२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८०

मनका डाक्टरलाई अवश्य भेटौं

धेरै बजेट नचाहिने मानसिक रोग उपचार योजना अझै पनि हाम्रो मूल स्वास्थ्य नीतिभित्र समेटिन सकेको छैन
अजय रिसाल

मनको डाक्टर’ भइएको पनि चौध वर्ष लागिसकेछ । मान्छेका मनका कुरा सुन्ने–सुनाउने, बुझ्ने–बुझाउने अध्ययन–तालिम (एमडी) का लागि खर्चिइएको तीन वर्ष अनि पूर्वतयारीको समयसमेत जोड्दा त झन्डै दुई दशकको लगानी परिसकेको छ, यस क्षेत्रमा । त्यस क्रममा थुप्रै मनका कथा पढें–सुनें–देखें–भोगें । केही वियोगान्तक कथाहरूको साक्षी बनें । केहीलाई भने संयोगान्तक रूपमा पूर्णविराम लगाउन सफल नै भएँ ।

मनका डाक्टरलाई अवश्य भेटौं

यस अवधिमा आफूले आफैंलाई मार्ने (आत्महानि/आत्महत्या) प्रयास गरेका व्यक्तिहरूका मनका कथा पनि निकै नजिकबाट महसुस गर्न पाएको छु मैले । ती कथाभित्रका व्यथालाई बुझ्न खोज्दा मलाई अझै पनि अप्ठ्यारो लाग्ने गर्छ । तैपनि तिनका मनोभावनाको विस्तृत अध्ययन गरेर निदान–उपचारको प्रयास भने गर्ने गरेको छु । धेरैमा सफल नै भएको पनि छु । तर पनि योजत्तिको अस्पष्ट, निराशाजनक, अपजसे अनि मनमा उद्वेग पैदा गर्ने अर्को कुनै विषय नै छैन, मेरा लागि । छापामा, समाचारहरूमा, सामाजिक सञ्जालमा, देशमा–विदेशमा, ज्ञात–अज्ञात व्यक्ति जसको पनि आत्महत्याको खबर पढ्दा–सुन्दा एकतमास बनिदिन्छ, मेरो मन ।

खबरहरू पनि कस्ताकस्ता हुन्छन् !

  • १८ वर्षे किशोरीले विष सेवन गरिन् ।
  • ७३ वर्षीय वृद्धले पासो लगाएर मर्ने प्रयास गरे ।
  • ४५ वर्षीया विवाहिता महिलाको इनारमा डुबेर मृत्यु ।
  • एसएलसीमा असफल भएकाले आत्महत्या ।
  • एउटी महिलाले आफ्ना कलिला बालबालिकालाई विष खुवाएर आफू पनि मरिन् ।
  • श्रीमान्ले श्रीमती–छोराछोरीसहित नदीमा फाल हाले ।

कोरोनाकालमा झन् ह्वात्तै बढेका थिए यस्ता घटना । बालबालिकाहरू आफू बस्ने छात्रावासमै पासो लगाएर मरेको जस्ता घटनासमेत नौला छैनन्, हामीलाई । कलाकार, चिकित्साकर्मी, प्रशासक, किसान, गृहिणी कोही पनि अछुत रहन सकेका छैनन्, यस मामिलामा ।

समाजमा लोकप्रिय व्यक्तिहरूको आत्महत्यापछि त अझै केही दिन यस्तै किसिमका अनेकौं दुःखदायी घटनाका खबरहरूले तरंगित भइरहेका हुन्छन्, मिडिया अनि सामाजिक सञ्जाल । अचेल त झन् ‘आत्मदाह’ जस्ता हृदयविदारक घटनाहरूको साक्षी हुनुपर्ने विडम्बनापूर्ण समय चलिरहेको छ ।

आत्महत्या गरिसकेपछि त तिनलाई फर्काउन सकिँदैन । त्यसैले आत्महत्याको खबर मात्रले नै पनि आफू मनोचिकित्सकको जिम्मेवारीबाटै च्युत भइयो कि भन्ने पश्चात्तापको पीडा ममा हुने गर्छ । असफल शल्यक्रियाका कारण अपरेसन टेबलमै बिरामी मरेपछिका शल्यचिकित्सकलाई झैं, उपचारप्रक्रिया चालु राख्दाराख्दै मृत्युवरण गर्न पुगेका मुटुरोगीका चिकित्सकलाई झैं, अनि असाध्य क्यान्सर बिरामीका डाक्टरलाई झैं, आत्महत्या कोही कसैले गर्दा पनि नैराश्यले गाँज्छ मलाई । अचम्म लाग्छ, संसारभरका आत्महत्याका लागि म आफैंलाई जिम्मेवार ठान्छु ।

आत्महत्या सधैंभरि नै मेरो मनमस्तिष्कमा खेलिरहेकै हुन्छ । अस्पतालमा बिरामीहरूसँगको चिकित्सकीय संलग्नता, अध्ययन–अध्यापनमा विद्यार्थीहरूसँगको प्राज्ञिक सम्बन्धन अनि अनुसन्धान–अन्वेषणमा रहने गरेको अनुबन्धन, छलफल, चिन्तन–मनन, विचार–मन्थन आदिमा आधारित रहेर यो अवधिमा आत्महत्यासँग सम्बन्धित १५ जनचेतनामूलक लेख छपाएको रहेछु मैले, पत्रपत्रिका–अनलाइनहरूमा अनि तीन अनुसन्धानात्मक लेख रहेछन् मेडिकल जर्नलहरूमा आएका ।

आत्महत्या विश्वव्यापी नै छ । बर्सेनि करिब ८ लाख व्यक्ति (नेपालमा ७ हजार) आत्महत्याका कारण मर्छन् । किशोरावस्थामा दुर्घटनापछि आत्महत्या नै तिनको अकाल मृत्युको कारक मानिएको छ । एउटा व्यक्तिको आत्महत्या–मृत्युले अन्य छ जनालाई प्रत्यक्ष असर पार्ने अनुमान छ ।

शैक्षिक अन्तरक्रिया, औपचारिक चर्चा, अनौपचारिक गफ, मिडिया अन्तर्वार्ता आदिमा संलग्न रहँदा बिरामी–बिरामी पक्ष, विद्यार्थी, सहकर्मी चिकित्सक, शिक्षक, पत्रकार, कानुनविद्, राजनीतिकर्मी अनि जनसाधारणमा समेत आत्महत्यासँग सम्बन्धित भ्रम–जिज्ञासा पाएको छु मैले । त्यसैले आत्महत्या न्यूनीकरणका लागि ती सबैको उचित समाधान खोजेर जनमानसलाई सुसूचित गराउन अत्यावश्यक नै छ ।

कार्य–कारण सम्बन्धको एक्लो मानकले इंगित गर्न नसकिए पनि आत्महत्यालाई मनोसामाजिक समस्याहरू जटिल बन्दै गएको वियोगान्तक अवस्था नै मान्छौं हामी । जैविक कारकमा आनुवंशिकता अनि सेरोटोनिन रसायनको कमीलाई मानिएको छ । आत्महत्या गर्ने प्रायशः व्यक्तिहरू कुनै न कुनै मानसिक रोगले पीडित हुन्छन्Ù जस्तै— डिप्रेसन, बाइपोलार डिसअर्डर, साइकोसिस, दुर्व्यसनजन्य रोग । यी मानसिक रोगहरूका साथै ‘आत्महत्या गर्ने प्रवृत्ति’ का लागि पनि आनुवंशिकता जिम्मेवार हुन सक्छ । मनोरोगहरूको शीघ्र पहिचान एवं उपचार मात्र गर्न सक्ने हो भने ९०–९५ प्रतिशत आत्महत्या नियन्त्रण गर्न सकिन्छ ।

यसका मनोवैज्ञानिक–सामाजिक अवयव पनि छन् । गरिबी, अभाव, चेतनाको कमी, घरेलु हिंसा, गृहकलह हाम्रो परिवेशमा महत्त्वपूर्ण छन् भने विकसित राष्ट्रहरूमा औद्योगिकीकरण, पारिवारिक विघटन, सामाजिक उतारचढाव, भौतिकवादी–व्यक्तिवादी–उपभोक्तावादी संस्कृति, आध्यात्मिक चिन्तनको कमीलाई जिम्मेवार मानिएको छ ।

बेलाबेला समाचारहरूमा छाउने गरेका पारिवारिक अनि विद्यार्थी या कृषक वर्गको सामूहिक आत्महत्याले भने यसको सरुवा रूपलाई देखाउँछ । विश्वइतिहासमै पनि धार्मिक–साम्प्रदायिक अनुबन्धनमा या अन्धविश्वासको चपेटामा परेर समूहगत स्व–मृत्युवरण गरेका सन्दर्भहरू छन् । राजनीतिक कारणले आत्मघाती विस्फोट या सामूहिक आत्मदाहका घटना पनि देखिएका छन् । यसरी आत्महत्या गर्ने प्रवृत्ति नै पनि संक्रामक हुन सक्छ । प्रत्यक्ष–अप्रत्यक्ष, व्यक्तिगत–सामाजिक सामीप्य–सम्बन्धहरूका कारण यस्तो विचार–इच्छा एक व्यक्तिबाट अर्कोमा सर्न सक्छ । सामाजिक सञ्जालको व्यापकता रहेको आजको समाजमा त झनै भयावह हुन सक्छ । त्यस्तै, एकअर्काको देखासिकी या नक्कल, ठूलाबडाको अनुकरणले पनि यसमा बढोत्तरी ल्याउन सक्छ । नेता, कलाकार या सिनेकर्मीहरूजस्ता प्रसिद्ध व्यक्तिहरूको आत्महत्याको खबरले अन्यलाई पनि आत्महत्यातर्फ प्रवृत्त गराउन सक्ने अध्ययनहरूले दर्साएका छन् । व्यक्तिगत स्वार्थभन्दा समूहगत स्वार्थ हावी भएको या एकै किसिमका चिन्ता–तनावले ग्रस्त गराएको समूह (परिवारका सदस्यहरू) पनि एकैसाथ मर्न तम्सिन सक्ने मनोवैज्ञानिक पक्ष पनि औंल्याइएका छन् ।

बढ्दो आत्महत्यालाई खालि कानुनी (आपराधिक), सामाजिक, आर्थिक अनि सांस्कृतिक चस्माले मात्र हेरेर पुग्दैन । हामी मनोचिकित्साकर्मीहरू आत्महत्यालाई मानसिक स्वास्थ्य समस्या नै मान्ने गर्छौं । मानसिक समस्याहरूको समयमै निदान अनि उपचार गर्न सकेमा कुनै पनि मानसिक रोगीमा आत्महत्याको विचारलाई नियन्त्रण गर्न सकिन्छ । फेरि आत्महत्या प्रयासका कारण हाम्रो सम्पर्कमा आएर उचित उपचार पाएकाहरूले पुनः त्यस्तो प्रयास गर्ने सम्भावना पनि कमै हुन्छ । तर हाम्रो विडम्बना, त्यत्ति साह्रो बजेट नचाहिने मानसिक रोगहरूको उपचार योजना अझै पनि हाम्रो मुलुकको मूल स्वास्थ्य नीतिभित्र समेटिन सकेको छैन । मानसिक स्वास्थ्यलाई सामुदायिक स्वास्थ्यभित्र बृहत्तर रूपमा अटाउन सके मात्र आत्महत्या न्यूनीकरण कार्यक्रम प्रभावकारी बन्न सक्छ ।

आत्महत्या संक्रामक हुन सक्ने तथ्यलाई हृदयंगम गरेर मिडियाकर्मीहरूले यस्ता समाचारहरूको सम्प्रेषण गर्दा स्पष्ट मिडियाधर्मको परिपालना गर्नुपर्छ । अनलाइन–पत्रपत्रिका, टेलिभिजन–रेडियो जुनसुकै मिडियामा आत्महत्याबारे तथ्यपरक एवं संक्षिप्त सूचना मात्र प्रवाहित गर्नुपर्छ । आत्महत्या गर्ने व्यक्तिका निजी जीवनका पाटाहरूलाई कारक तत्त्वका रूपमा उभ्याएर त्यसलाई सामान्यीकरण कदापि गर्नु हुँदैन । आत्महत्याका लागि अपनाइएका विधि–तरिकाहरूको विस्तृत व्याख्या गर्नेतर्फ कहिल्यै लाग्नु हुँदैन । आत्महत्याका समाचारहरूलाई बारम्बार दोहोर्‍याइरहनु या यसको महिमामण्डित हुने तवरले प्रकाशन–प्रसारण गर्नु हुँदैन । आत्महत्याका नकारात्मक समाचारहरू मात्र नभई आत्महत्याबाट जोगिएका व्यक्तिहरूका सकारात्मक कथाहरू पनि प्रसारित–प्रकाशित गरिनुपर्छ । आत्महत्या अनि मानसिक रोगहरूबाट जोगिने उपायहरू एवं मनोसहारा प्रदान गर्ने उपयोगी हटलाइन नम्बर या सहयोगी स्रोतहरूबारे पनि उल्लेख गर्नुपर्छ । यो मार्गनिर्देशनको पूर्ण परिपालना गरेमा मात्र मिडियाले आत्महत्याको गाम्भीर्यको सही चित्रण गरेको मान्न सकिन्छ ।

आत्महत्याबारे खुलेर कुरै गर्न नहुने या यसलाई लुकाउनैपर्ने गलत धारणा समाजमा व्याप्त छ । वास्तवमा, मनमा लुकेर रहेका उदासीनता, हीनभावना, नकारात्मकता या ‘मर्ने चाहना’ स्पष्ट व्यक्त गराउन सकेमा मात्र त्यसको उचित निदान अनि उपचार गर्ने बाटो बन्छ । यही नै हामी मनोचिकित्साकर्मीहरूको काम–कर्तव्य–जिम्मेवारीभित्र पर्छ । त्यसैले आत्महत्याको सम्भावना भएका व्यक्ति या समूहको पहिचान गरेर तिनलाई मनका कुरा नलुकाईकन अभिव्यक्त गर्न अभिप्रेरित गर्नुपर्छ । स्कुल, विश्वविद्यालय, अस्पताल अनि सार्वजनिक ठाउँहरूमा मानसिक स्वास्थ्य अनि आत्महत्याबारे सुसूचित गराउने कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ । मिलेसम्म स्कुले शिक्षामै मानसिक स्वास्थ्यको पाठ्यक्रम राखेर विद्यार्थीहरूलाई आत्महत्या निराकरणको पाठ पढाइनुपर्छ । हाम्रा सामाजिक एवं सांस्कृतिक विधि–व्यवहार आदिले पनि आत्महत्यामा न्यूनीकरण ल्याउन सक्छन् । प्रौढ–वयस्क समूहहरूसँग अनुभव आदानप्रदान गर्ने–गराउने एवं श्रीमद्भगवद्गीताजस्ता आध्यात्मिक स्रोत–ग्रन्थहरूको अध्ययन–सत्संगजस्ता क्रियाकलापहरूले पनि तनाव व्यवस्थापन गर्न मद्दत पुर्‍याउन सक्छन् ।

तर, यी सबै कार्यक्रम सञ्चालन गर्न हामी मनोचिकित्साकर्मीहरूको एक्लो प्रयास मात्र काफी हुँदैन । सरकारी निकायहरूसँगसँगै शिक्षक, पत्रकार, सामाजिक कार्यकर्ता, राजनीतिकर्मी, पाठकवर्ग, यहाँहरू सबैको सामूहिक हातेमालोले मात्र यो अभियान सफल बन्न सक्छ । तर, चुरो कुरो भने एउटै नै छ— मनका कुरा कदापि नलुकाऔं, मनको डाक्टरलाई अवश्य भेटौं ।

काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेस अन्तर्गत मनोचिकित्सा विभागमा प्राध्यापन गर्छन् ।

कान्तिपुर मनोस्वास्थ्य विमर्श :

प्रकाशित : श्रावण २२, २०८० ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?