कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

कांग्रेस महासमिति बैठक : समूहगत छलफलको निष्कर्ष सुनाउँदै प्रदेश सभापति

काठमाडौँ — नेपाली कांग्रेसको महासमिति बैठकमा समूहगत छलफल सकिएको छ । अहिले समूहगत छलफलमा उठेका विषय र सुझावहरुलाई समेटेर प्रदेश सभापतिहरुले निष्कर्षसहितको आफ्नो धारणा प्रस्तुत गरिरहेका छन् ।

कांग्रेस महासमिति बैठक : समूहगत छलफलको निष्कर्ष सुनाउँदै प्रदेश सभापति

ललितपुरको गोदावरीमा सोमबारदेखि सुरु भएको महासमिति बैठकको चौँथो दिन बन्द सत्रमा महासमिति बैठकमा उठेका सुझावहरुलाई केन्द्रीय पदाधिकारीहरुसहितको संयुक्त बैठकमा प्रस्तुत गर्नेक्रम रहेको छ । यसपछि पदाधिकारीहरुले सम्बोधन गर्ने र आजै बैठक समापन गर्ने कार्यसूची छ ।

मंगलबार उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका उपसभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेको सांगठनिक प्रस्ताव, महामन्त्री विश्‍वप्रकाश शर्माले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्ताव, अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक श्याम घिमिरेले प्रस्तुत गरेको लेखा परीक्षण प्रतिवेदनमाथि बुधबार र बिहीबार दिनभरि महासमिति सदस्यहरुले धारणा राखेका थिए ।

हरेक सदस्यलाई ५ मिनेटको समय दिइएको थियो । महासमिति सदस्यहरुले गठबन्धनको विषय, सामाजिक तथा आर्थिक मुद्दाहरु, शिक्षा, स्वास्थ्य र रोजगारीलगायतका विषयमा कांग्रेसले विशेष पहल गर्नुपर्ने सुझावहरु राखेका छन्। चार वटा हलमा प्रदेशगतरुपमा समूह विभाजन गरेर गरिएको छलफलमा महासमिति सदस्यहरुले पार्टीको भविष्यलाई लिएर चिन्ता व्यक्त गरेका छन् ।

महासमिति सदस्य सुशील भट्टले बैठकमा अधिकांश महासमिति सदस्यहरुले पार्टीको भविष्यलाई लिएर चिन्ता व्यक्त गरेको बताए । 'सबैको धारणा विशेषगरी गठबन्धन र यसबाट परेको असरमा केन्द्रीत भयो,' उनले भने, 'यसमा विभाजित धारणा आएको छ ।'

उनले युवा पुस्ताले पार्टीले गठबन्धन गरेर चुनावमा जाँदा कार्यकर्तामा निराशा छाएको निष्कर्ष दिएको दाबी गरे । तर बैठकमा बोल्ने अधिकांश जिल्ला सभापतिहरुले भने गठबन्धन रणनीतिक विषय भएकाले महासमिति बैठकबाट निर्णय गरेर जानु ठीक नहुने धारणा राखेका छन् ।

प्रकाशित : फाल्गुन १०, २०८० १५:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?