२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतिवादीका कानुन व्यवसायीलाई प्रतिरक्षा गर्न मुस्किल

देवेन्द्र भट्टराई

ललितपुर — नक्कली भुटानी शरणार्थी बनाउन गिरोह सञ्चालन गर्नेमध्येका नाइके ललितपुरका सानु भण्डारीको पक्षमा बहस पैरवी गरिरहेका थिए, वरिष्ठ अधिवक्ता शरद कोइराला । यो गम्भीर अभियोग र मुद्दाका कारण झन्डै ७ महिनायता थुनामा रहेका प्रतिवादी भण्डारीलाई थुनामुक्त गराउन कानुनका दफा–उपदफा र देशी–विदेशी नजिर सुनाइरहेका अधिवक्ता कोइरालालाई बीचैमा रोकेर इजलासमा बसिरहेका न्यायाधीश प्रकाश खरेलले सरोकार राखे, ‘यहाँ सिद्धान्तका कुरा धेरै आइसके, अब ठोस कुरा मात्रै राखौं ।’

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतिवादीका कानुन व्यवसायीलाई प्रतिरक्षा गर्न मुस्किल

मंगलबारको इजलासमा पनि अधिवक्ता रमण श्रेष्ठले पूर्वगृह सचिव टेकनारायण पाण्डेका पक्षमा बहस गर्दा कानुनी अभ्यासलाई सम्झाउँदै देश–विदेशका नजिरलाई व्याख्यासहित राखेका थिए । ‘लगाइएको अभियोगमा थुनामा राख्नुपर्ने ठोस आधार र प्रमाण नभईकन सरकारको विशिष्ट तहको कर्मचारीलाई थुनामा राखिएको छ, थुनछेकको जिल्ला अदालतको आदेश त्रुटिपूर्ण छ’ भनेर इजलासमा बहस गरिरहेका पूर्वन्यायाधिवक्तासमेत रहेका श्रेष्ठले उदाहरणमा भने, ‘थुनामा राख्ने कुनै आधार नदेखिएरै क्रिकेटर सन्दीप लामिछाने थुनाबाहिर रहेका हुन्, यो एउटा ताजा नजिर हो ।’

जिल्ला अदालतबाट गत असार १ मा भएको थुनछेकको आदेशलाई त्रुटिपूर्ण भनेर उच्च अदालत आएका नक्कली शरणार्थी गिरोहका प्रतिवादीको सुनुवाइ मंगलबारबाट सुरु भए पनि बुधबार अपराह्न ८ जनाको मात्रै सुनुवाइ सकिएको छ । थुनामा रहेका सहित २२ प्रतिवादीको मुद्दामा चाँडो निर्क्योल दिन न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासले सुनुवाइलाई निरन्तर राखेको छ । बुधबार गिरोहमा राज्य संयन्त्रभित्र रहेर योजना बनाउने तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईका पक्षमा वरिष्ठ अधिवक्ता प्रकाश केसी र दिलकुमारी राईले बहस गरेका थिए । यस्तै, अधिवक्ता प्रकाश महर्जन, रञ्जितभक्त प्रधानांग, रमण श्रेष्ठ पनि नक्कली शरणार्थी गिरोह प्रतिवादीका पक्षधर भएर बहसमा आएका थिए ।

सम्बन्धित समाचार

गिरोहका सुरुवाती योजनाकार भण्डारीका पक्षमा बहस गर्दै अधिवक्ता कोइरालाले ‘भण्डारीका घरबाट बरामद डायरी र त्यसको हिसाबकिताब बनिबनाउ रहेको, उक्त डायरी भण्डारीको नरहेको र मनोगत आधारका प्रमाण मात्रै अभियोजन क्रममा जोडिएको’ बताएका थिए । भण्डारीले मोरङका रोशन खरेल, कास्कीका प्रेमराज पन्थी र भेषराज पोखरेलसँग गरेको एक करोड रुपैयाँभन्दा बढीको आर्थिक लेनदेन नक्कली भुटानी बनाउने प्रकरणमा नभई अन्य कारोबार रहेको जिकिर सुनाएका थिए । जबकि खरेल स्वयंले आफूसहित आफ्ना चिनारु १४ जनालाई अमेरिका पठाउने भनेर भण्डारी, केशव दुलालसहितले दिएको आश्वासनमा १ करोड ४२ लाख रुपैयाँ उनीहरूलाई बुझाएको बयान प्रहरीमा दिइसकेका छन् ।

गिरोहमा संलग्न सबैजसो अहिले प्रतिवादीका रूपमा उच्च अदालतमा मुद्दामा जोडिए पनि भण्डारीले आफूले इन्द्रजित राई, उनका छोरा नीरज, तत्कालीन गृह सचिव प्रेमकुमार राई, सन्दीप रायमाझी (टोपबहादुर रायमाझीका छोरा) सहितलाई दिएको रकमको विस्तृत सूचीसमेत प्रहरी बयानमा दिइसकेका छन् । ‘२०७६ भदौ १० गते इन्द्रजित राईले भनेअनुसार गृह सचिव (प्रेमकुमार राई) को गाडीमा १ करोड रुपैयाँ राखिदिएको छु, मलाई राईको कार्यकक्षमा बोलाइ अब काम हुन्छ, तपाईं जानु भनेका थिए,’ भण्डारीले बयानमा भनेका थिए । तर, यसरी दिइएको रकमको बयान र विस्तृतबारेमा भण्डारी पक्षधर कानुन व्यवसायीले ‘मनोगत आधारको अभियोजन’ भन्दै पन्छाउने काम गरे ।

भण्डारीमाथि पोखराका भेषराज शर्मा लम्सालले दिएको जाहेरीका बारे पनि पक्षधर कानुनकर्मीले स्पष्ट पारेनन् । ‘म जाहेरवालाले समाज सेवा तथा निर्माण व्यवसायसम्बन्धी कामकाज गर्दै आएकामा काठमाडौंमा सानु भण्डारी, केशव दुलालसहितलाई भेटेर अमेरिका लैजाने कार्यक्रमबारे जानकारी पाएको थिएँ । सरकार–सरकार (जी टु जी) योजनामा नेपालबाट २ हजार मानिसलाई सिधै पीआर दिएर अमेरिका लगिने र यसका लागि जनही २० लाख रुपैयाँ शुल्क लाग्ने भएको भन्दै मबाट १ करोड ५० लाख रुपैयाँ रकम (चेकमार्फत) लिइएको थियो ।

अर्को पटक पनि सानु भण्डारीकै नाममा विभिन्न बैंकबाट ३ करोड ३९ लाख ४७ हजार रुपैयाँको चेक काटेर बुझाएको थिएँ,’ लम्सालले जाहेरी दिएका थिए । तर, बुधबारको बहसमा भण्डारीले चेकमार्फत (सप्रमाण) लिएका रकमका बारेमा बुँदागत स्पष्टीकरण आउनै सकेन । यो गिरोहका बारे जाहेरी दिने दाङका गजेन्द्र बुढाथोकीबारे पनि इजलासमा अधिकांश कानुन व्यवसायीले प्रश्न उठाए । बुढाथोकी अमेरिकी नागरिक रहेको र उनी स्वयं दाङमा ठगी उजुरीमा पक्राउ परेर अहिले सम्पर्कहीन रहेको आरोप लगाइएको थियो ।

अर्का प्रतिवादी राईका पक्षमा बहस गर्ने कानुन व्यवसायी दिलकुमारी राई र प्रकाश केसीले पनि ‘राई स्वनामधन्य प्राध्यापक र सुरक्षा मामला सल्लाहकार भएकाले शरणार्थी मामलामा कुनै प्रकारको योजना, सुझाव वा रणनीति तय गर्न नसक्ने’ भन्दै उनको उमेर तथा सुगर, प्रेसरसहितका रोगको हवाला दिएर बहसको पक्षपोषण गरेका थिए ।

‘राईका छोरा गौरव २३ वर्षयता नेपाली सेनामा कर्णेलका रूपमा कार्यरत रहेको र सेवाकालमा तीन पटक यूएन मिसनमा गएकाले त्यहाँबाट प्राप्त पारिश्रमिक तथा गृहमन्त्रीको सुरक्षाविज्ञका रूपमा विशिष्ट श्रेणीसरह पाउने तलब भत्ताबाट सबै जायजेथा जोडिएको हो’ भन्दै राई पक्षधर कानुन व्यवसायीले एउटा ‘हाई प्रोफाइल’ व्यक्तिको छविलाई नामेट पार्ने प्रयास भएको तर्क सुनाए । तर, तत्कालीन गृह मन्त्रालयभित्रका योजनाकार राई र उनका छोरा नीरजलाई विभिन्न चरणमा सानु भण्डारीले बुझाएको मोटो रकमबारे भण्डारीले डायरीमा लेखेको प्रमाण र अक्षरको सनाखतसमेत मिसिलमा राखिएको छ ।

न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको इजलासमा निरन्तर सुनुवाइमा रहेको यो मुद्दामा बिहीबार सन्देश शर्मा, शमशेर मियाँ, गोविन्द चौधरी, आशिष बुढाथोकी, टंक गुरुङसहितका प्रतिवादीका तर्फबाट कानुन व्यवसायीको बहस अघि बढ्नेछ ।

प्रकाशित : मंसिर ७, २०८० ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?