कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

बढ्दै आगलागी, गुम्दै जीउधन

कर्णालीमा ३ वर्षमा ४ सय ५२ आगलागीका घटना हुँदा ४० जनाको मृत्यु, कोशीमा ९ महिनायता १ हजार ८६ आगलागीका घटनामा १५ जनाले गुमाए ज्यान

सुर्खेत, विराटनगर, चितवन — डोल्पाको ठूलीभेरी नगरपालिका–३ स्थित मष्टाभवानी सामुदायिक वनमा डढेलो निभाउने क्रममा घाइते भएका तीन सैनिकको उपचारका क्रममा मृत्यु भयो । देवीदत्त गुल्मका सिपाही ३८ वर्षीय जमदार केशवबहादुर जर्घा मगर र २३ वर्षीय सिपाही आशिष बुढाको कीर्तिपुरस्थित बर्न अस्पतालमा मंगलबार मृत्यु भएको हो भने २४ वर्षीय हेमन्त रावतको डोल्पा अस्पतालमा उपचारकै क्रममा सोमबार मृत्यु भएको थियो । डढेलो निभाउने क्रममा घाइते अर्का एक सैनिक जवानको कीर्तिपुरमा उपचार भइरहेको छ । 

बढ्दै आगलागी, गुम्दै जीउधन

बुधबार रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–३ रन्मामा डढेलोमा परेर ६ जना घाइते छन् । रुकुम पूर्वका प्रहरी प्रमुख डीएसपी माधवराज खरेलका अनुसार रन्मा गाउँदेखि पारिको चत्रा भीरमा बाटो निर्माणमा जुटेका स्थानीय डढेलोमा परेका थिए । गोरेटो खन्ने क्रममा भीरबाट खसेका ढुंगा ठोक्किँदा आगलागी भएको स्थानीयको भनाइ छ ।

बिहीबार डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ मा घरनजिकैको सामुदायिक वनमा च्याउ टिप्न गएका तीन बालक डढेलोमा परेर गम्भीर घाइते भएका छन् । डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालका अनुसार तीनै जनालाई जिल्ला अस्पताल दुनै ल्याइएको छ । चैत पहिलो साता कालीकोटको खाडाचक्र–५ स्थित नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा स्थानीय नन्दराम चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्तीले ज्यान गुमाए ।

कर्णालीमा आगलागीका घटनाबाट धनजनको क्षति र घाइते हुनेको संख्या धेरै छ । ३ वर्षयता कर्णाली प्रदेशभर ४ सय ५२ आगलागीका घटना हुँदा ४० जनाको मृत्यु भएको छ भने ५२ घाइते छन् । आगलागीबाट ५ सय २ घर नष्ट हुँदा ५६ करोड २५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ । कार्यालयका अनुसार यस वर्ष १ सय ४४ आगलागीका घटना हुँदा १४ जनाको मृत्यु भयो भने १२ जना घाइते र झन्डै १२ करोडको क्षति भएको छ । ‘पहाडी क्षेत्रका अधिकांश घर कच्ची र फुसको छानाका भएकाले आगलागी छिटो फैलिन्छ,’ कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी लालमणि आचार्यले भने, ‘घरमा हुने आगलागी धेरैजसो असावधानीका कारण हुने गरेको छ, टुकी ननिभाएर सुत्दा, भान्साको आगो ननिभाउँदा र विद्युत्का तार सर्ट हुँदा पनि हुने गरेको छ ।’

कर्णालीका हिमाली जिल्लामा अधिकांश घर काठका हुने र कोठाको उचाइ कम हुँदा पनि आगो छिटो फैलिने गरेको उनको भनाइ छ । उनले अधिकांश स्थानीय तहमा बारुणयन्त्र नहुँदा, भौगोलिक विकटताका कारण घटनास्थलमा पुग्न ढिलाइ हुँदा, आगो निभाउने उपकरण र पानीको स्रोत नजिक नहुँदा पनि ठूलो क्षति हुने गरेको बताए । रेडक्रसकर्मी नरबहादुर नेपालीले पानी र प्रविधिको अभावमा पहाडी जिल्लामा बर्सेनि आगलागीबाट ठूलो क्षति हुने गरेको बताए । ‘अरू विपद्भन्दा आगलागीको क्षति ठूलो छ,’ उनले भने, ‘यसको रोकथामको प्रमुख कारण पूर्वतयारी र सावधानी नै हो ।’

आगलागीमा परेर घाइते हुनेको अवस्था झन् दर्दनाक छ । गत वर्ष स्थानीय भेरीपोखरा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा रुकुम पश्चिमको बाँफिकोट–४ का २० वर्षीय नन्दराम विक गम्भीर घाइते भए । नेपाल प्रहरीको जवान पदको लिखित परीक्षामा उत्तीर्ण भई अन्तर्वार्ताको तयारीमै रहेको अवस्थामा आगलागीमा परेका उनलाई पूर्णरूपमा सन्चो हुन झन्डै ३ महिना लाग्यो भने शरीरको बायाँतर्फको भाग अझै राम्ररी चल्दैन । ‘घटनापछि अन्तर्वार्ता नै छुट्यो, जागिर त खान पाइएन, अहिले अपांग जीवन बिताउनुपरेको छ,’ उनले भने, ‘अहिले सानो काम गर्न पनि सक्दिनँ, जीविकोपार्जनका लागि अभिभावकको भर पर्नुपरेको छ ।’

पछिल्लो समय सामुदायिक वनमा लागेको आगो फैलिएर बस्तीसम्म पुगी मानवीय क्षति बढिरहेको कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी नीरज श्रेष्ठले बताए । ‘उपभोक्ताले नै घाँस राम्रो पलाउने लोभमा वनमा आगलागी गराउँदा ठूलो समस्या भएको छ, आगो लागेको १/२ घण्टापछि मात्र जानकारी आउँदा नियन्त्रणमा सकस हुने गरेको छ,’ उनले भने, ‘कतिपय वन क्षेत्रमा चुरोटका ठुटा जथाभाबी फाल्दा, आगो लगाएर स्याउला नष्ट गर्न खोज्दा र वनभोजलगायत प्रयोजनमा बालिएको आगो ननिभाउँदा पनि वनक्षेत्र मासिने गरेको छ ।’ उनले बर्सेनि हुने आगलागीका कारण कर्णालीमा झन्डै ३ हजार हेक्टर वनक्षेत्र नष्ट हुने गरेको जानकारी दिए ।

मन्त्रालयका अनुसार अहिले विभिन्न जिल्लाका झन्डै ३१ वटा सामुदायिक वनमा आगलागी भइरहेको छ । सबैभन्दा बढी सल्यानमा ९ सामुदायिक वनमा आगलागी भइरहेको मन्त्रालयको तथ्यांक छ । मन्त्रालयका अनुसार यो वर्ष १ सय ४ वटा सामुदायिक वनमा आगलागी हुँदा झन्डै २ हजार १ सय हेक्टरमा क्षति भएको छ । आगो लगाउने कार्यमा संलग्न भएको आरोपमा यो वर्ष २४ जनामाथि मुद्दा चलाइएको छ ।

कोशीमा दिनहुँ आगलागी

धनकुटा नगरपालिका–३ कागतेमा गत आइतबार स्थानीय राजु श्रेष्ठको घरनजिकै डढेलो लाग्दा उनका ३ वर्षीय विवेकले अकालमा ज्यान गुमाउनु पर्‍यो । डढेलोमा परी श्रेष्ठका १० वर्षीय छोरा रोशन गम्भीर घाइते छन् । उनको विराटनगरस्थित एक अस्पतालमा उपचार भइरहेको छ ।

बिहीबार धनकुटा नगरपालिका–९ सल्लेरीमा डढेलो बस्तीमा सल्किँदा स्थानीय चन्द्रबहादुर मगरको एकतले घर पूर्णरूपमा नष्ट भयो । सोमबार खोटाङ हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा वडा–१ को अररे सामुदायिक वनबाट सल्किएको डढेलो बस्तीतिर पस्दा तीन घर जलेर ध्वस्त भए । मंगलबार दक्षिण–पश्चिम झापाको गौरीगन्ज गाउँपालिका–६ कनचिराका मजेबुल मियाँको भान्सा घरमा आगलागी हुँदा १ लाख २५ हजारको क्षति भएको छ । भान्सा घरमा राखेको मोटरसाइकल जलेर पूर्णरूपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

कोशी प्रदेशमा दैनिकजसो आगलागीका घटना भइरहेका छन् । डढेलोले वन र वन्यजन्तु मात्रै हैन मानवीय क्षति पनि निम्त्याएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार चालु आर्थिक वर्षका ९ महिनामा कोशीमा १ हजार ८६ वटा आगलागी घटना भएका छन् । जसमा १५ जनाको मृत्यु भएको छ । १ सय १० जना घाइते भएका छन् । ४ सय ६६ घरधुरी प्रत्यक्ष प्रभावित बनेका छन् । ६५ करोड बढी भौतिक सम्पत्तिमाथि क्षति पुगेको छ । प्रहरीका अनुसार चालु आर्थिक वर्षको फागुन र चैतमा मात्रै ४ सय ६५ आगलागी घटना हुँदा ७ जनाको मृत्यु हुनुका साथै २२ जना घाइते छन् । ३५ करोड २० लाखको क्षति भएको छ ।

धेरैजसो आगलागीका घटना विद्युत् सर्टका कारण भएका छन् । बालबालिकाले हेलचेक्र्याइँ गर्दा पनि कतिपय आगलागीको घटना भएको प्रहरीले जनाएको छ । परालको भुस बाल्दा, वाइल्डिङ गर्दा, जंगलमा चुरोट खाएर जथाभाबी मिल्काउने जस्ता लापरबाही डढेलोको कारण बनिरहेको प्रहरीले जनाएको छ । कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता वन अधिकृत अखिलेशकुमार गुप्ता डिभिजन वन कार्यालयमार्फत डढेलो नियन्त्रणका लागि काम भइरहेको बताउँछन् । कोशीका १५ वटा डिभिजन वन कार्यालयले डढेलो व्यवस्थापनका लागि न्यूनतम ५ लाखका दरले बजेट खर्च गर्ने गरेको गुप्ताले जानकारी दिए ।

पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार कोशीका २ सय ६१ स्थानमा करिब ८ हजार १ सय ५१ दशमलव २२ हेक्टर जमिनमा यो वर्ष डढेलो लागेको छ । जसमा ६७ वटा घर/गोठमा क्षति भएको छ । रूखबिरुवा र पशुधनमा समेत क्षति भएको बताइएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आगलागी पीडितलाई विपद् व्यवस्थापन कोषअन्तर्गत राहत उपलव्ध गराउँदै आएको छ । मन्त्री शमशेर राईले कोषअन्तर्गत ५ लाखसम्मको क्षति भएकाले १५ हजार, १० लाखसम्म क्षति भएकाले ३० र १० लाखभन्दा बढी क्षति भएकाले राहतबापत ५० हजार रुपैयाँ पाउने बताए ।

निकुञ्जमा डढेलो, बस्तीमा तुवाँलो

दुर्लभ वन्यजन्तु बाघ–गैंडाको मुख्य बासस्थल रहेको चितवन राष्ट्रिय निकुञ्जको सालका रूख रहेको इलाकामा शनिबारदेखि ठूलो डढेलो लाग्यो । निकुञ्ज र वन क्षेत्रमा फैलिएको डढेलोको असरस्वरूप चितवनको बस्ती र बजार क्षेत्रमा कुहिरो लागे जस्तै धुम्म वातावरण भएको छ । स्थानीयमा आँखा पिरो हुने, पोल्ने समस्या देखिएको छ । चितवन निकुञ्ज र बरन्डाभार क्षेत्रका जंगल आडका बस्तीमा यस्तो धूवाँ बढी फैलिएको छ ।

निकुञ्जको मध्य र पश्चिम क्षेत्रमा शनिबारदेखि फैलिएको डढेलो सोमबारदेखि कम हुँदै गएको निकुञ्ज कार्यालयको दाबी छ । निकुञ्जको पश्चिम क्षेत्र चुरे पहाड खोचको देवीतालदेखि पूर्व निकुञ्जको मध्यक्षेत्र मानिने मुख्यालय आडको कसरा वरपर सोमबारसम्म डढेलो उत्कर्षमा थियो । भुइँको पत्कर मात्रै सल्केको थिएन सुकेका ठूला रूखको टुप्पासम्म आगो बलेको देखिन्थ्यो । तर, निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत गणेश तिवारीले डढेलो कम भएको दाबी गरे ।

निकुञ्जको पूर्वी क्षेत्रमा दुई महिनाअघि डढेलोको समस्या थियो । अहिले पश्चिम क्षेत्र र कसरा आसपासमा डढेलो सल्केको तिवारीले बताए । घाँसे मैदान क्षेत्रभन्दा पनि सालको वन रहेको इलाका डढेलोको चपेटामा परेको उनको भनाइ छ । निकुञ्जमा ३६ वर्षदेखि पर्यटक घुमाउने नेचर गाइडको काम गर्दै आएका संरक्षणकर्मी वासु बिडारी यो पटक निकुञ्जमा लागेको आगो अरू वर्षको भन्दा ठूलो भएको बताउँछन् । ‘यो समय चराले गुँड लगाउने र अन्डा पार्ने तथा बच्चा कोरल्ने गर्छन् । भुइँमा गुँड लगाउने चरालाई डढेलोले चुनौती दिएको छ । गुँडसँगै अन्डा, बच्चा, माउ नै सखाप हुन्छन्,’ बिडारीले भने ।

अर्का पुराना गाइड उदय अर्याल निकुञ्जमा डढेलोको समस्या हरेक वर्ष देखिने गरेको बताउँछन् । चितवन निकुञ्ज जस्तो मान्छेको प्रवेश कडिकडाउ भएको ठाउँमा पनि डढेलो लाग्नुको कारण गम्भीर भएर खोजी गर्नुपर्ने उनको भनाइ छ । नेचर गाइड बिडारी आगलागी भएको ठाउँमा डराएर अन्यत्र भागेका जीव/जनावर छिटो फर्केर नआउने बताउँछन् । त्यसैले डढेलोले पर्यटनमा पनि प्रभाव पार्ने खतरा रहन्छ ।

प्रकाशित : चैत्र ३०, २०८० ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?