कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

गुराँसै फूल्यो घोरेपानी/पुनहिलैमा

‘म त लालीगुराँस भएछु, वनैभरी फुलिदिन्छु, मनैभरी फुलिदिन्छु’ नारायण गोपालको गीत जस्तै, वसन्त ऋतुको यस मौसममा थरी–थरिका गुराँस फुलेर वन नै रंगीन बनाएको छ ।
घनश्याम खड्का

म्याग्दी — वसन्त ऋतु । राताम्मे गुराँसे जंगलबीचमा झुरुप्प निला छाना भएको बस्ती, घोरेपानी । माथी टुप्पीमा छ, प्रख्यात दृष्यस्थल पुनहिल । घान्द्रुक–पुनहिल–नागीसम्मका सबै डाँडापाखामा गाडा रातो, रातो, सिम्रिक, गुलाबी रंगका गुराँसबीचमा फुलेका चिमली र सेता गुराँसले मनमोहक घोरेपानी/पुनहिल क्षेत्रको जंगल मनमोहक देखिएको छ ।

सूर्यको पहिलो झुल्कोलाई क्यामेरामा कैद गर्न तँछाड–मछाड चल्छ यहाँ । प्राकृतिक सौन्दर्यले मन थेग्न नसक्दा युगल जोडी प्रेमिल हुन्छन् ।

‘घोरेपानी/पुनहिल मेरो पहिलो यात्रा हो । आँखै अगाडि लस्करै हिमाल, सूर्योदयको दृष्य र गुराँसका थरीथरी प्रजाति फुलेर ढकमक्क घोरेपानी कल्पना गरेभन्दा सुन्दर रहेछ । हामीले प्रचार गर्न नसकेका रहेछौं,’ पुनहिल पदयात्रा क्रममै भेटिएका नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्टले भने, ‘राजनैतिक दलका नेताहरू, सामाजिक क्षेत्रका अगुवाहरु पनि पुनहिल/घोरेपानी जस्ता पर्यटकीय क्षेत्रमा पदयात्रा गर्ने, घुम्ने गर्दा आन्तरिक पर्यटक तथा बाहृयपर्यटन प्रर्वद्धनमा योगदान पुग्छ । करोडौ आम्दानी हुन सक्छ ।’

यो घोरेपानी–पुनहिल गुराँसे पैदलयात्राको उपयुक्त मौसम हो । घोरेपानीमा यात्रुको हैसियत अनुसारका बस्ने सुविधासम्पन्न होटल छ । यो पदमार्ग सजिलो मानिन्छ । पोखराबाट वीरेठाँटीहुँदै सोझै पुनहिल पुग्न सकिन्छ । अर्को वीरेठाँटीबाट घान्द्रुक हुँदै एक दिन बढी लगाएर पनि पुग्न सकिन्छ । म्याग्दी सदरमुकामबाट गाडीमा पोखरेबगरहुँदै चित्रेसम्मगएर एक घन्टा पैदल हिँडेर पनि पुनहिल पुग्न सकिन्छ ।


प्रकाशित : चैत्र २९, २०८० १२:५८
प्रतिक्रिया
पठाउनुहोस्