सालको परिवर्तनपछि २०६० सम्म प्रतियोगिता मौसमी रूपमा हुँदा यसले बिस्तारै आफ्नो पहिचान गुमाउँदै गयो । २०६० मा भएको अन्तिम तथा २९ औं महेन्द्र गोल्डकपका विजेताले ५ लाख पुरस्कार पाएका थिए ।

२०६२/६३ को जनआन्दोलनपछि महेन्द्र गोल्डकपले पुरै पहिचान गुमायो । २०६७ मा महेन्द्र गोल्डकपलाई विराट गोल्डकप ट्रस्टमा परिणत गरेर २०६८ देखि अहिलेको स्वरूपमा विराट गोल्डकप सुरु हुन थालेको अर्यालले बताए । २०६८ मा पहिलो विराट गोल्डकपको संस्करण सुरु भए पनि यसले पनि विगतका केही वर्ष निरन्तरता पाइरहन सकेन । कहिले गोल्डकप ट्रस्टभित्रको आन्तरिक खिचातानी र कहिले कोरोनाका कारण यो प्रतियोगिताले निरन्तरता पाएन ।

प्रतियोगिताको सातौं संस्करण बिहीबारदेखि सुरु हुँदै छ । यो संस्करणसम्म आइपुग्दा विजेताले २० लाख १५ हजार र उपविजेताले १० लाख १५ हजार रुपैयाँ पुरस्कार पाउने व्यवस्था गरिएको प्रतियोगिताका संयोजक सुवाशिष कोइरालाले बताए । छैटौं संस्करणका विजेताले १५ लाख १५ हजार र उपविजेताले ७ लाख ५१ हजार पुरस्कार पाएका थिए । प्रतियोगिताका लागि करिब अढाई करोड खर्च हुने अनुमान छ ।

प्रतियोगितामा तीन विभागीय टिम एपीएफ, त्रिभुवन आर्मी र नेपाल प्रहरीसहित संकटा, जाउलाखेल र घरेलु टिम विराटनगर सिटी तथा विदेशी टिममा भारत केरलाको लुका सकर क्लब र भुटानको डुक लयुल फुटबल क्लबको सहभागिता रहने कोइरालाले बताए । उद्घाटन खेल विराटनगर सिटी र पुलिस क्लबबीच हुनेछ । प्रतियोगिता १६ गतेसम्म चल्नेछ ।

प्रकाशित : चैत्र ९, २०७९ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?