कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका चौधरीको दाबी

समर्थन नगर्न नेकपा एकीकृत समाजवादीलाई गठबन्धनको दबाब
अर्जुन शाह

धनगढी — नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरी मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् । मुख्यमन्त्रीमा दाबी पेस गर्ने समयसीमा घर्किनै लाग्दा चौधरी प्रदेश प्रमुख नजिर मियाँको कार्यालय पुगेका हुन् । 

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका चौधरीको दाबी

कांग्रेस, एकीकृत समाजवादी र राप्रपाको समर्थनमा चौधरी दाबी पेस गर्न दिउँसो २ बजे प्रदेश प्रमुख कार्यालय पुगेका हुन् । प्रदेश प्रमुख मियाँले यो समाचार तयार पार्दासम्म (तीन बजेसम्म) निर्णय दिएका छैनन् ।

नागरिक उन्मुक्ति, कांग्रेस र राप्रपाका सांसदसहित सांसद चौधरी प्रदेश प्रमुखको कार्यालयमा पुगेका भए पनि एकीकृत समाजवादीका सांसद भने उपस्थित छैनन् । स्रोतका अनुसार एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीलाई समर्थन फिर्ता लिन पार्टीको केन्द्रबाट निर्देशन दिइएको छ । नवगठित सत्ता समीकरणविपरीत सुदूरपश्चिममा एकीकृत समाजवादीले कांग्रेससँग मिलेर सरकार गठन प्रक्रिया अघि बढाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले छलफल गरेका छन् ।

एकीकृत समाजवादीका एक नेताका अनुसार आइतबार बिहान शीर्ष नेताहरूबीच बालुवाटारमा बसेको बैठकमा सुदूरपश्चिम सरकारको नेतृत्व नागरिक उन्मुक्तिलाई दिने निर्णय सुनाइएपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले असहमति जनाउँदै बैठकबाट बाहिरिएका थिए । अध्यक्ष नेपालले आफ्नो पार्टीले मुख्यमन्त्री पाउनुपर्ने दाबी गरेका थिए । यही पृष्ठभूमिमा प्रदेश प्रमुखको कार्यालयमा एकीकृत समाजवादीका सांसदहरु अनुपस्थित भएपछि संशय पैदा भइरहेको छ ।

अर्कोतिर मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका लक्ष्मणकिशोर चौधरी नागरिक उन्मुक्तिका संरक्षक रेशम पक्षधर सांसद हुन् । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ भने कुनै पनि हालतमा लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्री हुन नदिने र कैलाश चौधरीलाई मुख्यमन्त्री बनाउने अडानमा छिन् । बेग्लाबेग्लै अडानबीच नागरिक दुई समूहमा विभाजित छ । अध्यक्ष श्रेष्ठका पक्षमा दुई र संरक्षक चौधरीका पक्षमा चार सांसद छन् ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा अहिले ५१ सदस्य रहेका छन् । कांग्रेस सांसद पृथ्वीबहादुर सिंहको दुर्घटनामा मृत्यु भएको थियो भने नागरिक उन्मुक्तिकी सांसद इन्दिरा गिरीलाई केही दिनअघि उनकै पार्टीले पदमुक्त गराएको छ । सरकार गठन गर्न २७ सांसदको समर्थन आवश्यक पर्छ ।

नवगठित सत्ता गठबन्धनमा रहेका दलअन्तर्गत हाल सुदूरपश्चिम प्रदेशसभामा नेकपा एमालेका १०, माओवादी केन्द्रका सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका ६ र एकीकृत समाजवादीका ४ सांसद छन् ।त्यस्तै कांग्रेसको १८ र राप्रपाका १ सांसद छन् । त्यस्तै तारा जोशी स्वतन्त्र सांसदका रूपमा रहेका छन् ।

प्रकाशित : वैशाख २, २०८१ १५:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतिप्रति तपाईंको के टिप्पणी छ ?