आफ्नै प्रदेश राजधानी पुग्न काठमाडौं ट्रान्जिट- कोशी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आफ्नै प्रदेश राजधानी पुग्न काठमाडौं ट्रान्जिट

भानुभक्त निरौला

सोलुखुम्बु — सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पालाई प्रदेशस्तरीय गोष्ठीमा भाग लिन विराटनगरबाट हालै निम्तो आयो । उनी प्रदेश राजधानी पुग्नकै लागि पहिले फाप्लुबाट काठमाडौं पुगे, अनि त्यहाँबाट अर्को उडानमा विराटनगर ओर्लिएर गोष्ठीमा सहभागी भए ।

सोलुदूधकुण्ड–८ का प्रकाश मगरलाई योजना सम्झौताका लागि विराटनगरस्थित प्रदेशको मन्त्रालय जानुपर्ने भयो । उनी पनि नगर प्रमुख शेर्पाले जस्तै फाप्लुबाट काठमाडौं पुगेर अर्को उडानमार्फत विराटनगर झरे ।

सोलुखुम्बुवासीलाई आफ्नै प्रदेश राजधानी विराटनगर पुग्न सोझो हवाई उडान नहुँदा काठमाडौंदेखि फेरो मारेर जानुपर्ने बाध्यता छ । फाप्लु, स्याङबोचे, तेन्जिङ–हिलारी र कांगेली डाँडा गरी देशकै सर्वाधिक बढी विमानस्थल भए पनि सोलुखुम्बुबाट प्रदेश राजधानी विराटनगर जान भने एउटै सोझो उडान छैन । जोखिमपूर्ण र अव्यवस्थित सडकका कारण स्थलमार्ग हुँदै यात्रा गर्नु कठिन र कम प्राथमिकतामा पर्ने गर्छ । संघीयतापूर्व सबै काम काठमाडौंबाटै हुने गरेकामा तीन तहको सरकारको अवधारणा लागू भएसँगै यहाँका स्थानीयलाई आवागमनमा कठिनाइ हुन थालेको हो । ‘पहिला विराटनगर जाने काम नै पर्दैनथ्यो, आजकाल प्रदेश मन्त्रालय भएपछि त स–साना कामका लागि पनि विराटनगर जानैपर्छ,’ स्थानीय प्रकाश मगरले भने, ‘आफ्नै प्रदेशको राजधानी जान पनि विदेश नै गए जस्तो काठमाडौंको ट्रान्जिट फ्लाइट प्रयोग गर्नुपर्ने बाध्यता छ ।’

यसअघिकै प्रदेश सांसद र सरकारले फाप्लु–विराटनगरको सिधा उडानको आश्वासन दिए पनि ४ वर्षदेखि प्रदेश राजधानीमा सिधा उडान हुन सकेको छैन । तत्कालीन समयमा नेपाल वायु सेवा निगमले साताको बुधबार एउटा उडान विराटनगर गर्दै आएको थियो । यात्रु अभाव समस्या देखाउँदै उडान बन्द गरेको सरकारी वायु सेवा निगमको उडान पुनः सुरु गराउन त्यसयता ठोस पहल नहुँदा प्रदेश राजधानी जान निकै कठिन हुने गरेको छ ।

यता सडक यातायातको अवस्था पनि निकै जोखिमपूर्ण छ । विराटनगर जानका लागि बीच भागमा पर्ने घुर्मी–कटारी सडक खण्डको डरमर्दो कच्ची बाटोमा ज्यान नै धरापमा राखेर हिँड्नुपर्ने अवस्थाका कारण पनि नागरिकहरू सडकमार्गको जोखिम मोल्न तयार देखिँदैनन् । ‘वर्षौंदेखि घुर्मी–कटारी सडक खण्डको बेहाल छ, कालोपत्र उप्किएर धूले सडकमा परिणत भएको १० वर्ष बित्दा पनि उक्त सडक निर्माणमा कसैको ध्यान गएको छैन,’ स्थानीय पत्रकार सन्तोषकुमार राउतले भने ।

उनका अनुसार उक्त सडक खण्डमा सवारीसाधनमा यात्रा गरिसकेपछि खाल्डाखुल्डीमा उफ्रिँदा र विषाक्त धूलोका कारण यात्रु बिरामी पर्छन् । सोलुदूधकुण्ड नगरपालिकाभित्र पर्ने फाप्लु विमानस्थल सञ्चालनका लागि सरोकारवाला निकायमा पटकपटक पहल गरेको मेयर नाम्गेलजाङ्बु शेर्पाको भनाइ छ । ‘हामी सबै जनप्रतिनिधिको पहलमा उडान तालिका राखिएको पनि थियो, तत्कालीन अवस्थामा उडान सुचारु हुन सकेन,’ मेयर शेर्पाले भने ।

सरकारी ध्वजावाहक नेपाल वायु सेवा निगमले भने विमान अभावकै कारण फाप्लु–विराटनगर उडान राख्न नसकेको बताएको छ । उडान राख्न माग भए पनि नयाँ विमान ल्याउने प्रक्रियामा रहेकाले त्यसपछि मात्रै उडान भर्न सकिने निगमको भनाइ छ । ‘हामीसँग पर्याप्त जहाज नै छैन,’ निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले कान्तिपुरसँग भने, ‘अब थपिनासाथ उक्त रुटमा प्राथमिकताका साथ उडान राख्छौं ।’

यस क्षेत्रबाट प्रदेशसभामा निर्वाचित भई सामाजिक विकासमन्त्री बनेका बुद्धिकुमार राजभण्डारीले फाप्लु–विराटनगर र विराटनगर–लुक्ला सिधा उडानका लागि प्रयत्न भइरहेको बताए । ‘पर्यटन मन्त्रालय, पर्यटन व्यवसायी र विमान सञ्चालकहरूसँग त्रिपक्षीय संवाद भइरहेको छ,’ उनले भने, ‘अब चाँडै सिधा उडानको प्रयत्नले सार्थकता पाउँछ ।’ सोलुखुम्बुम्मा कांगेल डाँडा, फाप्लु, लुक्ला र स्याङबोचे गरी ४ वटा विमानस्थल छन् । महाकुलुङमा अर्को विमानस्थल थप गर्नका लागि जग्गा व्यवस्थापन र अध्ययनको काम अगाडि बढाइएको छ ।

प्रकाशित : माघ २२, २०७९ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्

राजमार्गमै नयाँ पुल नबन्दा सवारीमा सास्ती

केदार शिवाकोटी

दोलखा — जिल्लालाई तराई र राजधानीसँग जोड्ने राजमार्गका मोटरेबल पुल अलपत्र परेका छन् । लामोसाँघु–जिरी सडक खण्डअन्तर्गत तामाकोसी नदीमा निर्माणाधीन मोटरेबल पुल ७ वर्षदेखि अलपत्र अवस्थामा छ । दोलखालाई राजधानीसँग जोड्ने सिन्धुपाल्चोकको खाडीचौरमा रहेको सुनकोसी नदीको पुलको काम पनि अलपत्र छ ।

नयाँ पुल निर्माण अलपत्र हुँदा पुरानै पुलबाट यात्रुवाहक र भारवाहक सवारीसाधन आउजाउ गरिरहेका छन् । पुरानो मोटरेबल पुल जीर्ण बनिसकेको छ ।

४० वर्षअघि बनेका दुवै पुल विस्थापन गर्न २०७३ सालमा २० करोड रुपैयाँमा ठेक्का लागेको थियो । निर्माणको जिम्मा लिएको नीलगिरि–नेसनल जेभीले नयाँ पुलको दुवैतिर जिप उठाएपछि अलपत्र छाडिदिएको छ । सोही कम्पनीले खाडीचौरमा रहेको सुनकोसी पुलको जिम्मा पनि लिएको छ । दुवै पुलको ठेक्का २०७३ सालमै लागे पनि काम भने अघि बढेको छैन । सदरमुकाम चरिकोटलाई तराईसँग जोड्ने महत्त्वपूर्ण तामाकोसी पुल अलपत्र परेपछि स्थानीयले पटक पटक पुरानो पुल भाँचिने अवस्थामा पुगेको भन्दै भारवाहक सवारीसाधनलाई आवतजावतमा रोक लगाउँदै आएका छन् । यस्तै अरनिको राजमार्गबाट चरिकोटतर्फ आउने मुख्य लाइफलाइन सुनकोसीको पुल निर्माणको काम अघि बढाइदिन स्थानीयले सडक डिभिजनलगायतका स्थानमा आग्रह गर्दै आएका छन् । दुवै पुल दोलखाको लाइफलाइनका रूपमा रहेका छन् । जिरी, रामेछाप र तराईबाट सयौं मालवाहक र यात्रुवाहक सवारीसाधन पुरानै पुलबाट आउजाउ गर्छन् ।

पुल बनाउने ठाउँमा स्थानीयका घरटहरा भएका कारण काम सुरु गर्न नसकेको निर्माण पक्षको गुनासो रहेपछि दोलखाको भीमेश्वर नगरपालिका–५ र वैतेश्वर गाउँपालिका–६ तामाकोसी बजारमा प्रशासन र स्थानीय तहले चार वर्षअघि घरटहरा हटाएको थियो । सडक चौडा पारिने र पुल बनाउने भनेर भएका टहरा हटाइए पनि पुल भने अलपत्र परेको स्थानीय नवराज बस्नेतले बताए । ‘सडक चौडा भएको छ, पुल निर्माण गर्ने भनेपछि टहरा हटायौं,’ उनले भने, ‘पुल भने जग उठाएर अलपत्र पारिए पनि कसैले वास्ता गरेको छैन ।’ पुरानै जीर्ण पुलबाट आवतजावत गर्ने यात्रु र सवारीसाधन जोखिममा पर्दै गएको उनले बताए । जलविद्युत् आयोजनाका भारवाहक सवारीसाधनका कारण पुरानो पुल थप जीर्ण बनेर कुनै पनि बेला संरचना भाँचिने अवस्थामा पुगेका छन् । तामाकोसीमा ७५ मिटर लामो दुई लेनमा बन्ने आरसीसी आर्क ब्रिज डिजाइनमा नयाँ पुल निर्माणको काम २०७५ सालमा सकिनुपर्नेमा निर्माण कम्पनीले विभिन्न बाहनामा काम नगरी अलपत्र अवस्थामा छाडिदिएको छ । तामाकोसीमा दुवैतर्फ जिप उठाइएको छ भने सुनकोसीमा एकातर्फ मात्रै जिप उठाएर ठेकेदारले अलपत्र छाडिदिएको छ । नयाँ पुल निर्माण हुने भएपछि तामाकोसी र सुनकोसीका पुरानो पुल मर्मत नभएर खिया लागेर थप जीर्ण बनेका छन् ।

नयाँ पुल अलपत्र पर्दा रामेछाप र जिरीपारि निर्माण भइरहेका जलविद्युत् आयोजनाका भारवाहक साधन जीर्ण बनेको पुरानै पुलबाट चल्ने गरेका छन् । पुरानो पुलको मुखमै भासिएपछि डिभिजन सडक कार्यालय दोलखाले आवतजावतमा समस्या पर्ने भन्दै ग्याबिन लगाएर भरथेग गरेको बस्नेतले बताए । महाशाखाले २ पटक पुल निर्माणको ठेक्का थप गरे पनि अझै निर्माणको काम अघि बढेको छैन । डिभिजन सडक कार्यालय दोलखाले पुल महाशाखालाई पुरानो पुलमा जोखिम बढेको भन्दै नयाँ पुलको काम अघि बढाइदिन पटकपटक ताकेता गरिरहेको प्रमुख अर्जुन सुवालले बताए । ‘हामी पुरानो पुल निकै जीर्ण भएको भनेर पुल महाशाखालाई काम अघि बढाइदिन आग्रह गरेको धेरै भइसक्यो,’ उनले भने, ‘तर अझै पनि महाशाखाले पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई काममा फर्काएको छैन ।’ पुरानो पुल जीर्ण भइरहेकाले भारवाहक सवारीसाधनलाई पुलबाट प्रवेशमा रोक लगाएको उनले बताए ।

उक्त पुरानो पुल १८ टन क्षमताको भए पनि ४० टनसम्म जलविद्युत्का सामग्री बोकेर भारवाहक साधन गुड्ने गरेका छन् । पुल अलपत्र पार्ने निर्माण कम्पनीको ठेक्का तोड्ने वा सोही निर्माण कम्पनीबाट काम अघि बढाउने भन्नेमा पुल महाशाखाले निर्णय नलिँदा निर्माणको काम थप अन्योलमा छ । यस्तै पुष्पलाल मार्गअन्तर्गत तामाकोसी गाउँपालिका–१ भीरकोटको धोली खोलामा ७ वर्षदेखि अस्थायी रूपमा राखिएको बेलिब्रिजबाटै सवारीसाधन आवतजावत गरिरहेका छन् । तराईबाट खाद्यान्नलगायतका सामान र नजिकै रहेको क्रसरबाट भारवाहक मालवाहक र टिपर यही बेलिब्रिजबाटै गुड्ने गरेका छन् । २०७३ सालमा बाढीले धोली खोलाको स्थायी मोटरेबल पुल बगाएको थियो ।

प्रकाशित : माघ २२, २०७९ ०७:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×