नागरिक बेच्ने शासकहरू

देश संगीन मोडमा आइपुगेको छ । यसलाई थप दरिद्र हुन नदिन र अघि बढाउन नेपाली समाज सामूहिक योग्यताको गठजोड गरेर देश बेच्ने शासकविरुद्ध नयाँ आँधी उमार्न अग्रसर हुन्छ कि हुँदैन, यसैले निर्धारण गर्नेछ नेपाली समाजको अबको लय ।
यस्तो लाग्छ, अब शासकहरूले बेच्न बाँकी केही छैन, देशै लिलाममा राख्नेबाहेक । हामी संसारकै गरिब, दरिद्र र हीनतर त छँदै थियौं, देशको स्वाभिमानसमेत लिलाममा चढाउनेहरूलाई पालैपालो सत्ताको गजुर पहिर्‍याउने संसारका निकम्मा मानिसहरूमा समेत दर्ज भएका छौं ।
यादव देवकोटा

विक्रम संवत् १८७१–७२ को नेपाल–अंग्रेज युद्धपछि नेपाली समाजको परम्परागत सास्कृंतिक–सामाजिक चिन्तनधाराले नयाँ अभ्यासको बाटो समात्यो ।

नागरिक बेच्ने शासकहरू

आफू समाहित राज्यका लागि दुई बित्ता भए पनि भूगोल जोड्ने अभ्यास नागरिक चेतनामा प्रवाहित थियो । त्यही चेतनाबाट अभिसारित मानिसहरू आफ्नो राज्यका लागि लड्नु र राज्यको भूगोल बढाउन युद्धमा सरिक हुनुलाई व्यक्तिगत अभीति र सामाजिक प्रतिष्ठाको विषयका रूपमा प्रदर्शन गर्न अनुरक्त थिए । राज्यको भूगोल बढाउन अभिघातक क्रियामा देखाउने प्रभावका आधारमा राज्य अधीनस्थ भूगोलबाट उठ्ने सिर्तोमा उसको हिस्सेदारीको पैमाना निर्धारण हुन्थ्यो । अर्थात्, सिर्तो उठाई खाने जमिनको उब्जाउको योग्यता र क्षेत्रफल निर्धारण हुन्थ्यो । शासकीय पदसोपानमा उसको हैसियतमाथि ठप्पा लाग्थ्यो ।

यसैले पनि राज्यका लागि जमिन जोड्ने अभियान नागरिकका लागि जीवन निर्वाह गर्ने र जीवन निर्वाहका लागि राज्यको निगाह प्राप्त गर्ने दैनन्दिन क्रियासमेत थियो । जीवनमरणको सवालका रूपमा नागरिकको जीवनाभ्यासमा प्रवाहित थियो । त्यही अभ्यासले उत्कर्षको स्वरूप ग्रहण गर्दा १२ हजार कुरिया भएको गोर्खा राज्य टिस्टादेखि काँगडासम्म विस्तारित भएको थियो । त्यो बेरोकटोक विस्तार अभियानले कहीँ न कहीँ अवरोधको पहाडको सामना गर्नुपर्ने नै थियो, ढिलोचाँडो ।

अनेकन् भारदार र तिनका नाबालक सन्तानसमेतको अमानवीय र नृशंस कत्लेआम गरेर सत्तामा ढलीमली गरेका भीमसेन थापालाई आफ्नो सत्तामाथि केन्द्रित नागरिक असन्तोषलाई विषयान्तर गर्ने मौका चाहिएको थियो । आजको भारतका तत्कालीन अनेकन् राज्यमाथि उपनिवेश कायम गरेर बसेको ब्रिटिस इस्ट इन्डिया कम्पनीले राज्य विस्तारको फुक्काफाल अभियानमा बत्तिएको गोर्खाबाट चुनौती महसुस गर्न थालेको थियो । परिणामतः ऊ गोर्खाली विस्तार अभियानको टाउकामा घन बजार्न अग्रसर भयो ।

बुटवल र स्युराज (शिवराज) नामका दुई गाउँको अत्तो थापेर किचलोका लागि अग्रसर ब्रिटिस चालबाजीलाई टार्नुको सट्टा (जिन्दगी नै गोर्खा राज्यको भूगोल विस्तारमा बिताएका जनरल अमरसिंह थापाजस्ता फिल्ड कमान्डरहरूले दिएको युद्ध टार्ने सल्लाह मान्नुको सट्टा) भीमसेनले राज्यलाई ब्रिटिससँगको युद्धमा होमे, आफ्नो सत्ताउपरको असन्तोषलाई विषयान्तर गर्न ।

परिणामतः राज्यका लागि एक बित्ता जमिन जोड्नसम्म कहिल्यै नलडेका भीमसेन सत्ताको हर्ताकर्ता बन्न आउँदा मौजुदा भूगोलको एकतिहाइ गुमाएर ब्रिटिससँगको युद्धमा गोर्खाली पक्षको पराजयपछि नेपाली समाजको परम्परागत सामाजिक चिन्तनधारामाथि भयानक पहिरो गयो । त्यस बखतसम्म सामूहिक स्वार्थका लागि सामूहिक प्रयत्न केन्द्रित गर्ने समाज उक्त युद्धमा गोर्खाली पराजयोप्रान्त व्यक्तिकेन्द्रित अभ्यासमा अग्रसर भयो । राज्यका लागि जमिन जोड्ने अभियान उप्रान्त राज्यको सरहदमा रहेको जमिनमा आफ्नो स्वामित्व कायम गर्ने अर्थात् आफ्ना लागि जमिन जोड्ने अभियानमा विघटित भयो । यो विघटनको सिलसिला आजपर्यन्त तीव्रतर छ ।

राज्यका लागि जमिन जोड्नेबाट राज्यभित्र आफ्ना लागि जमिन जोड्ने अभियान आरम्भ भएपछि धनसम्पत्ति जोड्न विदेशी श्रमबजारमा आफूलाई समर्पित गर्ने अभियान नालापानीको किल्लामा बहादुरीपूर्वक लडेका भनिएका बलभद्र कुँवरले पन्जाबी रणजित सिंहको फौजमा आफूलाई भाडामा लगाएर लड्न समर्पित गरेपछि आरम्भ भयो । उसो त त्यसअघि नै गोर्खा–ब्रिटिस युद्धमा गोर्खाली शासनाबाट प्रताडित कुमाउँ र गढवालका असन्तुष्ट गोर्खा अधीनस्थ भूगोलका नागरिकहरू जम्मा गरेर, पछिबाट फर्स्ट गोर्खा राइफल्स भनेर परिचय दिइएको, नासिरी बटालियन गठन गरेको थियो ब्रिटिस इस्ट इन्डिया कम्पनीले ।

ब्रिटिस जनरल अक्टरलोनी र गोर्खाली जनरल अमरसिंह थापाबीच मलाउमा भएको सम्झौताले (खासमा गोर्खाली समर्पणपत्रले) आफ्ना नागरिकलाई विदेशी फौजमा भाडामा लड्न पठाउने गोर्खाली शासकहरूको बहादुरी र स्वाभिमानी यात्राको लज्जाहीन उत्कर्षलाई आकार दियो । र, खोलियो सिरमुरको नहानमा सेकेन्ड गोर्खा राइफल्स अर्थात् सिरमुर बटालियन र थर्ड गोर्खा राइफल्स अर्थात् कुमाउँ बटालियन । त्यसपछि तीव्रतर भयो देशका नागरिकलाई भाडामा विदेशी फौजमा लड्न बेच्ने शासक स्तरको लज्जाहीन खेल ।

कहिले ब्रिटिस उपनिवेशित भूगोलमा चर्किएको आन्तरिक असन्तोष शमन गर्न त कहिले नेपाल युद्धको पक्ष नै नहुँदासमेत विश्वयुद्धमा लाखौं नेपालीलाई लड्न पठाए हाम्रा शासकहरूले, टाउको गनेर ब्रिटिस सरकारसँग भाडा असुल गर्दै ।

कतिसम्म भने, राजीखुसीले ब्रिटिसका लागि लड्न जान तयार नेपाली नागरिकको संख्या कम भएपछि सनदमार्फत भाडामा लड्न जान नागरिकलाई उर्दी जारी गरेर नजानेलाई सरकारलाई असहयोग गर्नेको सूचीमा राखिने धम्की मात्रै दिएका थिएनन्, रिक्रुट हुन आफैं तयार हुनेलाई तीन रुपैयाँदेखि विभिन्न संख्यामा रिक्रुट खोज्नेलाई इनाम दिनेसम्मको व्यवस्था गरेका थिए तत्कालीन शासक चन्द्रशमशेरले । भनिन्छ, त्यसरी ब्रिटिस फौजमा भाडामा मान्छे पठाएबापत चन्द्रशमशेरले ब्रिटिसबाट टाउको गनेर कमिसन, ‘हेड ट्याक्स’ (सलामी रकम) पाएका थिए । ब्रिटिस फौजमा त्यस बखत २ लाखभन्दा बढी नेपालीलाई भाडामा लड्न भर्ती गराइएको सरदार भीमबहादुर पाँडेले ‘त्यस बखतको नेपाल’ पुस्तकमा उल्लेख गरेका छन् (पृ. १२१) । तर, बेलायतकै हाउस अफ कमन्सको डिफेन्स कमिटीले २ मार्च १९८९ मा पेस गरेको रिपोर्ट अनुसार, पहिलो विश्वयुद्धमा २ लाख ५० हजारभन्दा बढी नेपालीलाई इस्ट इन्डिया कम्पनीको फौजमा रिक्रुट गरिएको थियो (झलक सुवेदी, ब्रिटिस साम्राज्यका नेपाली मोहरा, पृ. ५४) । ब्रिटिस रिझाउने चन्द्रशमशेरको आत्मसर्मपणवादी खेलले नेपालीलाई आफ्नो उपनिवेशका नागरिकसरह भर्ती गरेको थियो आजको भारतमा उपनिवेश लादेको कम्पनी सरकारले, कलकत्तामा मुख्यालय खडा गरेर ।

यसरी एकातिर नेपाली नागरिकलाई आफूले पक्षधरता नै नलिएको युद्धमा एउटा देशको सेनामा भर्ना गराएर उसका तर्फबाट लड्न पठाइएको थियो भने, अर्कातिर नेपाली सेनालाई घोषित रूपमै कम्पनी सरकारको सहयोगार्थ परिचालन गरिएको थियो । युद्धमा परिचालित भएर गएको ब्रिटिस फौजको खाली क्याम्पको सुरक्षार्थ झन्डै १४ हजार नेपाली सैनिकको नफ्री पठाइएको थियो (नेपाली सेनाको इतिहास, २०६९, पृ. १५९) ।

...

यसरी पहिलो विश्वयुद्धमा नेपाली नागरिकलाई भाडामा लड्न पठाइएपछि कालान्तरमा त्यसले देशको आन्तरिक आर्थिक उत्पादन प्रणालीमा समेत व्यापक बदलाव ल्यायो । त्यस बखतको जनसंख्याको अनुपातमा लड्नका लागि भारा उठाई लगिएका तन्नेरीको संख्या चानचुने थिएन । मैले सन् १९९७ मा भेटेका गोरखाको सिरानचोकका एक वृद्ध गुरुङ बाले सुनाएका थिए— जम्मा चौध वर्षको उमेरका उनलाई बलजफ्ती घिसार्दै कम्पनी सरकारको फौजमा भर्ती हुन लगिएको थियो, पहिलो विश्वयुद्ध लड्न । जुँगाको रेखी आउन लागेका कलिला किशोरहरू र तिनका बालाई समेत कम्पनी फौजमा लतार्दै भर्ती हुन लपेटिएको उनले आफैं देखेका थिए ।

खेतीपाती र उत्पादनको काम गर्न सक्ने उमेरका अधिकतम मानिसलाई विदेशी फौजमा बेचेपछि देशभित्रको आन्तरिक उत्पादन चौपट भएको थियो । परिणामतः आत्मनिर्भर अर्थतन्त्रको ओरालो यात्रा त्यहीँबाट आरम्भ भयो । साढे २ लाखभन्दा बढी नेपालीलाई भाडाको सिपाहीका रूपमा बेलायतले लड्न लग्दा ५० हजार जनाभन्दा बढी युद्धमोर्चामा मारिएका थिए ।

युद्धपछि फर्केर आउँदा लडाकुहरूले १३ करोड रुपैयाँभन्दा बढी नेपाल भित्र्याएका थिए । अलिक वर्ष विदेशी फौजका लागि भाडामा लडेपछि यता आलसतालस भएर खनीखोस्री गरेको भन्दा निकै बढी धन, त्यो पनि नगदै हात परेपछि यताको परम्परागत खेतीपातीको काममा त्यसरी फर्की आएको विशालतम जनशक्तिको मन बसेन । त्यसमाथि एकपछि अर्को युद्धका कारण भर्तीको प्रक्रिया रोकिएन ।

त्यसरी लड्न गएकाहरू फर्किंदासाथमा त्यो रकम मात्रै भित्रिएन, अनेक नयाँ बानी–बेहोरा, मालताल, लवाइखवाइ पनि आए । नेपालको पहाडी भेकभरि लवाइ, खवाइ, बसाइ, घरव्यवहारमा परिवर्तन आयो । फौजी जवानले समुद्रपारबाट ल्याएको नयाँ विदेशी सामानले केही पहाडी गाउँमा भडक बढी लाहुरे नभएको गाउँमा पनि लाहुरेको हावा लाग्यो । जिन्सीको सट्टापट्टाले चलेको जुम्सो पहाडी घरव्यवहार एक्कासि नगदमा झटाझट चल्न थाल्यो (भीमबहादुर पाँडे, त्यस बखतको नेपाल, भाग १, पृ. १२१/१२३) ।

स्वदेशमा नागरिकको माग थेग्ने कुटीर उद्योग, कलकारखाना खोल्नुको सट्टा विदेशी सामानको आयात हुन थाल्यो । विदेशी मालको पैठारीमा लाग्दै आएको प्राचीन प्रतिबन्ध हटाइयो । तराईका नाकामा विदेशी महाजनलाई व्यापार गर्ने स्वीकृति दिइयो । भन्सार ठेक्कामा दिन थालियो र त्यसका लागि बोलकबोल गराउन थालियो । देशभित्रै जिल्लाजिल्लामा जगात (मालकर उठाउने अड्डा) खडा गरिए । रंगीचंगी विदेशी मालसामान छिटोछिटो झिकाउन विदेशी साहु–महाजनलाई प्रोत्साहन गरियो ।

भन्सार, जगातबाट सरकारी अधीनमा पुगेको धन पनि विदेशी बैंकमा गयो— राज्यको धन राणाको धनका रूपमा मनलाग्दी कुम्ल्याउने गरिएकाले र राणाहरूले भारतीय बैंकमा पैसा राख्ने गरेकाले त्यसरी जनताबाट खिचिएको पैसा घुमाउरो बाटोबाट जुन बाटो आएको थियो त्यही बाटो फर्कियो (भीमबहादुर पाँडे, त्यस बखतको नेपाल, भाग १, पृ. १२९/१३०) ।

...

त्यस कालदेखि यता आजसम्म पनि त्यही भइरहेको छ । लाहुर भन्नु नै कम्पनी फौज थियो पहिले । कम्पनी फिर्ता गएपछि भारतीय र बेलायती सेनामा हामीले आफ्ना नागरिकलाई भर्ती गरायौं । भर्तीमा जान नसक्नेहरूलाई तिनै लाहुरेको बाटो पछ्याउँदै भारतीय श्रमबजारमा भर्ती गरायौं— बहादुर, कुल्ली, मसल्ची आदि शीर्षकमा । त्यसले पछिबाट अरबका मरुभूमि गुलजार तुल्याउन श्रम बेच्न खाडी देशमा पुर्‍यायो नेपाली नागरिकलाई । संसारभरका श्रमबजारमा आज नेपाली नागरिक श्रम बेचिरहेका छन् । मानिसले आफूलाई सहज हुने जुनसुकै देशमा गएर पनि श्रम गर्नुलाई अन्यथा मान्न मिल्दैन, संसारभरका मानिसहरू यस्तो गरिरहेका छन्, तर छनोटको सुविधासहित जानु र अनिवार्य बाध्यताको दाम्लोमा बाँधिएर जान विवश हुनुमा भिन्नता छ । नेपालीहरू बाध्यताको चप्पल उनेर संसारको श्रमबजारमा पैताला घिसारिरहेका छन् ।

आजको नेपाली अर्थतन्त्रको सबैभन्दा ठूला आधार नै रेमिटेन्स भएको छ । तर, संसारभरका श्रमबजारमा सबैभन्दा जोखिमपूर्ण, जटिल र निम्नस्तरको वेतनमा काम गरेर नेपाली नागरिकले पठाएको रकम — आन्तरिक उत्पादन प्रणाली ध्वस्त हुँदा — जुन बाटो आएको हो, त्यही बाटो फर्किरहेको छ । देशभित्र कलकारखाना खोल्ने, आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने बाटो हिँड्नुको सट्टा नागरिकलाई विदेशी श्रमबजारमा निर्यात गरेर आएको रेमिटेन्सले देश चलाउने चन्द्रशमशेरका उत्तराधिकारीहरूको दास चेतनाको परिणाम (चन्द्रशमशेरले दास प्रथा उन्मूलन गरेका थिए नेपालबाट, त्यसको सट्टा देशलाई कम्पनी सरकारको दास बनाइदिएका थिए, तिनै चन्द्रले शासक खलकमा आरोपित गरेको दास चेतनाको दाम्लोबाट नेपाली सत्ता/शासकहरू मुक्त हुन सकेका छैनन्) देशको अर्थतन्त्र चौपट छ । बजेट घाटामा छ । आयात र निर्यातबीच अकल्पनीय दूरी छ ।

...

अब त हुँदाहुँदा शासकहरू राजनीतिक आवरणमा यति नग्न र लज्जाहीन व्यापारमा संलग्न भएका छन्, सत्तामा अडेस लगाएर कि देशका नागरिकलाई अनागरिक बनाएर बेच्नसमेत सत्ताको गठजोड गर्न थालेका छन्, खुलेआम । एकपछि अर्को गर्दै देशमा यति धेरै काण्ड सतहमा आएका छन् कि अब को भ्रष्ट छ भनेर खोज्न सम्भव छैन । कोचाहिँ कम भ्रष्ट छ या भ्रष्ट छैन भनेर खोज्नुपर्ने भएको छ । देशका नागरिकलाई अनागरिक बनाएर बेच्ने धन्दामा उठाइएको रकम घपला हान्नेहरूमा पटकपटक प्रधानमन्त्री भएकाहरू र तिनका परिवारसमेत जोडिनु राष्ट्रिय लज्जाको विषय भएको छ ।

टोल समितिले बनाएको बाटोसमेत मैले बनाएको भन्ने, निजी क्षेत्रले चलाएको डुंगालाई समेत आफूले चलाएको ‘पानीजहाज’ भनेर ढोल पिट्ने निर्लज्ज शासक आफ्नो सत्ताले गठन गरेको समिति र त्यसको प्रतिवेदनमार्फत खेलेर नागरिक बेच्ने धन्दामा जवाफदेह नबनी टकटकिएर हिँडेको छ । आफू र आफ्ना बचाउन नानावली बतुराउँदै हिँडिरहेको छ । आफ्ना विश्वासपात्र र आफ्नै क्याबिनेटका मन्त्री–सचिवले राष्ट्रिय कागजात नै बदली देशका नागरिकलाई अनागरिक बनाएर बेच्ने खेलो चलाएको सार्वजनिक हुँदासमेत अर्को निर्लज्ज शासक राजनीतिमा गजधम्म बसिरहेको छ । यस्तो निर्लज्जता संसारमा अन्त कहाँ टिक्छ ? यस्ता निर्लज्जलाई संसारको कुन देशका नागरिकहरूले नेता, राजनेता मानेर शिरमा पहिरेर बस्छन्, नेपालमा बाहेक ?

यस्तो लाग्छ, अब शासकहरूले बेच्न बाँकी केही छैन, देशै लिलाममा राख्नेबाहेक । तिनले सत्तामा बसेर शरणार्थी बनाई आफ्ना नागरिक बेच्न नेपाल राष्ट्रको सार्वभौम स्वाभिमानसमेत लिलामीमा चढाएका छन् । राष्ट्रको अन्तर्राष्ट्रिय विश्वास धूलिसात् पारेका छन् । हामी संसारकै गरिब, दरिद्र र हीनतर त छँदै थियौं, देशको स्वाभिमानसमेत लिलाममा चढाउनेहरूलाई पालैपालो सत्ताको गजुर पहिर्‍याउने संसारका निकम्मा मानिसहरूमा समेत दर्ज भएका छौं ।

अन्यथा पालैपालो अनेक शीर्षकमा देश लुटिरहेका र देशका नागरिकलाई अनागरिक बनाएर बेच्न सामेल नांगा शासकहरू र तिनका खलकहरू यसरी खुलेआम शिर ठाडो बनाएर हिँड्न सक्ने थिएनन्, हामी चेतनामा समेत यति दरिद्र नभएका भए । यिनै नागरिक–बेचुवाहरूलाई सत्तामा चढाउन अनेकन् पटक आन्दोलनमा उत्रने हामीमा अलिकति पनि स्वाभिमान बाँकी भएको भए देशको स्वाभिमान लिलाम गराउने ज्योतिषीका भक्तहरूले साइत हेरेर संसद्को रोस्ट्रममा उभिएर हामीलाई लज्जित तुल्याउने हिम्मत गर्न सक्ने थिएनन् ।

अब नागरिक बेच्ने शासकले यो देश बचाउँदैनन् भन्ने प्रस्ट भएको छ । आजसम्म तै बिसेक बचाएको नागरिकको सामर्थ्यले हो । देश संगीन मोडमा आइपुगेको छ । यसलाई थप दरिद्र हुन नदिन र अघि बढाउन नेपाली समाज सामूहिक योग्यताको गठजोड गरेर देश बेच्ने शासकविरुद्ध नयाँ आँधी उमार्न अग्रसर हुन्छ कि हुँदैन, यसैले निर्धारण गर्नेछ नेपाली समाजको अबको लय ।

प्रकाशित : जेष्ठ ११, २०८० ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?