भुइँ राजनीतिका अनुभूति र अफवाह

आम जनताले सोसल मिडियामा कस्तो बोली प्रयोग गर्छन्, त्यो धेरै चिन्ताको विषय होइन, तर जनताको मतबाट नेतृत्वमा पुगेका कसैलाई पनि मनपरी बोल्ने, रिसको आगो ओकल्ने छुट छैन । यसले विकृत राजनीतिक संस्कृति मात्र मौलाउँछ, जनमत बन्दैन ।
कृष्ण खनाल

गएका दुई साता मैले नेपालको सबैभन्दा होचो ठाउँ भनेर चिनिएको झापाको केचनादेखि ताप्लेजुङको ओलाङचुङगोलासम्म भ्रमण गरें ।

भुइँ राजनीतिका अनुभूति र अफवाह

केचना भारतसँग जोडिएको गनगाई, राजवंशी, मुसलमान र पहाडे समुदायको मिश्रित बस्ती भएको सुदूर पूर्व–दक्षिणको सीमावर्ती गाउँ हो भने ओलाङचुङगोला चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको सुदूर पूर्वोत्तर सीमान्तमा अवस्थित सानो शेर्पा गाउँ । नेपालको सुदूर पूर्वमा उत्तर र दक्षिणका यी दुई बस्तीबीच यात्राका क्रममा मलाई नेपाली समाज, संस्कृति, राजनीति र विकास–निर्माणको विविध अनुभूति भयो । तर यहाँ यात्रा विवरण लेख्ने मेरो मनसाय होइन, त्यो छुट्टै लेखिनेछ । यसको एउटा पाटो राजनीतिको भुइँमा जनताका धारणा कस्ता छन्, कसरी बनेका छन् भनी देख्ने–सुन्ने अवसर हो । आज यो स्तम्भलाई त्यसकै सेरोफेरोमा केन्द्रित गर्नु सान्दर्भिक होला भन्ने लागेको छ ।

ताप्लेजुङ भ्रमणको उद्देश्य राजनीतिक थिएन, ओलाङचुङगोला पुग्ने हुटहुटी थियो । तर राजनीतिको अध्ययन–अनुसन्धानमा जीवन बिताएको व्यक्ति भएकाले भुइँ राजनीतिमा के भइरहेछ भनी जान्ने उत्सुकता नहुने कुरा भएन । म आफ्नो कुरा सुनाउन होइन, मौन रहेर अरूका कुरा सुन्न चाहन्थें । एकदुई सन्दर्भमा बाहेक मैले आफ्नो परिचय पनि दिएको थिइनँ । तथापि यो अवधिमा राजनीतिक दलका मानिसहरू, बाटामा भेटिएका सहयात्रीहरूसँग पनि देशको स्थितिबारे भलाकुसारी भए । सार्वजनिक यातायात र चियापसलमा मानिसहरू राजनीतिबारे खुलेर टीकाटिप्पणी गरिरहेका हुन्छन् । गोलामा एक जना शिक्षक भन्दै थिए, ‘नेता त बालेन (बालेन्द्र शाह) जस्तो चाहिन्छ ।’ ताप्लेजुङको सदरमुकाममा भेटिएका एमाले युवा भन्दै थिए, ‘दस वर्ष पनि नटिक्ने संघीयता किन चाहियो ?’ कांग्रेसका मानिसहरू भन्दै थिए, ‘गठबन्धन र माओवादीसँगको यो यात्रा कहिलेसम्म चल्छ ?’ राष्ट्रिय स्वतन्त्र पार्टीका एक कार्यकर्ता गर्वसाथ दाबी गर्दै थिए, ‘अबको चुनावमा हामी पहिलो पार्टी बन्ने हो । मुलुकमा स्थिरता, सुशासन र समुन्नति कायम गर्ने हो ।’

फर्किने क्रममा धरानदेखि चतरा, गाईघाटको बाटामा म माइक्रो बसमा थिएँ । केही सिट खाली थिए । चालक र सहयोगी दुवै थप यात्रु पाइन्छ कि भनेर बाटो हिँड्नेलाई कहाँ जाने भनेर सोधिरहन्थे । केही यात्रुहरू बीचमा चढ्ने र ओर्लने क्रम चलिरहेको थियो । गाईघाटमा एक महिला चढिन् । गाडीभित्र छिरेपछि उनको अविराम प्रवचन हुन थाल्यो । इजरायलमा मारिएका नेपालीबाट प्रारम्भ भएको उनको एकोहोरो प्रवचन दुर्गा प्रसाई, रवि लामिछाने, हर्क साम्पाङ, बालेन्द्र शाह, ज्ञानेन्द्र (ज्ञानबहादुर) शाही हुँदै नेपालटार पुग्नुअघिको घुम्ती बाटामा रात–साँझ हुने चमत्कार र रहस्यमयी घटनाको विवरण हुँदै उनी आफ्नो गन्तव्यमा नझरेसम्म जारी रह्यो । समथर भए पनि बाटाको त्यो एउटा सानो खण्ड टाउकै रिँगाउने नागबेली परेको रहेछ, खास गरी बाइक र स्कुटीचालक सावधान नभए लड्ने सम्भावना बढी हुन्छ । त्यसैलाई अदृश्य शक्तिको खेल हो भन्ने स्थानीय धारणा बनेको रहेछ । बाइकबाट मान्छेलाई नै तानेर छुट्याइदिन्छ भन्थे ।

ती महिला यात्रु रवि लामिछाने संगठन विस्तारमा अलमलिए भनेर असन्तोष व्यक्त गर्दै थिइन् । माइक्रो बसको सहयोगी भाइले ‘हो, हो’ भन्दै उनको कुरामा सही थापे, बाँकी हामी यात्रुहरूले निर्विवाद उनका कुरा सुनिरह्यौं । खासै नयाँ थिएनन्, कथित सामाजिक सञ्जालमा छ्यापछ्याप्ती पाइने कुरा नै हुन् । तर यसले गर्दा मेरो मस्तिष्क अरू खलबलिन थाल्यो । चालु राजनीतिमा विचार, सिद्धान्त र प्रक्रियाभन्दा अफवाहको मात्रा ज्यादा हुन्छ । यसलाई फिल्टर गर्ने काम बुद्धिजीवी, सञ्चारमाध्यम र राजनीतिक दलहरूको हो । तर अहिले जनधारणा बनाउने माध्यम भनेको मानिसका हातहातमा रहेका मोबाइल फोनका सोसल एप्स हुन् । सामाजिक भन्ने कि असामाजिक, यी सञ्जाल अहिले राजनीतिक–सामाजिकीकरण (पोलिटिकल सोसलाइजेसन) को नयाँ तर चुनौतीपूर्ण एजेन्सी भएका छन् । राजनीतिक धारणा बनाउने पुराना स्थापित माध्यमहरू दिन–प्रतिदिन निरीह र असान्दर्भिक भइरहेका छन् । सिद्धान्त र दर्शनका कुराहरू किताबका पानामै सीमित भएका छन् । यो नेपालमा मात्र होइन, विश्वव्यापी समस्या हो ।

कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिइसकेका थिए, अर्को नियुक्तिका लागि प्रदेश प्रमुखले प्रदेशसभाका सदस्य र दलहरूलाई आह्वान गरेका थिए । सत्ता गठबन्धनबाट माओवादीका इन्द्र आङ्बो नयाँ मुख्यमन्त्री बन्ने चर्चा आइरहेको थियो । तर ती महिला यात्रुको धाराप्रवाहमा कोशी प्रदेशको अस्थिर राजनीति र मुख्यमन्त्रीको अदलबदलबारे चर्चा थिएन । अर्थात्, उनी कांग्रेस, कम्युनिस्टभन्दा पृथक् नयाँ राजनीतिक अवतारको प्रतीक्षामा थिइन् । ती यात्रुले दुर्गा प्रसाईले ‘बैंकको ऋण मास्दैन, तिर्छ, केही ढिलो हुनु कुनै अपराध होइन’ भनेर उनको प्रतिरक्षा पनि गर्दै थिइन् । उनी आफू प्रसाईको व्यवसायमा संलग्न नभएको, तर अर्को कुनै व्यवसायीको नाम लिँदै उसको व्यवसायमा कोशी प्रदेश हेर्छु भन्दै थिइन् । उनले गाउँमा ठूलो आर्थिक शोषण लघुवित्तबाट भइरहेको भन्दै त्यसविरुद्ध प्रसाईको आक्रमणको पनि समर्थन गरिन् । उनको कुरा सुन्दै जाँदा मलाई लाग्यो, अहिलेसम्म केपी ओली, पुष्पकमल दाहाल प्रचण्डदेखि पूर्वराजा ज्ञानेन्द्र शाहसम्मलाई खेलाउँदै आएका दुर्गा प्रसाई वा यस्तै अरू कोही कोशी प्रदेशको राजनीतिमा नयाँ आवतारका रूपमा देखा पर्दै छन् ।

काठमाडौंमा मात्र होइन, ताप्लेजुङमा पनि मैले कांग्रेस–एमाले सत्ता सहकार्यको चर्चा सुनेको थिएँ । यो स्तम्भ लेख्दालेख्दै कोशी प्रदेशमा यो अभ्यासको प्रारम्भ भएको छ । मुख्यमन्त्रीमा कांग्रेसको शेखर कोइराला समूह र एमालेको समर्थनमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री नियुक्त भएका छन् । यसको परिणाम अनुमान त गर्न सकिन्छ तर कहाँसम्म पुग्छ, भन्न सकिन्न । देउवा नेतृत्वको भस्मासुरे चालमा कांग्रेस विभाजन नहोला भन्न सकिन्न । यी दुवै पार्टी अहिले समानुपातिक निर्वाचन प्रणालीको विपक्षमा मुखरित भइरहेका छन् । समानुपातिकको अंश हटाउने हो भने एक दलको बहुमतीय सत्ता बन्ने र स्थिरता हुन्छ भन्ने बुझाइ छ, जुन यथार्थ होइन । समानुपातिक नहुँदा पनि प्रतिनिधिसभामा कुनै एक दलको बहुमत नहुन सक्छ । त्यसका उदाहरण विगतमा नेपाल, संयुक्त अधिराज्य बेलायत, भारत, जापान पनि छन् । अर्को कुरा, संघीयता, समानुपातिक प्रतिनिधित्व उनीहरूको रोजाइबाट आएको होइनÙ चाहेर पनि उनीहरूले त्यसलाई रोक्न नसकेका हुन् । त्यसको प्रतिरोध वा उल्टाएर समस्या समाधान हुँदैन, सकारात्मक अभ्यास र सुधार आवश्यक छ । कांग्रेस, एमाले र माओवादीका वर्तमान नेतृत्वले जनतामा प्रचारात्मक रूपमा फैलिँदै गएका धारणालाई सम्बोधन गर्न सक्तैनन्, साथ पनि पाउँदैनन् । जनता वाक्कब्याक्क हुनुको कारण पार्टीभन्दा पनि नेतृत्व हो । बेलैमा नयाँ नेतृत्वले ठाउँ पाउन सके अर्को चुनावमा यी पार्टी जोगिन पनि सक्छन् ।

राजनीतिमा वैकल्पिक शक्ति, वैकल्पिक विचार, वैकल्पिक नेतृत्वजस्ता विकल्पका कुरा सकारात्मक हुन् । त्यस अर्थमा राष्ट्रिय स्वतन्त्र पार्टी (रवि लामिछाने), जनमत पार्टी (सीके राउत) को उदय सकारात्मक सूचक हुन् । सहमति–असहमति आफ्नो ठाउँमा छ, तर यसले विकल्प मात्र होइन, राजनीतिलाई नै जीवन्त र गतिशील बनाउन सहयोग गर्छ भन्ने मेरो बुझाइ छ । यात्रा क्रममा सुनिएका यी कुराले राजनीतिको भुइँमा मानिसहरू विकल्प होइन, चमत्कारी अवतारको खोजीमा छन् भन्ने देखाउँछन् । बालेन असंगठित र प्रतिक्रियात्मक राजनीतिको एउटा अवतार हुन् । हर्क साम्पाङको सामाजिक चेहरा धरानमा परिचित छ, जुन बालेनको छैन । तर बालेनको चमत्कारी रूप देशभर फैलिएको छ ।

यसै दैनिक (असोज १२) मा सुधीर शर्माले नेपालीले हरदम चमत्कारी नायक खोजिरहने प्रवृत्तिको चर्चा गरेका रहेछन् । यस्तै, घनश्याम ओझाले (नयाँ पत्रिका, २६ असोज) जनताले ‘स्ट्रङ म्यान’ खोजेको कुरा उठाएका छन् । अस्थिर राजनीति र नेतृत्वमा बस्नेले जनतालाई विश्वासमा लिन नसक्दा यस्तो प्रवृत्ति बढ्नु स्वाभाविक हो । नेपोलियन, हिटलर, मुसोलिनीको उदय अस्थिर राजनीति र अनिश्चित संक्रमणको परिणाम थियो । नेपालमै पनि जंगबहादुरको उदय यस्तै एउटा दृष्टान्त हो । गत चुनावमा रवि लामिछाने, बालेन, हर्क साम्पाङहरूको उदय यसका प्रतिनिधि रूप हुन् । तर यो बृहत् नाटक मञ्चनको कास्टिङ हो वा राजनीतिक असन्तोषका क्षणिक छिटा मात्र, छुट्याउनु जरुरी छ ।

हिन्दु पौराणिक कथाहरूमा जब समाजमा अधर्म अर्थात् अत्याचार, अन्याय बढ्छ, नयाँ अवतारको चक्र नै दिइएको पाइन्छ । गीतामा श्रीकृष्ण भन्छन्, ‘यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत, अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ... धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ।’ भागवत पुराणमा भनिएको कल्क अवतारको भविष्यवाणी कति सार्थक छ, म भन्न सक्तिनँ । धार्मिक ग्रन्थका सामाजिक सन्दर्भहरू अहिले पनि छन्, तर तिनले राजनीतिलाई निर्देशित गर्ने कुरा अब पुरानो भइसक्यो । राजनीतिका नयाँ सिद्धान्त र प्रयोगहरू स्थापित भएका छन् । आजको समाज र सभ्यतालाई अगाडि बढाउने आधार भनेको विज्ञान हो, यसको अभ्यासमा हामीले आर्जन गरेको ज्ञान र अनुभव हो । हाम्रो सामाजिक–राजनीतिक प्रगतिको बाटो पनि यही हो । योबाहेक अर्को बाटो ग्राह्य छैन । त्यो टिक्ने कुरा पनि होइन ।

राजनीतिक अस्थिरता बढेका बेला कतिपय देशमा संवैधानिक प्रक्रियाहरू विचलित भएका छन् । यस्तो बेला सेना अगाडि आएका दृष्टान्तहरू पनि छन् । दक्षिण एसियामै पाकिस्तान र बंगलादेशमा सैनिक ‘कू’ को लामो शृङ्खला पाइन्छ । अफ्रिकामा यो क्रम अहिले पनि जारी छ । नेपालमै पनि सेनापति बरखास्तगी प्रकरणमा यस्तो सम्भावनाको चर्चा नभएको होइन । वास्तवमा पहिलो संविधानसभाको अन्त्य र केपी ओलीले संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेको समय सैनिक हस्तक्षेप (कू) का लागि उर्वर थियो । तर नेपालको भूराजनीति त्यसका लागि अनुकूल छैन । त्यसका लागि बाह्य, खास गरी दायाँ वा बायाँ छिमेकीको आडभरोसा चाहिन्छ जुन सहज छैन । त्यस्तो कदम सेनाकै लागि पनि प्रत्युत्पादक हुन्छ । राजनीतिमा म संविधान र लोकतन्त्रभन्दा अर्को बाटाको कल्पना गर्न सक्तिनँ, त्यो बाटो हामीलाई स्वीकार्य छैन ।

मलाई पनि लाग्छ, स्थापित संवैधानिक राजनीतिक प्रक्रिया गतिहीन भयो । यसले समाजलाई अग्रगति दिन सकिराखेको छैन । नयाँ इतिहास निर्माण गर्ने परिवर्तनहरू उद्देश्यहीन साबित हुँदै गएका छन् । परिवर्तनका वाहक दल र नेतृत्व नाकाम सिद्ध भएका छन् । कांग्रेस, एमाले, माओवादी कसैका प्रति जनताको विश्वास छैन । राजनीतिप्रति नै व्यापक वितृष्णा बढेको छ । राजनीति भुइँ कुहिरोले ढाकेको छ । कहाँ पुग्छ त अबको नेपाली राजनीति ? कसले डोर्‍याउन सक्छ यसलाई ? निरन्तरको राजनीतिक अस्थिरता र सरकार अदलबदलबाट आजित भएको फ्रान्सेली संसद्ले सैनिक पृष्ठभूमिका चार्ल्स दे’गाललाई विशेष अधिकारसहित पहिले प्रधानमन्त्री र त्यसलगत्तै राष्ट्रपति चुन्यो । त्यतिखेर फ्रान्सको अवस्था यति तरल थियो कि दे’गाल तानाशाह पनि बन्न सक्थे । तर उनले संसदीय र राष्ट्रपतीय व्यवस्थामिश्रित नयाँ राजनीतिक प्रणालीको प्रयोग गरे । पाँचौं फ्रान्सेली गणतन्त्रका रुपमा परिचित त्यो व्यवस्थाले फ्रान्समा राजनीतिक स्थिरता दिँदै आएको छ । कतिपय देशका लागि नमुनासमेत भएको छ ।

नेपालको वर्तमान अवस्था दे’गालको समयको फ्रान्सको जस्तो होइन । संवैधानिक प्रणाली क्रियाशील छ । यसको सकारात्मक र प्रगतिशील संस्थागत अभ्यास गर्न सकिन्छ । संविधानले त्यसका लागि पर्याप्त ठाउँ दिएको छ । अहिले राजनीतिमा जेजति नयाँ अनुहार र पार्टी उदाएका छन्, ती सबै संविधान र निर्वाचन प्रक्रियाभित्रैका उपज हुन् । चुनावका माध्यमबाट सत्तामा परिवर्तन गर्न सकिन्छ भन्ने जनताको विश्वास बलियो भएको छ । त्यसका सम्भावनाहरू पनि बढिरहेका छन् । तर राजनीति गर्नेहरूको अनुहार सधैं खुला र चिनिएको हुनुपर्छ । आम जनताले सोसल मिडियामा कस्तो बोली प्रयोग गर्छन्, त्यो धेरै चिन्ताको विषय होइन, तर जनताको मतबाट नेतृत्वमा पुगेका कसैलाई पनि मनपरी बोल्ने, रिसको आगो ओकल्ने छुट छैन । यसले विकृत राजनीतिक संस्कृति मात्र मौलाउँछ, जनमत बन्दैन । तीव्र प्रतिक्रियाले तत्काल केही परिणाम दिए पनि त्यो टिक्दैन ।

प्रकाशित : आश्विन २८, २०८० ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?