कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

खराब मौमका कारण आरोहीको खोजी अवरोध 

काठमाडौँ — सगरमाथा चुचुरोतर्फ जाँदै गर्दा आइतबार बेपत्ता भएका दुई मंगोलियन आरोहीहरुको खराब मौसमका कारण बुधबार खोज तथा उद्धार हुन सकेन । पर्यटन विभागका अधिकृत दिलीप महर्जनका अनुसार, आइतबार साँझ सगरमाथाको ७ हजार ९ सय ५० मा रहेको चौथो शिविरबाट मंगोलियन आरोहीहरु ५३ वर्षीय युखजर्गल सिडेनडम्बा र ३१ वर्षीय प्योरभ्रिसन खाम्बाजाभ साँझ ७ बजे उकालो लागेका थिए ।

त्यसयता उनीहरु हराएका पर्यटन विभागले पुष्टि गरेको छ ।

उनीहरुको चार दिनयता खोजी कार्य प्रभावित भइरहेको छ । विभागका निर्देशक राकेश गुरुङले बुधाबार पनि दुई मंगोलियन आरोहीहरुको खोजी कार्य प्रभावित भएको बताए । ‘सगरमाथाको चौथो शिविरभन्दा माथिको मौसमी प्रतिकूलताको कारण मंगलबार कुनै पनि टिमको आरोहण हुन सकेन । र, आज (बुधबार) पनि कुनै पनि आरोहण हुन सकेको जानकारी पर्यटन विभागको आधारशिविरमा रहेको फिल्ड कार्यालयले दिएको छ,’ गुरुङले भने, ‘हराइरहेका २ जना मंगोलियन आरोहीको खोज उद्धारको लागि हिजो एटके एक्सपिडीसन प्रालिबाट हिजो दुई जना शेर्पा पठाइएकोमा मौसमी प्रतिकूलताको कारण चौथो क्याम्पमा रोकिएका छन् । उद्धारका लागि थप २ जना शेर्पा चौथो शिविरमुनि तेस्रो शिविर नजिक पुगेका छन् ।’

हराइरहेका मंगोलियन नागरिकको आरोहण व्यवस्थापन तथा अनुमति प्रक्रिया एटके एक्सपिडीसनले गरेको थियो ।

यसैबीच फागुन अन्तिमदेखि सुरु भएको वसन्तकालीन हिमाल आरोहण अनुमति अझै जारी रहेको छ । विभागका अनुसार, बुधबारसम्म सगरमाथासहित ३० वटा हिमालका लागि १ सय १४ वटा आरोहण दललाई अनुमति दिइएको छ । जसमा नेपालसहित ८० वटा देशका २ सय २ महिला र ७ सय ७४ पुरुष गरी ९ सय ७६ जना आरोहीहरुले अनुमति लिएका छन् । जसमा सबैभन्दा धेरै सगरमाथाका लागि ४ सय १६, ल्होत्सेका लागि १ सय ४३, अमादब्बलमका लागि ९९, मकालु हिमालका लागि ५९ जना आरोहीहरुले अनुमति लिएका छन् । यीबाहेक अरु हिमालमा आरोहण अनुमति लिनेको संख्या ५० भन्दा कम रहेको छ ।

विभागले बुधबारसम्म आरोहण अनुमति जारी गर्दा ६७ करोड ७८ लाख सलामी दस्तुर संकलन गरेको छ ।

प्रकाशित : जेष्ठ २, २०८१ २१:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×