२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

‘फिड द फ्युचर नेपाल कार्यक्रम’ लाई अमेरिकाको ३ अर्ब २५ लाख रुपैयाँ

काठमाडौँ — करिब सवा तीन अर्ब रुपैयाँसम्मको कोष उपलब्ध हुने सो कार्यक्रमले कृषि सामग्रीसम्मको पहुँचलाई व्यवस्थित बनाउन र नेपालको समग्र कृषि विकासमा योगदान पुर्‍याउन काम गर्ने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

‘फिड द फ्युचर नेपाल कार्यक्रम’ लाई अमेरिकाको ३ अर्ब २५ लाख रुपैयाँ

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, वाग्मती र मधेश प्रदेशका गरी १६ जिल्लामा सञ्चालन हुने उक्त पञ्चवर्षीय कार्यक्रम चार अत्यावश्यक कृषि सामग्रीहरू बीउ, मल, सिँचाइ र कृषि यान्त्रिकीकरणमा केन्द्रित हुने उल्लेख छ ।

‘आर्थिक वृद्धि र समृद्धिको पथमा यूएसएआईडी लामो समयदेखिको साझेदार हो र वैश्विक खाद्य सुरक्षा रणनीति अन्तर्गतको ‘फिड द फ्युचर’ पहलमा नेपाल प्राथमिकताप्राप्त मुलुक रहेको छ,’ यूएसएआईडी एसिया ब्यूरो सहायक प्रशासक माइकल शिफरले भने,‘आज यस अवसरको शुभारम्भ गर्न पाउँदा म उत्साहित छु किनकि यसको लक्ष्य उत्पादकत्व वृद्धि गर्नु मात्र होइन, यो त साना किसानलाई सबल बनाउन, गरिबी घटाउन र ग्रामीण आय बढाउनका लागि हो,’ उनले थपे,‘नेपाली जनतालाई लाभ पुर्‍याउने समावेशी विकास मोडेलको सिर्जना गर्नका लागि हो । साथै, रोजगारी सिर्जना गर्न, आर्थिक विकासलाई उत्प्रेरित गर्न र स्थानीय समुदायहरूका जीवनमा सार्थक परिवर्तन ल्याउनका लागि हो ।’

यस कार्यक्रमले आधुनिक कृषि सामग्री तथा प्रविधिमा पहुँच अभिवृद्धि गराई दुई लाखभन्दा बढी कृषक र उनीहरूका परिवारलाई लाभान्वित गर्ने अपेक्षा राखिएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘यसले उत्पादकत्व र आय वृद्धि गरी नेपालमा गरिबी न्यूनीकरण र खाद्य सुरक्षामा सुधार गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित : मंसिर १५, २०८० १९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?