२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

उपनिर्वाचन मतपरिणाम : ओली दंग, दाहाल सन्तुष्ट

पक्कै पनि यो उपनिर्वाचनका परिणामले विश्वास बढाउने र दुरी घटाउने काम गर्छ । आगामी दिनमा सहकार्यका लागि सकारात्मक वातावरण बनाउने छ : एमाले उपमहासचिव विष्णु रिमाल
एमालेको मुख्य आधार इलामबाट एमाले हारेको भए गलत सन्देश जान्थ्यो । मुख्यगरी माओवादीको मतले एमालेका सुहाङलाई जित्न सहज भयो । यसले आगामी दिनमा सहकार्य बलियो बनाउन विश्वास बढाउँछ : माओवादी सचिव राम कार्की
गंगा बीसी

काठमाडौँ — नयाँ सत्ता समीकरण बनेपछि भएको उपनिर्वाचनले एमाले अध्यक्ष केपी शर्मा ओली दंग देखिएका छन् भने प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले सन्तुष्टि व्यक्त गरेका छन् । इलाम २ र बझाङ १ (१) को जितेपछि एमालेका लागि ‘मिसन ०८४ को मुद्दा बनाउन’ सहज भएको भन्दै ओली दंग देखिएका छन् ।

उपनिर्वाचन मतपरिणाम : ओली दंग, दाहाल सन्तुष्ट

एमालेले ०८४ को निर्वाचनमा राष्ट्रिय शक्ति निर्माणका लागि पहिलो हुने दाबीसाथ अहिलेदेखि नै मिसन सुरु गरेको छ । दाहाल भने इलाम २ को परिणामले आफू र ओलीबीच थप विश्वासको वातावरण बन्ने टिप्पणी गरेका छन् ।

इलाम २ मा पूर्वउपाध्यक्ष सुवासचन्द्र नेम्वाङको विरासत जोगाउन र बझाङ १ (१) मा एक सिट थप्न सफल भएको छ । एमालेले संघमा एक सिट जोगाउन र सुदूरपश्चिममा प्रदेशमा एक सिट थप्नु राजनीतिक उपलब्धिका रुपमा लिएको छ ।

प्रमुख प्रतिपक्ष कांग्रेससँगै एउटै सरकारमा भएका दलहरुले यो उपनिर्वाचनमा प्रतिस्पर्धा गरे । यो परिणामले एमाले विजेता बनेकोमा उसको आत्मबलमात्र बढेको छैन, माओवादीसँग सहकार्यका लागि पनि झन् सहज वातावरण बनाएको छ ।

प्रधानमन्त्री दाहालले इलाम २ मा आफ्नो दलले समर्थन गरेका एमालेका सुहाङ नेम्वाङ विजेता बनेकोमा सन्तुष्टि व्यक्त गरेका छन् । सुहाङको पक्षमा मत परिणाम आउँदै गरेको बेला उनले सोमबार राति एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा सन्तुष्टि व्यक्त गरेका छन् ।

बझाङ १ (१) मा आफ्नो उम्मेदवार पराजित भए पनि एमालेले जितेको माओवादी नेताहरु सुदूरपश्चिम सरकार बनाउन सहज हुने भन्दै सन्तुष्ट छन् । दुवै निर्वाचनमा वामपन्थी उम्मेदवार विजयी भएकोमा दाहाल र ओलीले सन्तुष्टि व्यक्त गरेका छन् । ओली आफ्नो दलको जनादेश बढेकोमा खुशी छन् भने दाहाल समीकरण बलियो हुने भएकाले सन्तुष्ट भएको निकट नेताहरुको भनाइ छ ।

ओलीले मंगलबार इलामको विजयसभामा बोल्दै निर्वाचन परिणामले राष्ट्रिय शक्ति निर्माणका लागि आधार तयार भएको बताए । उनले यो उपनिर्वाचनलाई शान्तिपूर्ण ‘महासंग्राम’को संज्ञा दिँदै विजय हासिल गरेको भन्दै सन्तुष्टि व्यक्त गरे । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङलाई बधाई दिँने क्रममा उनले माओवादीले यथार्थता बुझेर समर्थन गरेको भन्दै आभार व्यक्त गरे । उनले यो निर्वाचन परिणामले राष्ट्रिय शक्ति निर्माणका लागि आवश्यक आधार तयार भएको बताए ।

‘मुलुकमा बलियो राष्ट्रिय शक्ति चाहिएको छ । एमाले राष्ट्रिय स्वाभिमानका साथ उभिने शक्ति बन्नुपर्छ,’ उनले भने, ‘वामपन्थी, देशभक्त शक्तिको एकताबद्ध प्रयास चाहिएको छ । म राष्ट्रिय शक्ति निर्माणका लागि आहृवान गर्न चाहन्छु । माओवादीले मद्दत गर्नुभयो, यथार्थतालाई बुझ्नु भयो ।’

ओलीले निर्वाचन परिणामले आगामी दिनमा सहकार्यको आधार तयार गरेको बताए । ‘परिस्थितिअनुसार आगामी दिनमा सहकार्य हुने छ,’ उनको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले ओलीसँगको सोमबार भेटमा वामपन्थीबीच सहकार्य भएकाले परिणाम निकाल्न सहज भएको बताएका थिए । दुवै क्षेत्रमा एमाले उम्मेदवार विजयी भएपछि सत्तासमीकरण बलियो बनाउन सहयोग हुने दाहालको बुझाइ छ । ‘खासगरी इलामको निर्वाचन परिणामपछि प्रधानमनत्रीज्यूले सन्तुष्टि व्यक्त गनुभएको छ,’ दाहाल निकट एक नेताले भने ।

एमाले उपमहासचिव विष्णु रिमालले इलाम २ को निर्वाचन परिणामले एमाले माओवादीबीच थप विश्वासको वतावरण बनाउने बताए । ‘पक्कै पनि यो उपनिर्वाचनका परिणामले विश्वास बढाउने र दुरी घटाउने काम गर्छ,’ उनले भने, ‘आगामी दिनमा सहकार्यका लागि सकारात्मक वातावरण बनाउने छ ।’

कांग्रेस नेतृत्वको गठबन्धन भत्काए पनि ओली र दाहालबीच अझै पनि लामो सहकार्यबारे पूर्ण विश्वस्त नभइरहेको अवस्थामा इलाम २ मा एमालेको विजयसँग सहकार्य बलियो बनाउने सन्देश दिएको माओवादी सचिव राम कार्कीको भनाइ छ । ‘एमालेको मुख्य आधार इलामबाट एमाले हारेको भए गलत सन्देश जान्थ्यो,’ उनले भने, ‘मुख्यगरी माओवादीको मतले एमालेका सुहाङलाई जित्न सहज भयो । यसले आगामी दिनमा सहकार्य बलियो बनाउन विश्वास बढाउँछ ।’

दाहालले गत आम निर्वाचनमा कांग्रेससित गठबन्धन गर्दा सहज ढंगले मत रुपान्तरण नभएको गुनासो गरेका थिए । स्थानीय निर्वाचनमा कांग्रेसको मत माओवादीमा रुपान्तरण नभएपछि उनी चितवन छाडेर गोरखा २ बाट प्रतिनिधिसभामा उम्मेदवार भई विजयी भएका थिए ।

एमालेले प्रतिष्ठाको विषय बनाएको इलाम २ मा माओवादीले सघाएपछि सुहाङले जित निकाल्न सहज भएको हो । उनले कांग्रेसका डम्बर खड्कालाई ५ हजार ८ सय ३० मतको फराकिलो अन्तरले जिते । माओवादीको करिब पाँच हजार मत सहज ढंगले एमाले उम्मेदवारलाई रुपान्तरण भएकाले जित्न सहज भएको एमालेको बुझाइ छ । कोशी प्रदेशको नाम कोशी पारित गरेपछि एमालेलाई पहिचानविरोधी आरोप लागि रहेको बेला यो उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएको थियो । सुहाङको विजयसभामा ओलीले एमाले नै पहिचान भएको तर्क गरे । ‘इलाममा सूर्यले जित्यो नि त्यही हो पहिचान । त्यही हो गन्तव्य अनि उद्देश्य’ उनको भनाइ थियो ।

एमाले उपमहामसचिव रिमालले विगतभन्दा बढी मतान्तरले एमालेले जित्नु पार्टको राजनीतिक स्थिरताको मुद्दा नै मुख्य कारण भएको बताए । ‘एमाले कमजोर भयो भन्ने भाष्य बनाउन खोजिँदै गरेको बेला यो निर्वाचन परिणाम आएको छ,’ उनले भने, ‘राष्ट्रिय शक्ति निर्माणका लागि यो निर्वाचन परिणामले आधार दिएको छ ।’

उनले एमाले पहिचानविरोधी आरोपलाई खण्डन गरेको समेत बताए । ‘इलामको परिणामले कोशी प्रदेश नामाकरण सही थियो भन्ने पुष्टि गरेको छ’ उनको भनाइ थियो ।

उनले एउटै सत्ता समीकरण रहेर पनि दलहरुबीच ‘स्वस्थ’ प्रतिस्पर्धा गर्न सकिने सन्देश दिएको पनि बताए । ‘हामी कुनै पनि सिन्डिकेटसहितको गठबन्धनको पक्षमा छैनौं । एउटै समीकरणमा रहेर स्वस्थ प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने सन्देश हो’ उनको भनाइ थियो ।

उनले सत्ता समीकरणमा रहेका दलबीच स्वस्थ प्रतिस्पर्धा भएकाले सहकार्यमा असर नगर्ने बताए । ‘दलहरुको न्युनतम साझा संकलमा सहमति छ’ उनले भने, ‘स्वस्थ प्रतिस्पर्धामा विजय, पराजयले सहकार्यमा असर किन गर्छ र ?’

सुहाङले २७ हजार ७ सय ७२ मत पाएर विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाए । २०७९ को निर्वाचनमा उनी सुवास नेम्वाङसँग ११४ मत कम ल्याएर हारेका थिए । २०८० भदौ २७ मा पूर्वसभामुख तथा पूर्वसंविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि इलाम–२ रिक्त थियो । रिक्त क्षेत्रको उपनिर्वाचनमा एमालेले गत चैत ११ मा नेम्वाङ पुत्र सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

बझाङ १ (१) मा वामपन्थीको थप एक सिट बढेकोले उनीहरुलाई सुदूरपश्चिम सरकार निर्माण सहज भएको छ । प्रदेशसभाको ५२ सिटमा एमालेको ११, माओवादीको सभामुखसहित ११, एकीकृत समाजवादीको ४ र स्वतन्त्र (वामपन्थी) १ र नागरिक उन्मुक्ति (रञ्जिता श्रेष्ठ) पक्षका २ सांसद छन् ।

हाल सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्री नियुक्त भइसकेका छन् ।

बझाङ १ (१) मा एमालेका दमनबहादुर भण्डारीले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अभिषेकबहादुर सिंहलाई २ सय ६७ को झिनो मतान्तरले पराजित गर्दै निर्वाचित भए । भण्डारीले ११ हजार ६ सय १३ मत ल्याउँदा तत्कालीन प्रदेशसभा सदस्य पृथ्वीबहादुरकै छोरासमेत रहेका कांग्रेसका सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गरेका थिए ।

समीकरणमा रहेका दलहरुले माओवादीले इलाम २ प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेलाई सघाएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले, एकीकृत समाजवादीले प्रतिस्पर्धा गरेको थिए ।

बझाङ १ (१) प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा एमाले, माओवादी, एकीकृत समाजवादी एकआपसमा प्रतिस्पर्धा गरे । प्रमुख प्रतिपक्ष कांग्रेस यी दुई क्षेत्रमा मुख्य प्रतिस्पर्धी गरेको थियो ।

प्रकाशित : वैशाख १८, २०८१ २२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?