२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३४९

ठमेल र दरबारमार्गमा उत्साह

पाठक पत्र

अमेरिकाबाट नेपाल घुम्न आएका एक पर्यटकलाई नयाँ वर्षको पहिलो दिन मैले ठमेलमा प्रश्न गरेको थिएँ, ‘तपाईंलाई यो ठमेल र दरबारमार्ग चौबीसै घण्टा खोल्ने नेपाल सरकारको निर्णय कस्तो लागेको छ ?’ उनले तत्काल प्रतिक्रिया दिए, ‘बल्ल नेपालमा नाइट लाइफ सुरु भयो । हामीलाई चाहिने नै यस्तो हो । रातको २ बजे चिया, कफी खान पाइयोस्, डुल्न पाइयोस् । सरकारको यो निर्णयबाट म खुसी छु ।’

ठमेल र दरबारमार्गमा उत्साह

ती पर्यटकले विकसित देशमा बजार चौबीसै घण्टा नै खुल्ने उल्लेख गर्दै नेपालमा रातको १० बजेपछि सबै बन्द हुने विडम्बनायुक्त वातावरणलाई पर्यटकले मन पराउँदैनन् पनि भन्न भ्याए । ती पर्यटकको कुरा मलाई शतप्रतिशत सही लाग्यो । रात भन्नासाथ खराब काम मात्र हुन्छ, यसर्थ राति पसल र होटल खोल्न दिँदा हाम्रो संस्कृति मासिन्छ, विकृति बढ्छ, युवा बिग्रन्छन् भन्ने सोच बनाउनु हुँदैन ।

हामीकहाँ आउने पर्यटक, हाम्रा युवापुस्ता के चाहन्छन् ? कस्तो दुनियाँ मन पराउँछन् ? संसारमा रात्रिकालीन पसल/बजार खोल्नुलाई कुन रूपमा लिने गरिएको छ ? त्यसबारे पनि हामी नेपालीले ध्यान दिनुपर्छ । परम्पराका नाउँमा जे कुराको पनि विरोध गर्नु, आधुनिक सेवासुविधालाई बन्देज गर्नु हुँदैन । त्यसले पर्यटनमा मात्र होइन नेपालमै बसेर इलम गरौं भन्ने हाम्रै नयाँ पुस्तालाई पनि विकर्षण गर्छ ।

विदेशी पर्यटकहरू नेपाल घुम्न आएका हुन्, रमाइलो गर्न आएका हुन् । नेपाल आएर रातको १० बजे नै होटलको कोठामा कैद हुन उनीहरू आएका होइनन् । एकातिर हामी देशमा बीस लाख पर्यटक भित्र्याउने भन्छौं, आन्तरिक पर्यटक पनि बढुन् भन्छौं तर अर्कोतिर रातको १० बजे नै होटल, सडकबाट सबैलाई खेद्छौं । यस्तो तालले पनि पर्यटकहरूको मन जित्न सक्छौं त ? थाइल्यान्ड, हङकङ, सिंगापुर, फ्रान्स, जापान, अमेरिका सबैतिर नाइट लाइफ छ र त पर्यटक छन् ।

ती देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा पर्यटन क्षेत्रको योगदान २५ प्रतिशतभन्दा बढी छ । लाखौं रोजगारी सिर्जना भएको छ । अनि नेपाल त्यही परम्परा र संस्कृतिका नाउँमा सधैं अँध्यारोमै बस्ने ? आधुनिक सोचलाई आत्मसातै नगर्ने ? यसैले ठमेल, दरबारमार्ग रातभरि खोल्ने सरकारको निर्णय उचित छ । यसका लागि गृहमन्त्री रवि लामिछानेलाई धन्यवाद दिनुपर्छ ।

उनले नेपालका अन्य ठूला सहरमा पनि चौबीसै घण्टा बजार खोल्ने वातावरण बनाइदिऊन् । सुरक्षा दिऊन् । माइतीघरदेखि बानेश्वरसम्म पहिलेको सरकारले लगाएको निषेधाज्ञा हटाउने निर्णय गृहमन्त्री लामिछानेले गरेर पनि लोकतन्त्रवादीको मन जितेका छन् ।
– गोपाल देवकोटा, गोकर्णेश्वर, काठमाडौं

प्रकाशित : वैशाख ३, २०८१ ०३:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?