२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

खगेन्द्र नवजीवन केन्द्रमा बेथिति

नेतृत्वको मनोमानीले अपांगता भएका व्यक्तिहरूलाई सेवा दिँदै आएको नाममा विकृति, बेथिति मौलाएको भन्दै आश्रय लिँदै आएकाहरूमा असन्तुष्टि
विद्या राई

काठमाडौँ — जंगलमा गाईवस्तु चराउन गएका दिनेश खत्री क्षेत्रीको भिरबाट खसेर मेरुदण्ड भाँचियो । गाउँमा ह्विलचेयरमैत्री विद्यालय नभएकाले पढाइलाई निरन्तरता दिन उनी ०७० सालमा गुल्मीको मालिका गाउँपालिका घरबाट काठमाडौं आए ।

खगेन्द्र नवजीवन केन्द्रमा बेथिति

जोरपाटीस्थित नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा पूर्ण आवासीय पुनःस्थापना सेवा (होस्टेल) लिएर पढ्न थाले । खाने, बस्ने सुविधा लिएबापत उनले होस्टेल शुल्क मासिक ६ हजार रुपैयाँ तिर्दै आएका छन् । हाल सोही होस्टेलमा बसेर प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा स्नातक चौथो वर्ष अध्ययन गर्दैछन् ।

१० वर्षदेखि खगेन्द्र नवजीवन केन्द्रको उक्त होस्टेलमा बस्दै आएका उनले पछिल्ला वर्षहरूमा असहजता महसुस गर्न थालेको सुनाए । ‘मैले महिनाको ६ हजारको दरले वर्षमा ७२ हजार तिर्छु, तर खानेकुरा बासी खुवाउने, कुहेको सडेगलेको स्याउ केरा खुवाउने, पेट गडबड हुने, बिरामी भएपछि तुरुन्तै अस्पताल नलगिदिने हुन थाल्यो,’ उनले गुनासो गरे, ‘हुँदाहुँदा हामीले तिर्ने शुल्क नेपाल अपांग संघको खातामा नभएर व्यक्तिको नाममा जम्मा गर्न दबाब दिन थाले, नहालेको भनेर, यहाँको बेथितिबारे बोलेको भनेर अध्यक्षले निकालिदिने धाकधम्की दिन थालेका छन् ।’ साम्देन लामा केन्द्रमा अध्यक्ष छन् ।

खगेन्द्र नवजीवन केन्द्र अपांगता भएका व्यक्तिहरूलाई आत्मनिर्भर, आर्थिक तथा सामाजिक सशक्तिकरण सुनिश्चित गर्ने उद्देश्यले ५४ वर्षअघि स्थापना भएको थियो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अनुदान तथा सामाजिक संघसंस्था, दाताहरूको सहयोगमा सञ्चालन हुँदै आएको छ । मन्त्रालयको वार्षिक १ करोड अनुदानमा ५३ जनालाई नि:शुल्क आश्रय दिइएको छ । अन्य २३ जनाले शुल्क तिरेर आश्रय लिँदै आएका छन् । तर, केन्द्रका नेतृत्वको मनोमानीले अपांगता भएका व्यक्तिहरूलाई सेवा दिँदै आएको नाममा विकृति, बेथिति मौलाएको भन्दै दिनेशजस्तै आश्रय लिँदै आएकाहरूमा असन्तुष्टि बढेको छ ।

पहुँचको भरमा बिनाप्रतिस्पर्धा एकै व्यक्तिले १७ वर्षदेखि केन्द्रको हाताभित्र क्यान्टिन सञ्चालन गर्दै आएको, केन्द्रका आवासीय लाभग्राहीका लागि खरिद गरेको ताजा तरकारी, दूध क्यान्टिनलाई नि:शुल्क दिइने गरेको, केन्द्रको मेसमा बासी, सडेगलेका खाना, तरकारी खुवाउने गरेको विषयलाई लिएर करिब ६ महिनायता विवाद हुँदै आएको छ । केन्द्रका अध्यक्ष लामाको 'साँठगाँठ'मा क्यान्टिन सञ्चालकले होस्टेलको भवनसमेत ओगटेको र क्यान्टिनलाई सेवामुखी नभई व्यावसायिक बनाइएको संघर्षरत पक्षका विदुर थापाले बताए । उनले उक्त होस्टेलमा ०३५ देखि ०३७ सालसम्म आश्रय लिएका थिए । उक्त क्यान्टिन सुरुमा आवासीय सेवा लिँदै आएका १३ अपांगता भएका व्यक्ति र कर्मचारीहरूलाई खाना खुवाउने गरी स्थापना भएको थियो । केहीको भने मृत्यु भइसकेको छ ।

बाँकीले क्यान्टिन सञ्चालकले मैत्रीपूर्ण व्यवहार नगरेको, सन्तुलित, सफा खाना नखुवाएको भनेर होस्टेलकै मेसमा खाना खान थाले । यसपछि व्यावसायिक उद्देश्यले केन्द्रको हाताभित्र सञ्चालनमा रहेको क्यान्टिनको औचित्य नरहेको भन्दै होस्टेलमा बस्दै आश्रय लिँदै आएका अपांगता भएका व्यक्तिहरूले विरोध गर्दै आएका छन् । ‘हामीले वडा कार्यालय, प्रहरी, काठमाडौं जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय सतर्कता केन्द्रलगायत विभिन्न निकायहरूमा यो कुरा राख्यौं, तर सुनुवाइ भइरहेको छैन, विकृति विसंगति बढेका बढ्यै छन्,’ थापाले भने । ‘हाम्रो नामको बिलमा २० केजी तरकारी ल्याए भने सात-आठ किलो ताजाचाहिँ क्यान्टिनमा लाने, बाँकी ओइलेको, कुहिएको हाम्रोमा राख्ने, हाम्रो नाममा १० पोका दूध ल्याउने, क्यान्टिन २ पोका राख्ने यता ८ पोका मात्रै ल्याउने, अनि बिल बढाएर राख्ने, असाध्यै दुरुपयोग छ,’ दिनेशले भने ।

अपांगता भएका व्यक्तिहरूले निवेदन दिएर सामुदायिक हलमा कार्यक्रम गर्न माग्दा दिन आनाकानी गर्ने तर बाहिरका मानिसहरूलाई दैनिक कुङ्फु, कराते खेल्न दिने गरेको, उपचार गर्न अस्पताल लगिएकाहरूको उपचार शुल्क समयमा नतिरिदिएर दु:ख दिएकोमा पनि उनीहरूको असन्तुष्टि छ ।

हालसालै अध्यक्ष लामाले कमिसनको लोभमा दुई जना मानसिक अपांगता भएका व्यक्तिलाई राखेको आरोप लागेको छ । आश्रयमा राखिएकाहरूको परिवार पक्षले ३० लाख रुपैयाँ जम्मा गरिदिएको र उनीहरूलाई केन्द्रमा राख्न सहजीकरण गरेबापत लामाले १० लाख रुपैयाँ कमिसन खाएको संघर्षरत पक्षले बताए । ‘यस्ता अनियमिततामा बोलेको भन्दै छानीछानी १४ जनालाई पनि आउने सालभित्रमा हटाउने डर देखाएका छन्, बरु मिलेमतोमा लाखौंलाख तिर्न सक्ने खोजेर राख्ने, आवाज उठाउनेलाई हटाउने भनेका छन्,’ संघर्षरत पक्षले भने । बेथितिविरुद्ध विवाद हुँदै गर्दा मंसिर ४ गते झडपसमेत भएको थियो ।

झडपमा स्पाइनल कर्ड इन्ज्युरी भएकी गायत्री दाहालमाथि लछारपछार भएको थियो । उनको विद्युतीय ह्वेलचेयरमा समेत क्षति पुगेको छ । अधिकारकर्मी दाहालले केन्द्रमा सुशासन, न्याय र समानता हुनुपर्ने माग गर्दै आएकी छन् । सोही दिनदेखि प्रशासकिय कक्ष, क्यान्टिनमा पुनः तालाबन्दी भएको छ । यो क्रम कात्तिक १४ देखि चलिरहेको थियो । अध्यक्ष लामाका अनुसार छ दिन अघि तालाबन्दी खोलिएको छ । 'अनियमितता भएको आरोप लागेकोमा छलफल गर्न उपकोषाध्यक्ष सुरज श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन भएको छ, हाम्रै केन्द्रिय कार्यसमितिबाट गठन भएको हो, ताला खोलेर कार्यालय परिषर सफाइ गरेका छौं, अब नियमित काम सुचारु हुन्छ, समस्याहरु सुल्झिदै जानेछन्,' उनले भने ।

लामाले आफूले नेतृत्व सम्हालेको एक वर्ष मात्रै भएकाले यथार्थ बुझ्ने र व्यवस्थापन पक्षमा सुधार गर्न लागिरहेको बताए । ‘खाना पकाउने ठाउँ राम्रो भएन भन्ने आएपछि अर्को बन्दैछ, बोरिङको पानी फोहोर आयो भनेकोले त्यसको समाधान खोज्दैछु, क्यान्टिन मेरो कार्यकाल अगाडीदेखि नै सम्झौता गरेर सञ्चालनमा रहेकोले केकसो हो बुझ्दैछु,’ उनले भने । कमिसनका लागि आफूले दुईजना मानसिक अपांगता भएका व्यक्ति राखेको विषय सत्य नरहेको उनको दाबी छ । ‘मैले उहाँहरूलाई नराख्ने पक्षमा थिए, उहाँहरूको आफन्तले घरमा हेरचाह गरिदिने कोही भएन राखिदिनुपर्‍यो भनेर आग्रह गरेपछि सम्झौता गरेर ३० लाख नेपाल अपांग संघको नाममा छोड्नुभएको हो, बाँकी १० लाखको विषय मलाई थाहा छैन,’ उनले बताए, 'जहाँसम्म मलाई अक्षयकोषमा जम्मा गरेको पैसा खोई भन्ने छ, हाम्रोमा अक्षयकोष नै छैन, कसरी भ्रष्ट्राचार हुन्छ ?, महिला मन्त्रालयले खानाका परिकार बार अनुसार, घुमघामको रुटिन बनाइदिएको छ, त्यसमा भ्रष्ट्राचार हुने कुरै भएन ।'

खगेन्द्र नवजीवन केन्द्रमा अपांगता भएका व्यक्तिहरूलाई भइरहेको दुर्व्यवहार, बेथिति र अनियमितताविरुद्ध राष्ट्रिय महिला आयोगमा उजुरी परेको थियो । आयोगकी सदस्य एवं प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडालगायतले मंसिर ५ मा स्थलगत अनुगमन गरेका छन् । ‘एकैघरका मानसिक अपांगता भएकालाई राख्न पैसा असुलेका रहेछन्, आश्रय लिएर बसेकालाई बाख्रालाई खोरमा थुनेर राखेजस्तो राखिएको रहेछ, त्यहाँ बेथितिको धेरै ठूलो जालो छ,’ खतिवडाले भनिन्, ‘हाम्रो अनुगमनले पाएका कुराहरू समेटेर प्रतिवेदन तयार हुँदैछ, प्रतिवेदनसहित आवश्यक कारबाहीका लागि महिला मन्त्रालय र गृह मन्त्रालयमा सिफारिस गर्छौं ।’

अध्यक्ष लामाले गम्भीर प्रकृतिका मानसिक अपांगता भएकालाई बाँधेर राख्ने गरेको पहिल्यैदेखिको चलनलाई आफूले सुधार्नेतर्फ उन्मुख रहेको बताए । गैरसरकारी संस्थाका रूपमा सञ्चालनरत केन्द्रको ०२६ सालमा शारिरीक अपांगता भएका खगेन्द्रबहादुर बस्नेतले स्थापना गरेका थिए । केन्द्रको ६० रोपनी हाराहारी क्षेत्रफलको आफ्नै जग्गा छ ।

प्रकाशित : पुस ११, २०८० २१:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?