किर्ते कागजात पेस गरेको खुलेपछि ठेक्का रद्द- कोशी - कान्तिपुर समाचार

किर्ते कागजात पेस गरेको खुलेपछि ठेक्का रद्द

लक्ष्मी गौतम

पाँचथर — हिलिहाङ गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि बोलपत्र दर्ता गर्दा किर्ते कागजात पेस गरिएको खुलासा भएको छ । बोलपत्रमा तोकेअनुसार योग्यता नपुगेपछि फोटोसपको मद्दतले सम्पादन गरेको कागजात पेस गरेर झुक्याएकाले एसएएस कन्स्ट्रक्सन प्रालिसँगको ठेक्का सम्झौता रद्द गरिएको गाँउपालिकाले जनाएको छ ।

गाउँपालिकाले प्रशासकीय भवन निर्माणका लागि २०७८ को कात्तिक १५ मा बोलपत्र आह्वान गरेको थियो । एसएएसले काठ‚ इँटाको काम गरेको अनुभव प्रमाणपत्र किर्ते भएको महालेखा परीक्षकले पत्ता लगाएका थिए । तोकिएको मुख्य कार्य अनुभवमध्ये एसएएसले पुष्पलाल मध्य पहाडी लोकमार्ग आयोजना कार्यालय फिदिमबाट लिएको प्रमाणपत्र किर्ते रहेकाले सार्वजनिक खरिद ऐनअनुसार कारबाही गर्नुपर्ने महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा कन्स्ट्रक्सनको कार्य सम्पादन जमानत १ करोड ८९ हजार १ सय ६० रुपैयाँ नियन्त्रण गरी कारबाही गर्न भनिएको छ ।

आयोजनाले उपलब्ध गराएको सक्कल र एसएएसले पेस गरेको प्रमाणपत्र भिडाँउदा मेल नखाएपछि गाँउ कार्यपालिका बैठकले किर्ते कागजात खडा गरेको ठहर गर्दै ठेक्का रद्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत विक्रम लिम्बूले बताए ।

उनका अनुसार सम्बद्ध कम्पनीलाई बोलपत्र दर्ता गर्दा पेस गरेको प्रमाणपत्रको सक्कल बुझाउन ७ दिनको म्यादसमेत दिइएको थियो । ठेक्का कम्पनिले आफैँले मागेको थप १० दिनभित्रको म्यादमा पनि सक्कल प्रमाणपत्र बुझाउन नसकेको लिम्बूले बताए ।

एसएएस कन्स्ट्रक्सनका सञ्चालक शैलेन्द्र कुरुम्वाङले बोलपत्र दर्ता गर्दा किर्ते प्रमाणपत्र खडा गरेको स्विकारे । ‘तोकिएको योग्यता नपुग्ने भए पछि फोटोसपबाट इडिट गरिएको साँचो हो, गल्ती स्विकार्छौं,’ उनले भने,‘कारबाही भोग्न तयार छौं ।’ ठेक्का रद्द भएपछि गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्योलमा परेको छ । फाउन्डेसनको सबै काम सकेर पहिलो तला ढलान गर्ने बेला हुनै लाग्दा किर्ते प्रकरण उजागर भएको थियो । भवन निर्माण अगाडि बढाउन पुनः बोलपत्र आह्वानको तयारी भइरहेको गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारीले बताए ।

प्रकाशित : माघ १२, २०७९ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्

महोत्तरीमा तीर्थालु चढेको ट्र्याक्टर पल्टिँदा १ को मृत्यु, २८ जना घाइते

सुनिता बराल

महोत्तरी — महोत्तरीको बर्दिवास-३ स्थित पाटु मोडमा अनियन्त्रित भएर ट्र्याक्टर पल्टिँदा १ को मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था जटिल रहेको छ ।

सिन्धुलीस्थित लंगुर खोलाबाट तीर्थालु बोकेर आएको प्रदेश २-०२-००१ त.२२६४ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा धनुषा औरहीकी ३५ वर्षीय अमेरिकादेवी मण्डलको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी रवि रावलले जानकारी दिए । उनका अनुसार ट्रयाक्टरमा सवार सबै यात्रु धनुषास्थित औरही नगरपालिकाका हुन् ।

दुर्घटनामा कुमारी मण्डल, जुलेवी मण्डल, चन्द्रकुमारी मण्डल, रेम्नी देवी, नयनकुमारी मण्डल, पवनदेवी मण्डल, सिकिलिया मण्डल, सीताकुमारी मण्डल, सुकुमरिया देवी, देवु मण्डल, कुसुम मण्डल, कलादेवी मण्डल, सुमित्रा देवी ठाकुर, चन्द्रा देवी मण्डललगायत घाइते भएका छन् ।

गम्भीर घाइतेलाई काठमाडौं रेफर गरिएको डीएसपी रावलले बताए । अन्य घाइतेलाई जनकपुरस्थित रामजानकी अस्पताल, चन्द्रकला अस्पताल, बर्दिबासस्थित जनसेवा, शुभस्वस्तिक र बर्दिबास अस्पतालमा राखिएको छ ।

प्रकाशित : माघ १२, २०७९ १७:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×