कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

के सिकाउँदैछ स्कुले शिक्षाले ?

शिक्षा र शिक्षित हुनुको महत्त्व त्यतिबेला मात्रै सार्थक हुन्छ, जब स्कुले शिक्षा विद्यार्थीको जीवन र जगत्‌सँग जोडिन्छ ।
मधु राई

नेपाल र नेपालीलाई कस्तो शिक्षा चाहिन्छ भन्ने विषयमा त्यति साह्रो बहस हुन सकेको छैन । को हुने खाने, को हुँदा खाने– सबैमा शिक्षाको भोक उस्तै छ । हिजोका दिन गाँस, बास र कपासको जोहो गर्दै आफ्ना छोराछोरीलाई शिक्षित बनाएका अधिकांश अभिभावकको सामाजिकभन्दा पनि आर्थिक हैसियत उक्सिएको छ । यस अर्थमा शिक्षित भएपछि आर्थिक हैसियत उस्किने रहेछ भन्ने भाष्य स्थापित भएको छ ।

के सिकाउँदैछ स्कुले शिक्षाले ?

धेरैको बुझाइमा शिक्षित हुनु भनेको आर्थिक रूपमा सबल र सक्षम हुनु भन्ने भाष्य खडा भएपछि अधिकांशमा शिक्षित हुने लालसा बढेको छ । आफूले प्राप्त गरेको शिक्षालाई मात्र आर्थिक सम्पन्नताको भर्‍याङ बनाएका बहुसंख्यक अभिभावक छोराछोरीलाई पनि आफू जस्तै शिक्षा आर्जन गरेर आर्थिक रूपमा सम्पन्न बन्न अभिप्रेरित गरिहेका छन् ।

विगतदेखि वर्तमानसम्म आइपुग्दा नेपाली शिक्षाले देशलाई चाहिने कस्तो जनशक्ति उत्पादन गर्‍यो र गर्दैछ भनेर विश्लेषण गर्ने हो भने अधिकांशलाई निराश तुल्याउँछ । किनभने जुनसुकै देशको शिक्षाले देश विकासका लागि चाहिने जनशक्ति उत्पादन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । हामीकहाँ भने स्कुले शिक्षाले विद्यार्थीलाई जनशक्ति होइन व्यक्तिकै रूपमा मात्रै हुर्काउँदै आएको छ । तहगत रूपमा शिक्षा आर्जन गर्दै आएका बालबालिकाले आफ्नो बाल्यावस्थादेखि किशोरावस्थासम्म ऊर्जाशील उमेर र समय खर्चेका हुन्छन् । विशेषगरी निजी विद्यालयबाट स्कुले शिक्षा पूरा गर्ने अधिकांशको लक्ष्य भनेको विदेश जाने र उतै घरजम गर्ने देखिन्छ । स्कुले शिक्षा नसकिँदै विदेशको सपना देख्नु । दुःखलाग्दो कुरा हो । आफ्नै मुलुकप्रति विकर्षण पैदा गराउने हाम्रो शिक्षाले आखिर विद्यार्थीलाई के सिकायो र सिकाउँदैछ भन्ने ठूलो प्रश्नचिह्न खडा भएको छ ।

विकसित मुलुकको शिक्षाले विद्यार्थीलाई जीवन र जगत्सँग जोड्न सिकाउँछ । आफूलाई चिन्न, मानवजीवनलाई बुझ्न तथा जगत्सँग जोड्न सिकाउने त्यहाँको शिक्षाले विद्यार्थीलाई राष्ट्र र राष्ट्रियतासँग नजिक हुन सिकाउँछ । विडम्बना, हामीकहाँ स्कुले शिक्षाले विद्यार्थीलाई दिग्भ्रमित पार्न अहम् भूमिका निर्वाह गर्दै आएको छ । पछिल्लो समय स्कुले शिक्षाले पलायनवादी सोचको विकास गर्न मलजल गर्दैछ भन्दा फरक नपर्ला । नेपाली शिक्षालयहरू विदेश र विदेशीलाई चाहिने अदक्ष र दक्ष जनशक्ति उत्पादन गर्ने पहिलो थलोका रूपमा परिणत हुँदै गएका छन् ।

अमेरिकी शिक्षाविद् जोन काल्डवेल हल्टले जुनसुकै देशका बालबालिकाले शिक्षाबाट तीनवटा कुरा खोजेको आफ्नो पुस्तक ‘अन्डरअचिभिङ स्कुल’ मा उल्लेख गरेका छन् । यसलाई सिकाइ समूहले सात वर्षअघि नेपालीमा ‘असफल स्कुल’ नाममा प्रकाशन गरेको थियो । उक्त पुस्तकमा हल्टले बालबालिकाले सबैभन्दा पहिले आफू वरिपरिका दुनियाँलाई राम्रोसँग बुझ्न चाहन्छन् भनेका छन् । दोस्रोमा, बालबालिकाले आफू स्वयंलाई विकसित गर्न चाहन्छन् । तेस्रोमा, उनीहरू आफ्नो विशेष रुचि र कुशलता प्रयोग गरेर वरिपरिको दुनियाँका समस्यासँग जुध्न र मानव समुदायको भलो गर्न चाहन्छन् ।

शिक्षाविद् हल्टले उल्लेख गरेका सवाललाई हाम्रा देशका शिक्षाका सरोकारवालाले आत्मसात् गरेको देखिँदैन । त्यसैको दुष्परिणाम भन्नुपर्छ, आज शिक्षाका बहुआयामिक पक्ष ओझेलमा पर्दै गएका छन् । शिक्षाका बहुआयामिक पक्ष भन्नाले त्यसको सकारात्मक प्रभाव हो । के गाउँ– के सहर, को निरक्षर– को शिक्षित । अधिकांश नेपाली शिक्षाकर्मीले नै शिक्षाका बहुआयामिक पक्षलाई नजरअन्दाज गर्दै आएका छन् । हुन त हिजोका दिनमा कतिपय निरक्षर तथा साक्षर अभिभावकले शिक्षाका बहुआयामिक पक्षलाई बुझ्ने कुरा पनि भएन । बस्, उनीहरूको समग्र बुझाइमा शिक्षित भएपछि छोराछोरीले सबै कुरा जानिहाल्छन् भन्ने थियो । तर व्यवहारमा शिक्षित छोराछोरीको सिकाइ र बुझाइमा आकाश–जमिनको फरक देखियो, देखिँदैछ । भविष्यमा अझ कस्तो रूपमा देखिने हो भन्ने चासो चिन्ता लिने शिक्षाका सरोकारवाला नगण्य मात्र छन् । यसो हुँदा हामीकहाँ स्कुले शिक्षाको शल्यक्रिया गर्न ढिला भइसकेको छ ।

शिक्षाविद् हल्टको भनाइ सापटी लिने हो भने नेपाली विद्यार्थीले चाहेको कुनै कुरा परिपूर्ति गर्न हाम्रा शिक्षालय असफलजस्तै देखिएका छन् । स्कुले शिक्षाको पहिलो खुड्किलो अर्थात् पूर्वप्रावि तथा प्रावितहको सक्रिय शिक्षण सिकाइअन्तर्गत विद्यार्थीले आफू वरिपरिको दुनियाँ थाहा पाउनुपर्ने हुन्छ । अफसोस, हाम्रो निष्क्रिय र अव्यावहारिक शिक्षण सिकाइले न विद्यार्थीले आफू वरिपरिको दुनियाँ थाहा पाउँछन्, न त आफूलाई विकसित गर्ने अवसर नै । यसको प्रमुख कारण माध्यम भाषा पनि हो । किनभने बोली नफुट्दै अरूको भाषा बोल्नुपर्ने र सिक्नुपर्ने बाध्यताले विद्यार्थीको समग्र सिकाइ प्रभावित भएको छ । यसो हुँदा विद्यार्थीको रुचि र अन्तर्निहित प्रतिभा न स्वयंलाई थाहा हुन्छ न त शिक्षक र अभिभावकले नै थाहा पाउने प्रयत्न गर्छन् । यस्ता कतिपय कारण स्कुले शिक्षा विद्यार्थीको जीवनसँग जोडिएको छैन । ऊ बाँच्ने जगत्सँग पनि यसले तादात्म्य राख्दैन । यसो हुँदा पनि शिक्षाका बहुआयामिक पक्ष गौण बन्ने गरेका छन् ।

जुनसुकै देशको शिक्षाका बहुआयामिक पक्षबारे सर्वप्रथम शिक्षाका संवाहक अर्थात् शिक्षकहरूले राम्ररी थाहा पाउनुपर्छ । त्यसपछि विद्यार्थीलाई सक्रिय शिक्षणमार्फत बुझाउनुपर्ने हुन्छ । हामीकहाँ यस्तो अभ्यासको पूर्णतया कमी छ । किनभने हामीकहाँ बहुसंख्यक शिक्षाकर्मीले शिक्षा र शिक्षण पेसालाई सतही रूपमा बुझ्दै आएका छन् । उनीहरूले शिक्षालाई देश विकासको मेरुदण्ड होइन जीविकोपार्जनको माध्यम बनाएको देखिन्छ । अर्को पक्ष निष्क्रिय शिक्षण सिकाइ हो । हाम्रो जस्तो मुलुकका अधिकांश शिक्षकमा बौद्धिक कर्म अर्थात् अध्ययन अनुसन्धान तथा लेखनमा भन्दा राजनीतिक सभागोष्ठीमा बढी व्यस्त हुने परिपाटी विकास भएको देखिन्छ ।

पछिल्लो समय जुनसुकै राजनीतिक दलमा शिक्षकको संलग्नता बुझिनसक्नु छ । यसरी शिक्षणसँगै राजनीतिक छविलाई समानान्तर अघि बढाएका अधिकांशको चाहना वा अन्तिम लक्ष्य भनेको राजनीतिकर्मी बन्नु हो न कि अनुसन्धानकर्ता वा विश्लेषक । राजनीतिक नेताहरूको पृष्ठभूमि नियाल्ने हो भने अधिकांश शिक्षण सेवाबाट राजनीतिमा उदाएकाहरू छन् । हिजो शिक्षक पृष्ठभूमिबाट राजनीतिमा उदाएका राजनीतिकर्मीले शिक्षा क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गरेको देखिन्न । जनमुखी शासन व्यवस्थाका लागि कस्ता रणनीतिक योजना र कार्यक्रम ल्याउनुपर्छ भन्ने विषयमा तीनै तहको सरकार अलमलिएको देखिन्छ । खासगरी राजनीतिकर्मीमा शिक्षा र स्वास्थ्यमा गरिने लगानीले दूरगामी र सकारात्मक प्रभाव पार्न सक्छ भन्ने सोचको कमी छ ।

शिक्षाविद् हल्टले भनेजस्तै मानवीय मूल्य र मान्यताको आधार नै शिक्षा हो भने शिक्षक संवाहक । यस अर्थमा मानवीय मूल्य र मान्यतालगायत शिक्षासँगै जोडिने सकारात्मक कुरामा शिक्षक जानकार र संवेदनशील हुन जरुरी छ । तब शिक्षाका बहुआयामिक पक्षबारे विद्यार्थीले थाहा पाउँछन् र सोहीअनुरूप जीवनको लक्ष्य निर्धारण गर्छन् । यसरी शिक्षाका बहुआयामिक पक्षबारे शिक्षाकर्मीहरू अनभिज्ञ रहेकै कारण स्कुले शिक्षा जीवन र जगत्बाट टाढिँदै गएका छन् ।

देशलाई समृद्धिको शिखरमा पुर्‍याउन तीनै तहको सरकारले दिगो विकासका पूर्वाधार तयार गर्न जरुरी छ । यसका लागि सरकारले शिक्षा र स्वास्थ्यमा पर्याप्त लगानी गर्नुपर्छ । देशलाई चाहिने जनशक्ति तयार गर्न साबिकका पाठ्यक्रममा परिमार्जन गर्नुपर्छ । स्कुलमा सामाजिक अध्ययनअन्तर्गत समावेश गरिएका कतिपय पाठको समयसापेक्षता र सान्दर्भिकताका बारेमा प्राडा चैतन्य मिश्रले आफ्ना लेखमार्फत बेलाबेला जनसमक्ष ल्याउने गरेका छन् । शिक्षक मासिकको नयाँ अंकमा उनले ‘सामाजिक शिक्षाको उपादेयता’ शीर्षकमा शिक्षाका बहुआयामिक पक्षबारे उल्लेख गरेका छन् । व्यक्ति, इतिहास र संसारको चरित्र र गतिलाई जोड्ने रसायन नै शिक्षा हो भनेका छन् । शिक्षित हुनु भनेको आफ्नै बलमा स्वतन्त्र भएर सोच्न र लेख्न सक्नु हो भन्ने उनको निष्कर्ष छ ।

शिक्षा र शिक्षित हुनुको महत्त्व त्यतिबेला मात्रै सार्थक हुन्छ, जब स्कुले शिक्षा विद्यार्थीको जीवन र जगत्सँग जोडिन्छ । त्यसैले जीवन र जगत्सँग जोडिने शिक्षा र यसका बहुआयामिक पक्षबारे बृहत् छलफल अपेक्षित छ ।

प्रकाशित : चैत्र २३, २०८० ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?