२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५५

चीन र भारतको व्यवहार उस्तै

पाठक पत्र

नेपालका उपप्रधान एवं परराष्ट्रमन्त्री नारायाणकाजी श्रेष्ठ चीनको ९ दिने भ्रमणमा हुनुहुन्छ । यस भ्रमणबाट मन्त्री श्रेष्ठ के लिएर आउँछन्, त्यो त अहिले भन्न सकिँदैन तर मन्त्रीले एउटै देशमा यति लामो भ्रमण गर्नु शोभनीय होइन । भारत, चीन, अमेरिका, बेलायत, जापानजस्ता देशका विदेशमन्त्रीहरू अन्य देशको भ्रमणमा जाँदा २४ घण्टा, ४८ घण्टाभन्दा बढी बस्दैनन् ।

नेपालका हकमा भारत र चीनको व्यवहार खासै मित्रतापूर्ण देखिएको छैन । बीआरआई परियोजनामा नेपालले हस्ताक्षर गरेर सैद्धान्तिक सहमति जनायो र पछि सम्झौता भयो । तर आजसम्म त्यो परियोजना नेपालमा अघि बढेको छैन । यातायात र पारवहनका विषयमा भएको सम्झौता पनि कार्यान्वयनमा आएन ।

चीनले नेपालको सीमा क्षेत्रमा इन्धन भण्डार गृह बनाइदिने विषय पनि हरायो । चीनबाट नेपाललाई ऋण होइन, अनुदान चाहिन्छ तर चीन ऋण बोकाउन मात्र चाहन्छ । कमसेकम पोखरा विमानस्थल निर्माणको २२ अर्ब ऋणलाई चीनले अनुदानमा बदलिदिए पनि ठूलो सहयोग हुन्थ्यो ।

चीनले नेपालको चक्रपथ पूरा गर्ने जिम्मा लिएको १० वर्ष बित्दा पनि २७ किमिमध्ये १० किमि मात्र बन्न सकेको छ । चिनियाँ ठेकेदारले जिम्मा लिएका अरू आयोजनामा पनि काम सुस्त छ । आयोजना लिने र होल्ड गर्ने काममा चीन र भारत दुवै उस्तै देखिएका छन् । परराष्ट्रमन्त्रीले यस विषयमा चीनसँग गम्भीर कुरा गर्नुपर्छ ।

भारत एकातिर नेपाललाई नजिकको मित्रराष्ट्र भन्छ तर व्यवहार शत्रुको झैं गर्छ । प्रतिस्पर्धी बजारबाट विद्युत् खरिद गर्ने अनुमति नवीकरण नगरिदिँदा नेपालमा लोडसेडिङको भय उत्पन्न भएको छ । भारत बिजुली लिन चाहन्छ, दिन चाहँदैन ।

भारतले अन्तर्राष्ट्रिय विमानका लागि दुईतर्फी हवाईमार्ग थप्न आनाकानी गरिरहेको छ, जसले नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ । भारतले नेपाली कृषि उत्पादनमा पनि क्वारेन्टिनको बहाना बनाउँदै बारम्बार अवरोध खडा गरिदिन्छ । यस्ता विषयलाई भारत र चीन दुवैले मनन गरून् ।
– गोपाल देवकोटा, जोरपाटी, काठमाडौं

प्रकाशित : चैत्र १५, २०८० ०६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?