कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

युद्ध मैदानमा प्रियजन : अत्यासमा परिवार

रुसी सेनामा भर्ती भएपछि सम्पर्कविहीन २ सय ४४ जनाभन्दा बढी नेपालीको परिवार अत्यासलाग्दो प्रतीक्षामा छन्, उनीहरूले आफन्तजनको खोजी गरिदिन, मृत्यु भएकाहरूको शव ल्याइदिन, क्षतिपूर्ति दिलाउन, युक्रेनी सेनाले बन्धक बनाएका र घाइते भई अस्पतालमा उपचाररतको उद्धारका लागि निवेदन दिएका छन्
कान्तिपुर टिम

काठमाडौँ — दोलखा शैलुङ गाउँपालिका–३ का मेषबहादुर श्रेष्ठको परिवारमा पछिल्लो एक महिनादेखि अत्यास र छटपटी मात्रै छ । यसको एकमात्र कारण हो, रुसी सेनामा भर्ती भएका उनी सम्पर्कविहीन छन् । मेषबहादुरको अवस्था कस्तो छ भन्ने स्पष्ट खबर कतैतिरबाट नपाउँदा परिवार छटपटीमा छ ।

युद्ध मैदानमा प्रियजन : अत्यासमा परिवार

काठमाडौंको इन्द्रचोक, महाबौद्धतिर फुटपाथमा कपडा बेच्ने उनी महानगरले फुटपाथ व्यवसायमा निरन्तर अवरोध गर्न थालेपछि वैकल्पिक आम्दानीको खोजीमा थिए । त्यसै क्रममा उनी मानव तस्करले धेरै कमाइ हुने भन्दै देखाएको प्रलोभनमा फसे । परिवारमा समेत नभनी रुस हिँडेका मेषबहादुर एक महिनादेखि पूरै सम्पर्कबाहिर छन् । उनका मामा कृष्णबहादुर श्रेष्ठले भान्जाले दलाललाई ७ लाख रुपैयाँ तिरेर रुस पुगेको बताउँदै भने, ‘एक महिनादेखि भान्जा सम्पर्कमा छैनन् । अवस्थाबारे यकिन नहुँदा परिवारमा छटपटी भएको छ ।’

मामा कृष्णका अनुसार उनले रुस जाने विषयमा परिवारमा थाहासमेत दिएका थिएनन् । ‘रुस जान लागेको भनेको भए जान दिँदैनथें,’ उनले भने, ‘त्यहाँ पुगेको केही महिनामै रुसी सेनाबाट भाग्न खोज्दा सेनाले नियन्त्रणमा लिएको हुन सक्ने अनुमान गरेका छौं ।’ भान्जाको खोजी गरी उनलाई स्वदेश झिकाउन सकिन्छ कि भनेर मामा कृष्णले परराष्ट्र मन्त्रालयको कन्सुलर विभागमा उजुरी दिएको पनि पाँच महिना बितिसक्यो । ‘रुसी सेनामा भर्ना भएको थाहा पाएलगत्तै फिर्ताको पहल गरिदिन सरकारलाई निवेदन दिएको थिएँ,’ उनले भने, ‘अहिले एक महिनादेखि परिवारको सम्पर्कमा छैनन्, अवस्थाबारे जानकारी मागिरहेका छौं ।’

परराष्ट्र मन्त्रालयको कन्सुलर विभागमा कृष्णजस्तै अत्यासलाग्दो प्रतीक्षामा बसेका २ सय ४४ भन्दा धेरैले रुसी सेनामा भर्ती भएका आफन्तको खोजी गरिदिन, मृत्यु भएकाको शव ल्याइदिन, क्षतिपूर्ति दिलाइदिन, युक्रेनी सेनाले बन्दक बनाएका र घाइते भई अस्पतालमा उपचाररतको उद्धारका लागि भन्दै निवेदन दिएका छन् । सरकारले करिब दुई सयको हाराहारीका नेपाली रुसी सेनामा भर्ती भएको बताएको छ । तर यकिन तथ्यांक भने छैन । सेनामा भर्ती भएका मध्ये हालसम्म १६ जनाभन्दा धेरैको मृत्यु भइसकेको छ भने ६ जना युक्रेनी सेनाको कब्जामा रहेका सूचना सार्वजनिक भएका छन् ।

युद्ध मैदानबाट भागेर ज्यान जोगाई नेपाल फर्केकाको कुरालाई आधार मान्दा रुसी सेनामा भर्ती हुनेको संख्या पाँच हजारभन्दा माथि रहेको अनुमान गर्न सकिन्छ । तिनीहरूका परिवारले धमाधम निवेदन दिइरहेका छन् । निवेदनहरूको चाङमा खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ की भीमकला आचार्य (अञ्जली) ले दिएको निवेदन पनि छ । किनकि कात्तिक २ गते रातिको कुराकानीपछि उनका श्रीमान् क्षितिज बस्नेत सम्पर्कमा छैनन् ।

चार वर्षयता दुबईमा सेक्युरिटी गार्डको काम गरिरहेका उनका श्रीमान् क्षितिज उतैबाट रुसी सेनामा भर्ती हुन पुगेका थिए । अत्यासलाग्दा दिनहरू बिताइरहेकी अञ्जली श्रीमान्को केही खबर पाउन अनेकतिर धाइरहेकी छिन् । तर नतिजा केही आइपरेको छैन । श्रीमान् सम्पर्कविहीन भएपछि उनले मंसिर २२ गते परराष्ट्र मन्त्रालयमा आफन्तमार्फत निवेदन दिइन् । तर त्यसपछि उनले कुनै सरकारी खबर पाएकी छैनन् । ‘सुरुमा मंसिर १०–११ गतेतिर श्रम मन्त्रालयमा फोन गरेकी थिएँ, त्यहाँ सम्बन्धित निकायमा बुझेर खबर गर्छु भन्यो,’ उनले भनिन्, ‘त्यसपछि कन्सुलर विभागमा फोन गर्दा परराष्ट्रमा निवेदन दिन भन्यो ।’ ८ वर्षका छोरा र ४ वर्षकी छोरी हुर्कार्उँदै श्रीमान्को खबर पर्खिरहेकी अञ्जलीलाई कति बेला उनको कहाँबाट के खबर आउँछ भन्ने चिन्ताले भित्रभित्रै खाइरहेको छ ।

दुबई जानुअघि झन्डै ६ वर्षअघि सशस्त्र प्रहरीमा भलिबल खेलाडीका रूपमा जागिर गरेका क्षितिज ठ्याक्कै कति रुकम खर्चेर रुस पुगे, उनलाई पत्तो छैन । कात्तिक २ गते राति झन्डै ९ बजेतिर उनले श्रीमान्सँग कुरा गरेकी थिइन् । ‘टेन्सन नलिनु, हामी सेफ छौं भन्नुभएको थियो, त्यसपछि सम्पर्कमा हुनुहुन्न,’ उनले भनिन्, ‘त्यसपछि रुसको रोस्तोभबाट अर्को ठाउँ ट्रेनिङ गर्न लगेको भन्ने सुनेको थिएँ, अहिले बन्धक हुनुहुन्छ या अप्रिय घटना भयो, केही थाहा छैन ।’

रुसी सेनामा भर्ती भएर सम्पर्कविहीन व्यक्तिको परिवारमा कतिसम्मको बेचैनी छ भनेर बुझ्न चितवनको रत्ननगर नगरपालिका–१२ सालघारी टोलमा लालपुर्जा नआइसकेको जमिनमा बनेको सम्झना तामाङको सानो घरमा पुग्दा थाहा हुन्छ । साँघुरो कोठामा बस्दा होस् या बाहिर डुल्दा ३३ वर्षीय सम्झनाको हिजोआज कुनै पनि हातबाट मोबाइल छुट्दैन । गाउँमा सामान्य ठेक्कापट्टाको काम गरेर परिवार पाल्न नसकिने निष्कर्षमा पुगेका विशाल विकल्पको खोजीमा थिए ।

रुसी सेनामा भर्ती भएका नेपाली युवाहरूले राख्ने अनेक थरी भिडियो हेर्दाहेर्दै विशालको मनमा रुसी सेनामा भर्ती हुन सके मनग्गे पैसा कमाउन सकिन्छ भन्ने लाग्न थालेको थियो । सम्झनाले भनिन्, ‘टिकटक धेरै हेर्नुहुन्थ्यो । रुसी सेनामा जाने गरेको विषय त्यसमा हुँदोरहेछ । मसँग त रुस जान्छु भन्दै भन्नुभएन । त्यहाँ जाने हो भनेको भए त पठाउने पनि थिइनँ,’ सम्झनाले भनिन् । ६ लाख रुपैयाँ दलाललाई बुझाएर विशाल असोज ३० मा काठमाडौंबाट रुसका लागि उडेका थिए । सम्झनाका अनुसार हिउँमा हिँड्दा खुट्टाका दुइटा औंला हिउँले खाएर घाइते भएका श्रीमान् अहिले अस्पतालमा उपचाररत छन् ।

सम्झनाको भन्दा फरक कथा छैन, रत्ननगर नगरपालिका–१३ बुढीकुलो टोलमा २७ वर्षदेखि बस्दै आएका भीमबहादुर वाइबाको पनि । ५४ वर्षीय भीमबहादुर र ५६ वर्षकी सञ्चमाया बुढेसकालमा छोराको सम्झनाले अत्तालिएका छन् । किनकि दुई वर्षदेखि कतारमा गाडी चलाउने काम गरिरहेका उनीहरूका छोरा वीरबहादुर मंसिरतिर क्रोएसिया जान्छु भन्दै रुस पुगेर सेनामा भर्ती भए । कहिले सम्पर्कमा आउने त कहिले लामो समयसम्म हराउने छोराका कारण उनीहरू चिन्तित त छन् नै, युद्धस्थलमा उसको ज्यानलाई तलमाथि होला कि भन्ने चिन्ताले उनीहरूलाई गालिरहेको छ । मंसिर २६ गते कतारबाट रुसका लागि उडेका वीरबहादुरले त्यसको करिब १५ दिनपछि सामाजिक सञ्जाल फेसबुकमा रुसी सैनिकको पोसाक लगाएको तस्बिर राखेका थिए । त्यसपछि बल्ल परिवारले उनी क्रोएसिया भनेर रुस पुगेको थाहा पाएका थिए । यो थाहा पाएपछि वीरकी श्रीमती निर्मलाले सेनाको कुनै अनुभव नभएको मान्छे किन त्यहाँ पुगेको भनेर झपारिन् पनि । किनकि क्रोएसिया जान १० लाख रुपैयाँ लाग्ने भन्दै वीरले पाँच लाख आफूसँग भएको बताएर घरबाट थप पाँच लाख मगाएका थिए ।

यतिबेला सिंगो परिवारमा वीरबहादुरको चिन्ता छ । भर्ती भएको केही समयपछि एक महिनासम्म सम्पर्कबाहिर रहेपछि भीमबहादुर छोराको यादले आत्तिए । उनले कन्सुलर विभागमा छोराको खोजी गरेर उद्धार गरिदिन भन्दै निवेदन पनि दिए । त्यसको केही दिनपछि वीरबहादुर सम्पर्कमा त आए तर परिवारको अत्यास अझै हटेको छैन । ‘अहिले युक्रेनमा रुसले कब्जा गरेको घरमा छौं भन्छन् । तर त्यहाँ कति बेला के हुन्छ, ठेगानै छैन,’ निर्मलाले भनिन्, ‘फोन आएन भने मन आत्तिएर हैरान हुन्छ । कुरा सधैं हुन्छ तर छटपटी घट्दैन ।’

सुर्खेतको गुर्भाकोट नगरपालिका–९ बोटेचौरका वीरेन्द्र केसीको परिवारको अत्यास पनि अरू परिवारको जस्तै छ । रोमानिया जाने भन्दै काठमाडौं आएका वीरेन्द्रका छोरा प्रकाश गत कात्तिकमा दलालको प्रलोभनमा परेर रुस पुगे । भर्ती भएपछि ४/५ दिनको अन्तरालमा मात्रै परिवारको सम्पर्कमा आउने प्रकाश बीचमा २२ दिनसम्म सम्पर्कबाहिर भए । परिवारका सदस्यहरूले अत्तालिँदै कन्सुलर विभागमा उद्धारका लागि निवेदन दिए । हिजोआज उनी परिवारको सम्पर्कमा त छन् । तर, उनलाई केही भइहाल्छ कि भन्ने चिन्ता र कहिले नेपाल फर्किन्छ भन्ने पीरले परिवारका सदस्य आत्तिएकै छन् ।

आरुघाट गाउँपालिका–१० खत्रीस्वाराका ३७ वर्षीय ईश्वर लामिछाने अहिले युक्रेनी सेनाको कब्जामा छन् । १८ वर्ष नेपाली सेनामा कार्यरत ईश्वर राजीनामा दिएर साउन १० मा ‘भिजिट भिसा’ मा रुस पुगेका थिए । सुरुका दुई महिना सम्पर्कमा रहे पनि त्यसयताका ५ महिना सम्पर्कविहीन छन् । बहिनी नाता पर्ने सुमित्राले भनिन्, ‘फागुन १२ गते एउटा टीभीमा युक्रेनी पत्रकारले लिएको अन्तर्वार्तासहितको दाइको भिडियो देखियो, उहाँले नाम र ठेगाना खुलाउनुभएन, आफ्नो मान्छे चिनिहाल्यौं ।’ युक्रेनी सेनाको कब्जामा रहेको खबरपछि परिवारका सदस्यले उनको उद्धारमा निरन्तर पहल गरिरहेका छन् ।

रुसी सेनामा भर्ती भएर सम्पर्कविहीनको जस्तै पीडा छ, सम्पर्कमा रहेका तर घाइते भएर अस्पतालमा उपचार गराइरहेका परिवारका सदस्यहरूको पनि । काभ्रेको चौंरीदेउराली गाउँपालिका–६ ज्यामिरेका बर्देवा परिवारमा यस्तै चिन्ता छ । रुसी सेनामा भर्ती भई युद्धमा खटिएका यहाँका प्रबिन बर्देवा अहिले रुसमा उपचाररत छन् । प्रबिनकी श्रीमती प्रनिलाले भारत बस्ने एजेन्टलाई ९ लाख बुझाएर भदौ ३० मा श्रीमान् रुस उडेको बताइन् । प्रबिनका दाजु निर्मलले दाहिने मिर्गौलाको तल्लो भागमा गोली लागेको र घटनापछि भाइको मिर्गौला, पिसाब थैली र पिसाब नलीको शल्यक्रिया गरिएको बताए ।

निर्मलले भाइलाई रुसी सेनामा पठाउने एजेन्टबारे धेरै थाहा नभएको बताए । उनले भने, ‘त्यहाँ पुगेपछि सम्पर्कमै थियो, सेनामा भर्ती भएको खबर पाए पनि त्यति ठूलो युद्धमा गएको होला भन्ने कल्पना पनि थिएन ।’ कात्तिक २२ मा प्रबिनले युक्रेनसँगको युद्धमा नाइट फाइरिङमा जाँदैछु भनेर परिवारलाई बताएपछि सुरु भएको बर्देवा परिवारको अत्यास अहिलेसम्म सकिएको छैन । दाइ निर्मलले सुनाए, ‘यस्तो भनेको ५ दिनपछि भाइले अर्कै नम्बरबाट फोन गरेर आफूलाई गोली लागेर अस्पतालमा भर्ना भएको बतायो ।’ प्रबिनलाई नेपाल फर्काउन बर्देवा परिवार दुई महिनादेखि परराष्ट्रमन्त्री, कन्सुलर विभागलगायत विभिन्न ठाउँमा धाइरहेको छ । तर उनीहरूले कुनै आसलाग्दो खबर पाइसकेका छैनन् । ‘सरकारबाट अब आशा नै मरिसक्यो,’ निर्मलले भने, ‘कानुनी प्रक्रिया पूरा गर्न निकै गाह्रो रहेछ, अब व्यक्तिगत रूपमै भाइलाई नेपाल फर्काउन पहल गर्ने तयारीमा लागेका छौं ।’

काभ्रेको ज्यामिरेकै जस्तै कथा छ, अछामको बान्नीगढी जयगढ गाउँपालिका–६ दर्ना काँडाकोटका २९ वर्षीया हिक्मत धामी परिवारको पनि । सशस्त्र प्रहरीको जागिर छोडेर दुबईमा सेक्युरिटीको काम गरिरहेका हिक्मत मासिक २ लाख ५० हजार रुबल कमाइको आसमा ५ लाख रुपैयाँ खर्चेर दुबईबाट रुस पुगेका थिए । हिम्मतकी श्रीमती अमृताले भदौमा रुस पुगेका श्रीमान् बीचमा एक महिना सम्पर्कविहीन भएपछि आफूहरू झनै आत्तिएको बताइन् । उनले मंसिर १० मा रुसी सेनामा भर्ती भएका कैलालीका भरत शाहको मृत्युको खबर आएकै दिन आफ्नो श्रीमान् गोली लागेर घाइते भएको बताइन् । बायाँ खुट्टाको घुँडामुनि गोली लागेका हिक्मतको अहिले अस्पतालमा उपचार भइरहेको छ । तर उनको परिवार भने हिक्मतलाई केही नहोस् भनेर देवीदेवता भाकेर बसिरहेका छन् । ‘सम्पर्कविहीन भएपछि कन्सुलर कार्यालयमा निवेदन दियौं । कहीँकतैबाट सहयोग नमिलेपछि देवीदेवता पुकार्ने, धामीझाँक्रीमा हेराउने गर्न थाल्यौं’ अमृताले सुनाइन् ।

डम्बरसिं राई (खोटाङ), ज्योति श्रेष्ठ (काभ्रे), केदार शिवाकोटी (दोलखा), रमेशकुमार पौडेल (चितवन), हरिराम उप्रेती (गोरखा), तृप्ति शाही (वीरेन्द्रनगर) र मेनुका ढुंगाना (अछाम)

प्रकाशित : फाल्गुन १९, २०८० ०६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×